शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • भारतले यसरी नेपालको भूभाग खाएको समाचारले स्तब्ध भएको बताउँदै डा. केसी ले तोडे अनशन

भारतले यसरी नेपालको भूभाग खाएको समाचारले स्तब्ध भएको बताउँदै डा. केसी ले तोडे अनशन

  • बुधबार, कार्तिक २७, २०७६
भारतले यसरी नेपालको भूभाग खाएको समाचारले स्तब्ध भएको बताउँदै डा. केसी ले तोडे अनशन

डाक्टर गोविन्द केसीले आफ्नो अनशन स्थगित गर्नु भएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै गएको कात्तिक १७ गतेदेखि डडेलधुरामा अनशन बस्नु भएका डाक्टर केसीले मंगलबार अनशन स्थगित गर्नु भएको हो । भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभागसमेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको बताउँदै उहाँले अनशन स्थगित गर्नु भएको हो ।

राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा सबैको संवेदनालाई हृदयंगम गर्दै जारी सत्याग्रह तत्कालका लागि स्थगन गरेको डाक्टर केसीले बताउनु भएको छ । उहाँले प्रेस विज्ञप्तिमा भन्नु भएको छ, ‘सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो । सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन । आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा बिनाभेदभाव र बिनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ ।’

डाक्टर केसीले पछिल्लो समय सीमा विवाद समाधानका लागि राजनीतिक दलबीच देखिएको एकताको पनि प्रशंसा गर्नु भएको छ, ‘अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं ।

त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन । चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन ।’ स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि आफूहरुको लडाइँ जारी रहने तथा सरकारले माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने पनि डाक्टर केसीले चेतावनी दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार