शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • कसले बुझ्छ सीमाबासीको समस्या ! लालपुर्जा छ हातमा, जग्गा छैन साथमा

कसले बुझ्छ सीमाबासीको समस्या ! लालपुर्जा छ हातमा, जग्गा छैन साथमा

  • बुधबार, कार्तिक २७, २०७६
कसले बुझ्छ सीमाबासीको समस्या ! लालपुर्जा छ हातमा, जग्गा छैन साथमा

खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका कञ्चनपुर पुनर्वासका किरण सुनारको साथमा आफ्नै जग्गाको लालपुर्जा छ । तर, उनीसँग जग्गा भने छैन ।

उनको हातमा भएको लापुर्जाको जग्गा भारतीय पक्षले कब्जा गरेका छन् । दुई दशकभन्दा बढी समयदेखि सुनारको जग्गामा भारतीय पक्षले खेती लगाइरहेका हुन् । उनको १५ कट्ठा खेतीयोग्य जमिन २४ वर्षदेखि भारतीय पक्षले कब्जा गरेको हो । २०२८ सालदेखि उनीहरूले त्यो जग्गाको भोगचलन गर्दै आएका थिए ।

तर, २०५२ सालपछि उक्त क्षेत्र भारतमा पर्ने भन्दै भारतीय पक्षले जग्गा कब्जा गरे । आफूहरूले भोग चलन गर्दै आएको जग्गा भारतीय पक्षले कब्जा गरेपछि उनीहरू समस्यामा परेका हुन् । झन्डै ५ दशक पहिलेदेखि बस्दै आएको उक्त ठाउँमा नेपाल सरकारले जग्गा नापेर उनीहरूलाई लालपुर्जा दिएको थियो । उनको हातमा अहिले पनि लालपुर्जा त छ । तर, जग्गा छैन ।

लालपुर्जा भएको आफ्नो भूमिलाई भारतीयले कब्जा गर्दा पनि सरोकारवाला निकायले चासो नदिएको उनको गुनासो छ । ‘सरोकार निकायलाई पटक(पटक मौखिक र लिखित रूपमा जानकारी गराएको थिएँ’ उनले गुनासो पोख्दै भने, ’कसैले कुनै पहल नभएपछि अब त जग्गा पाउने आस पनि मर्न थालेको छ ।’ उपल्लो निकायसम्म आफूहरूको समस्या र्पुयाइदिने कोही नभएकाले यस्तो भएको उनको गुनासो छ । आफ्नो जग्गा भारतीय पक्षले कब्जा गरेपछि उनीहरूको विचल्ली भएको छ ।

आफ्नो जग्गा भारत पक्षले कब्जा गरेर भोग चलन गर्न थालेपछि उनीहरूले अर्काको जमिन अधियाँ गरी परिवार पाल्न बाध्य भएका छन् । ’अहिले अरूकै जग्गामा अधियाँ खेती गर्दै आइरहेको छौं । त्यो खेतबाट उब्जनी भएको अन्न आधा जग्गा मालिकलाई दिन्छौँ र आधा मात्र हामी राख्छौँ’ उनले भने, ‘अहिले उत्पादन कम हुँदै गएको छ झन् समस्या बढिहरेको छ ।’

सरोकारवाला निकायले आफ्नो लालपुर्जा भएको जमिन फिर्ता गराइ दिनुपर्ने उनको माग छ ।
सधैँ बल्झन्छ विवाद झण्डै तीन वर्ष पुग्न थाल्यो, फागुन २६ गते कञ्चनपुरको पुनर्वास ४ आनन्द बजारमा भारतीय पक्षको गोली लागि स्थानीय गोविन्द गौतमको ज्यान गएको थियो।

नेपाली भूमिमा रहेको कल्भर्टको मर्मत गर्दा भारतीय पक्षले अवरोध सिर्जना गरेका थिए । त्यो बेला विवाद यतिसम्म चुलियो कि भारतीय पक्षले गोली प्रहार र्गयो र गौतमको मृत्यु भयो ।

उनको हत्याको तीन वर्ष पुग्नै लाग्दा पनि सो क्षेत्रमा सीमा अझै शान्त बन्न सकेको छैन । यो अवधिमा दर्जनौं पटक भारतीय पक्षबाट नेपाली प्रताडित भएका छन्। ‘फरकफरक बहानामा नेपाल र नेपालीमाथि प्रहार भइरहेको छ’ सीमा क्षेत्रका स्थानीय प्रेम थापाले भने, ’हामी त निरीह जस्तै भएका छौं ।’

आनन्द बजारमा आफ्नै भूमिमा कल्भर्टको सुधार गर्दा अवरोध गरेको भारतीय पक्षले सीमा क्षेत्रमा नेपाली पक्षलाई कुनै पनि गतिविधि गर्न नदिने गरेको स्थानीयको भनाइ छ । सीमा क्षेत्रमा जंगली जनावरबाट समेत प्रताडित भएका नागरिकले बाली जोगाउन आफ्नै भूमिमा विद्युतीय तरबार लगाउँदा समेत भारतीय पक्षले अवरोध सिर्जना गरेको थियो ।

‘गत वर्ष वैशाख १२ गते पुनर्वास नगरपालिका ९ बीचफाटामा सर्वसाधारणले तार लगाउँदा उनीहरूले अवरोध मात्रै गरेनन् । तरबार नै भत्काइदिए । हामीले हाम्रो खेतको बीचबाट तार लगाउँदा पनि उनीहरूले धम्काए ।

भत्काए’ स्थानीय दलबहादुर विष्ट भने,‘पटक पटक हाम्रो भूमिमै पुगेर निर्माणाधीन संरचनाहरूमा अवरोध गर्दा पनि सरकारले चासो दिँदैन ।’ बीचफाटामा नेपाली भूमिमा नेपालीले तरबार लगाउँदा अवरोध सिर्जना गरेको भारतीय पक्षले पुनर्वास नगरपालिका ११ डोके बजारमा भने एकलौटी ढंगले तरबार हाल्ने र ट्रेन्च खन्ने काम गरेको थियो ।

सीमा क्षेत्रमा नेपाली पक्षसँग समन्वय नगरेर ट्रेन्च निर्माण गर्दा त्यस क्षेत्रका नागरिक डुबानको समस्यामा पर्ने भन्दै निर्माण कार्यमा रोक लगाउन अपिल गरेका थिए । थाहा खबरबाट

चर्चामा

सम्बन्धित समाचार