• होमपेज
  • देश
  • सेनाले फास्ट ट्रयाकको नेतृत्व इन्जिनियरलाई नदिने

सेनाले फास्ट ट्रयाकको नेतृत्व इन्जिनियरलाई नदिने

  • शनिबार, कार्तिक २३, २०७६
सेनाले फास्ट ट्रयाकको नेतृत्व इन्जिनियरलाई नदिने

नेपाली सेनाले काठमाडौं तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक) को जिम्मेवारी अब सेनाका इन्जिनियरले नपाउने भएका छन्।

नेपाली सेनाको इन्जिनियर विभागका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले आयोजनाको नेतृत्व गर्दै आएका थिए। यद्यपी श्रेष्ठलाई फास्ट ट्रयाकमा भएको छानबिनका क्रममा जिम्मेवारीबाट हटाइएको थियो। अहिले पनि श्रेष्ठ छानबिनकै क्रममा छन्।

छानबिनबाट उनले सफाइ पाए भने पनि अब फास्ट ट्रयाकको नेतृत्व सेनाको इन्जिनियर विभागले गर्न पाउने छैन। नेपाली सेनाका इन्फेन्ट्रीतर्फका उपरथीले फास्ट ट्रयाकको आयोजना प्रमुख बन्ने सैनिक स्रोतले जनाएको छ।

सैनिक मुख्यालयमा रहेको फास्ट ट्रयाकको कार्यालयमा समेत इन्फेन्ट्रीतर्फका अधिकृत बस्न थालेका छन्।

‘फास्ट ट्रयाकको कामलाई प्रभावकारी बनाउन इन्फेन्ट्रीलाई पनि सहभागी गराइएको छ,’ सैनिक स्रोतले भन्यो, ‘अब दुई तारे जर्नेलले आयोजनाको नेतृत्व गर्नुहुन्छ। प्राविधिक सैनिकले उहाँकै मातहतमा काम गर्छन्।’

फास्ट ट्रयाकको आयोजनाको निर्देशक समितिमा पनि सेनाकै वरिष्ठ रथी प्रमुख रहन्छन्।

पूर्वउपरथी योगेन्द्र खाँणले आयोजना प्रमुख रहेको बेलामा अनियमितता गरेको आरोपमा छानबिन भइरहेको छ। खाँण नेतृत्वमा रहेका बेलामा परामर्शदाता छनोटमा आफ्नो स्वार्थ अनुकूल काम गरेकाले सेनाले उनलाई तीन चरणको बयान लिएर छानबिन रिपोर्ट तयार पारेको छ। छानबिन रिपोर्ट प्रधानसेनापति पूर्णचन्द्र थापालाई बुझाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।

यसअघि ६ वटा परामर्शदाता कम्पनी छनोट भएका थिए। तर त्यो प्रक्रिया रद्ध गरेर सेनाले फेरि परामर्शदाता मागेको छ। अहिले २२ वटा कम्पनीले निवेदन दिएका छन्। २२ वटाबाट ६ वटा छनोट गर्ने र ६ वटा मध्येबाट एउटा छनोट गरिने सैनिक प्रवक्ता पाण्डेले बताए।

मंसिर १ गतेदेखि फास्ट ट्रयाकमा निर्माण हुने पुलका लागि टेन्डर आह्वान गरिने पाण्डेले बताए। सुरूमा नेपाली ठेकेदारलाई आह्वान गर्ने त्यसपछि मात्रै विदेशी कन्ट्रयाक्टरलाई आह्वान गर्ने सेनाको योजना छ। फास्ट ट्रयाकमा साना ठूला गरी ८७ वटा पुल बन्दैछन्। जसमध्ये विशेष प्रकृतिका पुल १६ वटा हुने छन्।

सुरूङको लागि भने २०७७ को जेठदेखि मात्रै टेण्डर आह्वान गर्ने सेनाको योजना छ। तीन वटा सुरूङ बनाउने योजना रहेको छ भने सुरूङको दूरी साढे ५ किलोमिटर रहनेछ।

चर्चामा

सम्बन्धित समाचार