शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • अब कारागारमै प्रजनन सुख, गर्भवती बन्दीले ६० दिन बिदा पाउने

अब कारागारमै प्रजनन सुख, गर्भवती बन्दीले ६० दिन बिदा पाउने

कालापानीवरै पनि मन्दिर बनाउन दिएन भारतले

  • शुक्रबार, कार्तिक २२, २०७६
अब कारागारमै प्रजनन सुख, गर्भवती बन्दीले ६० दिन बिदा पाउने

२२ कात्तिक, काठमाडौं । नेपाली सीमामा भारतीय पक्षले गरेको अतिक्रमण र उपनिर्वाचनका लागि बिहीबार गरिएको मनोनयन दर्ता आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक अपराध र अनियमिततासँग सम्बन्धित विषय पनि आजका पत्रिकाहरूले उठाएका छन् ।

‘भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शीर्षकमा कान्तिपुरले सीमा अतिक्रमणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार भारतीय पक्षले महाकाली नदिवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय व्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ ।

प्रवेश निषेध पछि उनीहरूले त्यहाँभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे । तर त्यसको निर्माणमा पनि भारतीय पक्षले अवरोध गरेको कान्तिपुर समाचारमा लेखिएको छ ।

कालापानी दार्चुलाको सबभन्दा उत्तरी व्यास गाउँपालिका वडा नम्बर १ मा पर्छ । त्यसमुन्तिरको पहिलो गाउँ छाङरुका बासिन्दालाई पूजा गर्न सजिलो होस् भनेर कालापानीमा काली मन्दिर बनाउन व्यास गाउँपालिकाले ४ लाख रुपैयाँ विनियोजन गरे पनि भारतीय अवरोधका कारण मन्दिर निर्माण हुन नसकेको कान्तिपुर समाचारमा उल्लेख छ ।

अतिक्रमणले नेपालको सीमा लम्बाइ नै अन्योलमा परेको अर्को खबर पनि कान्तिपुरमा छ । समाचार अनुसार दुवै देशले सीमा लम्बाइबारे फरक–फरक दाबी गर्दै आएका छन् ।

अब कारागारमै प्रजनन सुख, गर्भवती बन्दीले ६० दिन बिदा पाउने

कैदीलाई कारागारमै प्रजनन सुख दिन लागिएकोलाई कान्तिपुरले एंकर बनाएको छ ।

समाचार अनुसार, अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनु नपर्ने भएको छ । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौनसम्पर्क राख्न पाउनेछन् । त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा दिने व्यवस्थासहितको विधेयक तयार भएको छ ।

कार्बन व्यापारबाट नेपाललाई आम्दानी

नागरिकले वनविनाश र क्षयीकरण रोकी कार्वन उत्सर्जनमा कमी र कार्वन सञ्चितीमा वृद्धि ल्याएबापत नेपाललाई आम्दानीको ढोका खुल्न लागेको लेखेको छ ।

एक दशकभन्दा बढी तयारीपछि विश्व बैंकको वन कार्वन साझेदारी सुविधा अर्थात् फरेस्ट कार्वन पार्टनरसिप फेसिलिटी अन्तर्गत नेपालले आम्दानी गर्न सक्ने देखिएको छ । नागरिकका अनुसार सन् २०२५ सम्ममा साढे चार अर्ब आम्दानी हुने देखिएको छ ।

उपनिर्वाचनमा सेना खटाइने

अन्नपूर्णले १४ मंसिरमा हुने उपनिर्वाचनमा सेना परिचालन हुने लेखेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको र अब राष्ट्रपतिले स्वीकृति दिएपछि सेना परिचालन हुने अन्नपूर्ण समाचारमा उल्लेख छ ।

नक्सा विवाद, जहाज डिले गर्न एयरलाइन्सको प्रवृत्तिलगायत विषयलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा ‘कभरेज’ गरेको छ ।

३ नदीमा पानीजहाज सञ्चालनको तयारी

सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको कारोबारले लेखेको छ । पश्चिम गण्डकी मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोसी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन गरी पानीजहाज सञ्चालनको तयारी सरकारले गरेको हो ।

समाचार अनुसार, यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेको छ । यीमध्ये कतिपय नदीमा सानो आकारका स्टिमरलगायत सञ्चालनमा छन् ।

साभार अनलाइन खबर

चर्चामा

सम्बन्धित समाचार