शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विश्वमा निम्तँदैछ ‘जलवायु संकटकाल’

विश्वमा निम्तँदैछ ‘जलवायु संकटकाल’

  • बुधबार, कार्तिक २०, २०७६
विश्वमा निम्तँदैछ ‘जलवायु संकटकाल’

विश्वका ११ सय वैज्ञानिकहरूले मान्यता दिएको एक अनुसन्धानले विश्वले ‘जलवायु संकटकाल’ को सामना गरिरहेको जनाएको छ । ४० वर्षको तथ्यांकमा आधारित उक्त अनुसन्धानमा विश्वका सरकारहरू यो संकट सम्बोधन गर्न असफल भएको पनि उल्लेख छ। यो खतराको अवस्थालाई औंल्याउनु आफूहरूको नैतिक वाध्यता भएको अनुसन्धानकर्ताहरूको भनाइ छ।

भूउपग्रह तथ्यांकले गत अक्टोबर महिनालाई अहिलेसम्मकै गर्मी अक्टोबरका रुपमा देखाएको थियो। तर अनुसन्धानले तात्दै गएको पृथ्वीको वास्तविक खतराबारे थाहा पाउन विश्व भूतापमान मापनमात्र यथेष्ट नभएको उल्लेख गरेको छ।

वैज्ञानिकहरूले आफूहरूले प्रस्तुत गरेको विगत ४० वर्षको तथ्यांकबाट मौसम परिवर्तनको गम्भीर संकेत देखिएको जनाएका छन्। उनीहरूले जनसंख्या तथा जनावरको वृद्धि, मासु उत्पादन दर, विश्वव्यापी रुपमा देखिएको जंगल विनाश र खनिज इन्धन उपभोगलगायतका आधारमा अनुसन्धान गरेका थिए।

यद्यपि केही क्षेत्रमा सकारात्मक परिवर्तन भने भएका छन्। उदाहरणका लागि वायु तथा सौर्य ऊर्जा उपभोगका कासण नवीकरणीय ऊर्जा उल्लेखनीय रुपमा वृद्धि भएको छ। यी ऊर्जा एक दशकमा ३७३ प्रतिशतका दरले वृद्धि भएको छ। यद्यपि यो तथ्यांक सन् २०१८ मा उपभोग भएको खनिज ऊर्जा (पेट्रोल, डिजेल) को तुलनामा २८ गुणा कम हो।

तर अधिकांश महत्वपूर्ण आधारहरू गलत दिशातर्फ गइरहेको र जलवायु संकटकालतर्फ उद्दत भएको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्। ‘संकटकालको अर्थ यदि हामीहरूले हाम्रो कार्बन उत्सर्जनमा कमी ल्याएर, चौपाया उत्पादनमा कमी ल्याएर र खनिज इन्धन उपभोगमा कमी ल्याएर जलवायु परिवर्तनका प्रभावमाथि प्रतिक्रिया जनाउन सकेनौं भने त्यसको प्रभाव हामीले अहिलेसम्म अनुभव नगरेको गम्भीर हुनेछ,’ प्रमुख अनुसन्धानकर्ता सिड्नी विश्वविद्यालयका डा थोमस न्युसमले भने।

अनुसन्धानकर्ताहरूले प्रमुख ६ वटा क्षेत्रमा तत्काल महत्वपूर्ण कदम चाल्नुपर्ने सुझाएका छन्। तिनमा ऊर्जा, अल्पकालीक प्रदूषकहरू (मिथेन, हाइड्रोफ्लुरोकार्बन), प्रकृति, खाद्यपदार्थ, अर्थतन्त्र र जनसंख्या छन्। उनीहरूले दैनिक २ लाखले वृद्धि भइरहेको विश्व जनसंख्यालाई स्थिर राख्नुपर्ने, खनिज इन्धन प्रयोगलाइ निरुत्साहित गर्न कार्बनको करलाई उच्च वृद्धि गर्नुपर्ने, जंगल जोगाउनुपर्ने, खाद्यपदार्थ खेर जाने प्रवृत्तिलाई रोक्नुपर्ने सुझाव दिएका छन्।

यो अनुसन्धानलाई १५३ देशका ११०० अनुसन्धानकर्ताहरूले मान्यता दिएका हुन्।

चर्चामा

सम्बन्धित समाचार