कटेरोमा प्रहरीचौकी

  • आइतवार, कार्तिक १७, २०७६
कटेरोमा प्रहरीचौकी

ताप्लेजुङ : कञ्चनजङ्घा हिमालको प्रवेशद्वारसँगै चीन र भारतको सीमा नजिकको बजार ‘घुन्सा’मा पर्यटकको आगमन बढ्दो छ। सुविधासम्पन्न घर र होटेलहरू खुलेका छन्। ग्रामीण बस्ती विस्तारै सहरीकरण हुँदैछ।

समाज सुरक्षाको दायित्व लिएका सुरक्षाकर्मी बस्ने घर भने खण्डहरझैं छन्। ३ हजार ५ सय मिटर उचाइमा रहेको प्रहरीचौकीले न हिँउ छल्छ, न शीत नै। काठको छानो हालिएको घरमा सामान्य पानी पनि बग्दैन। गोठजस्तो देखिने टहरामा प्रहरीले आवासदेखि कार्यालय सञ्चालन गरेका छन्।

‘ओछ््यानदेखि अगेनोसम्म हिँउ पर्छ,’ एक प्रहरीले भने, ‘थाङ्नाले प्वाल टालेर जोगिन्छौं।’ वरीपरी हिमाल रहेकाले बाह्रै महिना चिसो हुने उनले सुनाए। घर परिवार नभनी ड्युटीमा खटिएका प्रहरीको अवस्था कुनै निकायले बुझ्न नखोजेको उनको गुनासो छ। समान्य सहकारीको भवनभन्दा सुरक्षा निकाय बस्ने संरचना दयनिय भएको स्थानीय बताउँछन्।

जिल्लाको सबैभन्दा ठूलो कार्यक्षेत्र भएको प्रहरीचौकी हो यो। फक्ताङलुङ गाउँपालिका–६ आम्जिलेसादेखि कञ्चनजङ्घा आधार शिविर, तिब्बत र सिक्किम सीमानसम्म यही चौकीले हेर्छ। सीमा क्षेत्रमा हुने चोरी तस्करी रोक्न यहीबाट खटिनुपर्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने हुँदा प्रहरीको कार्य बोझ झनै बढी रहेको संरक्षण क्षेत्र अन्तर्गत समृद्ध पहाडका कार्यक्रम संयोजक सुदिप श्रेष्ठले बताए।

प्रहरी नायव निरीक्षकको नेतृत्वमा २२ जनाको दरबन्दी छ। तर बस्ने ठाउँ नभएपछि लामो समयदेखि हवल्दारकै कमाण्डमा प्रहरी पहरा दिइरहेको स्थानीय

टासीतेञ्जिङ शेर्पाले सुनाए। दुई महिनायता असई मेघराज अधिकारी गएका छन्। सरकारले हिमाली क्षेत्रका लागि दुर्गमभत्ता पनि पर्याप्त नरहेको प्रहरीको गुनासो छ।

‘एकपटक दिएको पोसाकले न चिसो धान्छ न त सुत्ने कोठाले शीत ओताउन सक्छ’, अर्का प्रहरी जवानले भने, ‘कठ््यांग्रीदै पहरा दिइरहेका छौं।’ स्थानीय सानुडण्डु शेर्पाका अनुसार प्रहरीचौकी रहेको घरमा ३० वर्षअघि घरधनि बस्थे। त्यसयता खाली थियो।

द्वन्द्वमा तत्कालीन माओवादीले प्रहरीचौकी जलाएपछि जीर्ण भवनमा राखिएको हो। चौकीले मासिक २५ हजार रुपैयाँ घरभाडासमेत तिर्नुपर्छ। ‘नजिकै प्रहरीको ३ रोपनी बढी जग्गा छ,’ सानुडण्डुले भने, ‘त्यो जग्गा खाली छ, उता भाडा तिरेर बसिरहेका छन्।’

प्रहरीचौकीको बारेमा आफूहरूले बारम्बार कुरा उठाए पनि सुनुवाइ नभएको घुन्सा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाली चुङ्दा शेर्पाले बताए। ‘त्यतिखेर चौकी जलाउने अहिले सत्ताको नेतृत्वमा छन्, प्रहरी भने रातभर चिसोमा कठ््यांग्रीएका छन्’, हिमालीले भने, ‘भत्काउन सक्नेले बनाउनुपर्छ की पर्दैन ? ’

घुन्सा मात्रै होइन, जिल्लाका अधिकांश प्रहरीचौकीका संरचना जीर्ण छन्। मेरिङ्देन गाउँपालिका–५ मा रहेको थुकीमा चौकी पनि जीर्ण छ। कतिबेला भत्किन्छ भन्ने पिरलोमा बस्नुपरेको प्रहरी बताउँछन्। कञ्चनजङ्घा पदमार्गमा पर्ने काँडेभञ्ज्याङ चौकी भवन पनि भत्किने अवस्थामा पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा ३५ प्रहरी युनिट छन्। यीमध्ये १० अस्थायी र २५ स्थायी हुन्। व्यक्तिगत प्रयोजनका लागि बनाइएका घरमा प्रहरीको कार्यालय छ । संरचना व्यवस्थित नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयाल बताउँछन्।

गाउँमा दैनिक सानातीना घटना भइरहन्छन्। प्रहरीका लागि बनाइएका भौतिक संरचनाको अवस्था भने दयनिय छन्। प्रहरीलाई सुरक्षा सामग्री जोगाउन पनि मुस्किल पर्ने गरेको छ। संरचना पर्याप्त नहुँदा अनुसन्धान गर्न र दुईतर्फी झगडीयालाई बयान लिन समस्या हुने फुँयालले बताए। जिल्लामा झन्डै साढे चार सय प्रहरीको दरबन्दी छ ।

इलाका प्रहरी कार्यालय दोभानसहित थुम्वेदिन र खेवाङ चौकीको भवन निर्माण भइरहेको छ। घुन्साको भवन निर्माणका लागि गाउँपालिकासँग समन्वय भइरहेको प्रहरी प्रमुख फुँयालको भनाइ छ। संघीय सरकार र प्रदेश सरकारको दायित्व भएकाले स्थानीय तहमार्फत बजेट नछुट््याइएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले बताए।

चर्चामा

सम्बन्धित समाचार