शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रवास
  • अमेरिकी सेनाको मेजरमा नेपाली चेली

अमेरिकी सेनाको मेजरमा नेपाली चेली

  • शनिबार, कार्तिक १६, २०७६
अमेरिकी सेनाको मेजरमा नेपाली चेली

अमेरिकी सेनाको उपल्लो तहमा पुग्ने पहिलो नेपाली महिला बनेकी छन् नेपाली चेली समृद्धि रिमाल। अमेरिकी रक्षा मन्त्रालयको मेजर पदमा कार्यरत रिमाल ११ वर्षको उमेरमा परिवारका साथ अमेरिका पुगेकी थिइन्। त्यसअघि ११ वर्षको उमेरसम्म उनको प्रारम्भिक पढाइ नेपालमै भएको थियो। अमेरिकाको डालसमा हुर्किएकी समृद्धि १८ वर्षको उमेरमा हाइस्कुल शिक्षा पूरा गरेपछि अमेरिकी सेनामा भर्ती भएकी हुन्। सेनामा काम गर्दैगर्दा उनले त्यहीबाटै स्नातकोत्तर तह पूरा गरेकी हुन्।

कामको सिलसिलामा नेपालीहरू कमै भेट हुने भएकाले उनी नेपाली धेरै बोल्न पाउँदिनन्। तर पनि बिहान बेलुका परिवारका साथमा बस्दा भने उनी नेपाली नै बोल्छिन्। अमेरिकामा नेपाली पत्रकार तरुण पौडेलसँग टेलिभिजन कार्यक्रम ‘गज्जबको गफगाफ’ मा समृद्धिले भनिन्, ‘परिवारका सदस्यसँग बसेर नेपालीमा कुरा गर्दा रमाइलो लाग्छ।’ आफ्नो दीक्षान्त समारोहमा साथीहरू तथा आफन्त महिलाहरू साडी लगाएर उपस्थित भएका बेला नेपाली हुनुमा गर्व महसुस भएको उनी बताउँछिन्। भन्छिन्, ‘त्यो क्षण मलाई निक्कै आनन्द लागेको थियो।’

अमेरिकी सेनामा भर्ती हुन पाएकोमा उनी गर्व गर्छिन्। पढाइ, तालिममात्र होइन, यति राम्रो हेरचाह अन्यत्र कहींकतै नहुने उनको अनुभब छ।
अमेरिकी सेनामा भर्ती भएर के गर्ने भन्ने उनलाई थाहा थिएन। तर पनि हाइस्कुल पढ्दै गर्दा एकपटक अमेरिकी सेनाकी एक महिलासँग उनको भेट भएको थियो। जतिबेला ‘म पनि सेनामा काम गर्न सक्छु होला किन नजाने’ भन्ने लागेको थियो उनलाई। सेनामा भर्ती भएर २, ३ वर्षपछि पुनः फर्कन्छु भन्ने उनलाई लागेको थियो सुरुका दिनमा। तर उनी फर्किन सकिनन्। किन त? समृद्धि भन्छिन्, ‘अमेरिकी सेनामा धेरै राम्रो वातावरण पाएपछि त्यहीँ रमाएँ म।’ जति समय रमाइलो लाग्छ त्यतिसम्म बस्ने उनले योजना सुनाइन्। कामको सिलसिलामा सन् २०११ मा अफगानिस्तानमा त्यहाँका बच्चासँग भेट हुँदा उनी धेरै खुसी भएकी थिइन्।

११ वर्षको उमेरमा नेपालबाट अमेरिकी पुगेकी समृद्धि त्यसपछि सन् २००५ मा एकपटक आमा र दिदीसँग नेपाल गएकी थिइन्, छोटो समयका लागि। अब आफ्ना छोरीलाई नेपाल घुमाउने उनको योजना छ। तर कहिले जाने थाहा छैन। भन्छिन् ‘सेनामा समय निकाल्नचाहिँ धेरै गाह्रो छ।’ नेपाल जान चाहनुको कारणबारे उनी भन्छिन् ‘आफ्ना छोरीलाई नेपाल कस्तो छ, आफू कुन घरमा हुर्किएँ भनेर देखाउन मन छ।’ छोरीलाई नेपाली खाना, भाषा र सँस्कति सिकाउन उनलाई मन छ। तर अमेरिकामै रहेर पनि छोरीहरूले यूट्युबबाट नेपाली भाषाका गीतमा नाच्ने गर्छन्, त्यसका लागि उत्साहित गर्ने गरेकी छन्।

अमेरिकामा नेपालीहरू धेरै छन्। अमेरिकामा रहेका नेपाली समु्दायले नेपालको सँस्कृति र भाषा प्रबद्र्धनका लागि काम गर्नुपर्ने उनको सुझाव छ। भन्छिन् ‘जहाँ बसे पनि हामी नेपाली हौं, नेपाली हुनुमा हामी गर्व गर्छौं।’ नेपालमा बालिका शिक्षामा केही गर्ने योजना उनले सुनाइन्।

चर्चामा

सम्बन्धित समाचार