बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • फुटबल
  • जेसिज कप फुटबल : पुलिस च्याम्पियन

जेसिज कप फुटबल : पुलिस च्याम्पियन

  • आइतवार, कार्तिक १०, २०७६
जेसिज कप फुटबल : पुलिस च्याम्पियन

चितवन : विभागीय टोली नेपाल पुलिस क्लबले जेसिज विकास रनिङ शिल्डको फुटबलको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा घरेलु टोली चितवन–११ लाई पराजित गर्दै पुलिसले उपाधिमा कब्जा जमाएको हो। पुलिसले चितवनलाई टाइबे्रकरमा ४–२ को अन्तरले पराजित गरेको हो।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइबे्रकरमा धकेलिएको थियो। चितवनका कप्तान रुमेश बर्तौला र रोशन रानामगरको प्रहार बाहिरिएपछि पुलिसले उपाधि आफ्नो बनायो। पुलिसको जितमा सुमन लामा, अजित भण्डारी, हरि कठायत र कप्तान भरत शाहले गोल गरेका थिए। चितवनका अजय गुरुङ सुदांस महत्तोले मात्रै गोल गरेका थिए।

उपाधि विजेता नेपाल पुलिस क्लबले ६ लाख ६६ हजार ६ सय ६६ नगद रुपैयाँ प्राप्त गर्‍यो। उपविजेतामा चित्त बुझाएको चितवनले तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ पायो। विजेतालाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले पुरस्कार प्रदान गरिन्।

घरेलु मैदानमा दर्शकको साथ पाएको चितवनले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो। दोस्रो हाफमा भने पुलिसले खेल आफ्नो नियन्त्रणमा लिएको थियो। दुवै टोलीले गोल गर्ने थुप्रै अवसर गुमाएका थिए। खेलको ११औँ मिनेटमा चितवनका अनिल रानामगरले पाएको अवसर सदुपयोग गर्न सकेनन्। यस्तै पुलिसका प्रवेश दनुवारले पनि गोल गर्ने अवसर खेर फालेका थिए। अन्य दिनमा खासै दर्शक नभएको क्याम्पाचौर फाइनल हेर्नका लागि दर्शकले खचाखच भरिएको थियो। खेलको म्यान अफ दी म्याच पुलिसका मनबहादुर परियार घोषित भए।

प्रतियोगिताभरकै उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रवि पासवानले २५ हजार नगद पाए। सर्वाधिक गोलकर्ता पुलिसका सुमन लामा र चितवनका रुमेश बर्तौलाले १५ हजार पाए। उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुधन चौधरी, उत्कृष्ट डिफेन्डर चितवनका सुदांश महतो घोषित भए। प्रतियोगिताको फेयर प्ले जावलाखेल युथ क्लबले पायो।

चर्चामा

सम्बन्धित समाचार