• होमपेज
  • समाज
  • डीभी भर्न नारायणहिटीमा रातभर जाग्राम

डीभी भर्न नारायणहिटीमा रातभर जाग्राम

  • बुधबार, कार्तिक ६, २०७६
डीभी भर्न नारायणहिटीमा रातभर जाग्राम
तस्बिरः सुशील श्रेष्ठ

ओखलढुंगाकी भवानी राई हस्याङ फस्याङ गर्दै मंगलबार नारायणहिटीस्थित राहदानी विभागमा पुगेकी थिइन् । राहदानी (पासपोर्ट) बनाउने कागजात नमिलेपछि विभागको विभिन्न कोठामा के–के कागजात चाहिने हो भन्दै सोधपुछका लागि भौंतारिरहेकी थिइन् ।

सिरहाका दीपेश यादवको समस्या पनि उस्तै छ । राहदानीका लागि चाहिने आवश्यक कागजात जुटाउन सकेका छैनन् । विभागको कोठा–कोठा चहार्दै थिए ।

भवानी र दीपेश त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्ता हजारौं युवा राहदानी बनाउन विभागमा बिहानैदेखि लाइन बसेका छन् ।

विभागमा ओठ मुख सुकाउँदै फारम बुझाउने पालो कुरेर बसेकाको घुइँचो छ । घण्टौंपछि पालो आउँछ । तर, कागजात नपुगेपछि रित्तो हात फर्किन बाध्य छन् कतिपय ।

१५ असोजयता विभागमा राहदानी बनाउनेको भीड बढेको छ ।

अमेरिका जान डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म भर्नका लागि एमआरपी नम्बर हुनैपर्ने प्रावधान भएकाले राहदानी बनाउनेको भीड लागेको हो ।

‘डीभीको आवेदन फर्म खुल्नुअघि एमआरपी आवेदन भर्नेको संख्या दैनिक ४ सयको हाराहारीमा थियो, अहिले ५ गुणाले बढेर ३ हजार पुगेको छ,’ विभागका निर्देशक राजेन्द्र पाण्डेले भने ।

१५ हजार रुपैयाँ शुल्क तिरेर एकै दिनमा राहदानी बनाउनेको संख्या धेरै छ । उपत्यकाबाहिरबाट राहदानी बनाउन धेरै आएकाले विभागमा भीड भएको हो ।

‘राहदानी बनाउनेको संख्या बढेपछि कर्मचारी पनि थप गरिएको छ, कार्यालय समयमा काम सकिँदैन, राति ९ बजेसम्म काम गरिरहेका छौं,’ निर्देशक पाण्डेले भने ।

विभागको भौतिक संरचनाका कारण पनि काममा कठिनाइ भएको छ । जसको कारण विभाग अस्तव्यस्त देखिएको छ ।

‘विभागको क्षमताभन्दा धेरैको संख्यामा राहदानी बनाउन आएका छन्, डीभी भर्ने समय सकिन लागेकाले भीड बढेको छ, पूर्वाधारभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने भएकाले अस्तव्यस्त भएको हो,’ पाण्डेले थपे ।

डीभीको मोह

अमेरिका जान सजिलो माध्यम भएकाले डीभीप्रति नेपालीको मोह बढ्दो छ । अमेरिकामै बसोबास गर्न पाइने भएकाले डीभीप्रतिको मोह बढेको हो ।

‘देशमा अवसर नै छैन, काम पनि पाइने, दाम पनि कमाइने भएकाले अमेरिका जान डीभी भर्न लागेकी हुँ,’ राहदानी बनाउन आएकी भवानीले भनिन् ।

राज्यले देशमै रोजगारको सिर्जना गर्ने महत्त्वाकांक्षी योजना बनाएको छ । तर, युवा भने अझै पनि विदेशलाई नै पहिलो प्राथमिकतामा राख्छन् । डीभी भर्ने र राहदानी बनाउने भीडले सरकारको योजनलाई नै गिज्याइरहेको भान हुन्छ ।

३ हजार नेपाली अमेरिका पुग्छन्

डीभीमार्फत बर्सेनि ३ हजारको हाराहारीमा नेपाली अमेरिका पुगेका छन् । ६० हजारभन्दा बढी नेपालीले बर्सेनि डीभी भर्दै आएका छन् । गत १५ असोजमा अमेरिकाले डीभी आवेदन खुलाएको थियो ।

राज्यप्रतिको अविश्वास

युवाको विदेश मोहले राज्यप्रति अविश्वास बढेको सरोकारवाला व्यक्ति बताउँछन् । सरकारले कामभन्दा भाषण ज्यादा गरेकाले युवाको विदेश मोह बढेको उनीहरूको भनाइ छ ।

‘यो राज्यप्रतिको अविश्वास हो, विभागवरिपरिको दृश्यले यसैलाई पुष्टि गर्छ,’ परराष्ट्र मन्त्रालयकै एक अधिकृतले भने ।

सास्ती उस्तै, राजस्व पनि धेरै

विभागमा भेटिएकी भवानी राई डीभी भर्नका लागि राहदानी चाहिने भएपछि ओखलढुंगादेखि काठमाडौं आएकी हुन् । जिल्ला प्रशासन कार्यालयहरूमार्फत पनि राहदानी बनाउन पाइने व्यवस्था भए पनि समय भने धेरै लाग्छ ।

सरकारले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिनका लागि ५ हजार रुपैयाँ राजस्व तिर्नुपर्छ । तर, यस्तो राहदानी कम्तिमा पनि एक महिनापछि पाइन्छ ।

विभागले थप दुई प्रक्रियाद्वारा पनि राहदान बनाइदिन्छ । पहिलो प्रक्रिया भनेको १० हजार रुपैयाँ राजस्व तिर्नुपर्छ । यस्तो राहदानी विभागले कम्तिमा एक हप्ताभित्रमा उपलब्ध गराउँछ ।

अर्काे प्रक्रिया भनेको १५ हजार रुपैयाँ राजस्व तिरेर राहदानी बनाउने हो । यस्तो राहदानी विभागले प्रक्रिया पूरा भएको भोलिपल्ट नै दिने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार