शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • जरिवाना तिर्न नसक्दा समाजबाट बहिष्कार

जरिवाना तिर्न नसक्दा समाजबाट बहिष्कार

  • बिहिबार, अशोज ३०, २०७६
जरिवाना तिर्न नसक्दा समाजबाट बहिष्कार

मोरङको कटहरी–७ रुपडिया टोलकी मञ्जा सरदारले परिवारको गुजाराको लागि सानो किराना पसल सञ्चालन गरेकी छन् ।

यही असोज २८ गतेदेखि उनको पसलमा गाउँका कोही पनि सामान किन्न आउँदैनन् । रुपडिया टोलमा लगभग एक सय घरधुरी छन् । जसमा अधिकांश सरदार, बातर समुदायको बसोबास छ । तर, उनको पसलमा कोही पनि आएका छैनन् । आउनेले जरिवाना तिर्नुपर्छ । उनीसहित त्यो टोलको सात परिवार त्यो टोलको ९३ घरमा जान पाउँदैनन् ।

न्यून आर्थिक अवस्थाका ती सात परिवारले ३० हजार जरिवाना नतिर्दा पाएको सजाय हो यो । यी सात परिवारका नाबालकले ३ वटा हाँस चोरी गरेका थिए । उनीहरूलाई ३ वटा हाँसको ३० हजार तिर्न बालकहरूलाई शारीरिक यातना दिएर जबरजस्ती कबुल गराइएको पीडित परिवारले बताएका छन् ।

कटहरी–७ का लट्याङ सरदारका ३ वटा हाँस गाउँकै ६ जना बालकले भदौ २३ गते चोरेका थिए । हाँस चोरेको भन्दै सरदार समाजले ६ जनाको परिवारलाई जनही ५ हजार जरिवाना गरेको थियो । तीनवटा हाँसको ६ जनाले गरेर ३० हजार नतिरे पछि गाउँका ९३ घरमा प्रवेश गर्न नदिएको पीडितले बताएका छन् । सात परिवारले उक्त टोलको कुनै घरमा जान नपाउने, बाटोमा हिँड्न नपाउने, दोकान, मिल, कलमा समेत जान बन्देज लगाइएको पीडित मञ्जादेवी सरदारले बताइन् । मञ्जादेवीका छुट्टिएर बसेका छोराले समेत गाउँका कुनै पनि घरमा प्रवेश गर्न पाउँदैनन् ।

सत्यनारायण सरदार, दलकुमार ठाकुर, वेचन सरदारलगायतको समूहले उनीहरूलाई ३० हजार जरिवाना नतिरेको भन्दै गाउँका घरहरूमा प्रवेशमा बन्देज गरेको पीडितहरूले बताएका छन् । समाजका अगुवाहरूले बालकहरूलाई पाता फर्काएर बाँधेर पिट्दै एक महिनाभित्र जरिवाना तिर्ने कबुल गराएको पीडित परिवारले बताएका छन् ।

कटहरी–७ रुपडिया टोलका ९३ घरमा प्रवेश गर्न नपाउनेहरूमा ललिता यादव, बुजिया, टिकवा, गीता, राजकुमारी, लगनी र मञ्जादेवी सरदारका परिवार रहेका छन् । उनीहरूलाई गाउँमा हिँडडुल गर्न र कसैको घरमा जानसमेत बन्देज गरिएको छ । गाउँका अगुवाहरूले ९३ घरका कुनै पनि सदस्य पीडित सात घरमा गए पनि जरिवाना गर्ने चेतावनी दिएको पीडितहरूले बताए ।
पीडकमध्येका दलकुमार ठाकुरले घटनालाई स्वीकार गरेका छन् । ‘जरिवाना तिर्न एक महिनाको म्याद दिइएको थियो’ उनले भने, ‘नतिरेपछि गाउँमा प्रतिबन्ध लगाइएको हो ।’

घटनापछि पीडितपक्षले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले पनि छलफलको लागि दुवै पक्षलाई बोलाएको थलाहा थानाका इञ्चार्ज असइ चूडामणि खतिवडाले बताए । चोरीमा संलग्न नाबालक भएकोले दुवै पक्षलाई मिलाउने प्रयास गरेको उनले बताए । झै–झगडा नगर्ने भन्दै मिलापत्र गराउन खोज्दा पीडक पक्षले हस्ताक्षर गर्न नमानेको उनले बताए । उनले प्रहरीको रोहवरमा कुनै दण्ड जरिवाना नगराइएको पनि बताए । दर्र्तै नभएको क्लबको नाममा जरिवाना भराउने भन्दै पीडकपक्षले चर्काचर्की गर्न खोजेको समेत उनले बताए । पीडकपक्षले हाँस चोरी भएको कुनै पनि उजुरी नदिएको असइ खतिवडाले बताए ।

नेपाल बातर सरदार सामाज कल्याण समिति मोरङसमेत उक्त घटनामा पीडकको पक्षमा रहेको स्रोतले बतायो । स्रोतका अनुसार समितिमा दण्ड जरिवानाको कुनै व्यवस्था नभए पनि पीडक पक्षले व्यवस्था रहेको भन्दै जरिवाना तिर्न बाध्य पार्न खोजिएको छ । उक्त समितिका अध्यक्ष मोहनलाल सरदारले उक्त घटनाबारे सुनेको मात्र बताए । ‘गाउँका युवाहरूको बदमासी छ’ उनले भने, ‘समाजमा नमिली प्रहरीमा गएको भन्ने सुनेको छु ।’ गलत भएको भए माफी माग्न लगाएर गाउँमै मिलाउने मोहनलालले बताए । समितिको विधानमा दण्ड जरिवानाको व्यवस्था नभएको पनि उनले बताए ।

पीडितहरूले अन्यायमा परेको भन्दै कटहरी गाउँपालिकामा गुहार मागेका छन् । उक्त घटनाको विषयमा कटहरी गाउँपालिकाले छलफल गर्ने भएको छ । समाजले गर्न नहुने काम गरेको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बताए । उनले समाजमा मिलाप हुन नसके कानूनी उपचारमा जाने बताए ।

चर्चामा

सम्बन्धित समाचार