काठमाण्डौं – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो दिनदेखि नै राजनीतिक भेटवार्ता थालेका छन् । उनले आइतबार पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति सीले आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बिहान साढे १० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपाका सचिवालय सदस्यहरुले सामुहिक भेटवार्ता गर्ने छन् ।
त्यसलगत्तै सी र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता हुने कार्यक्रम रहेको छ। प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहान ११ बजे शिष्टाचार भेट हुनेछ ।
भेट लगत्तै द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिऐका छ । आइतबार मध्याह्न १२ बजेपछि स्वदेश फिर्ताका लागि विमानस्थल तर्फ जाने र दिउँसो १ बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपति सी ले शनिबार बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारी सँग शिष्टाचार भेट गरेका छन् । यस्तै, प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरे ।