• होमपेज
  • देश
  • महरा यौनकाण्डको एक साता, त्यो ७९ मिनेटले हिरासतमा पुर्‍यायो

महरा यौनकाण्डको एक साता, त्यो ७९ मिनेटले हिरासतमा पुर्‍यायो

  • सोमवार, अशोज २०, २०७६
महरा यौनकाण्डको एक साता, त्यो ७९ मिनेटले हिरासतमा पुर्‍यायो

काठमाडौं । गत आइतबार अर्थात असोज १२ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास गरेको आरोप लागेपछि धेरैले आश्चर्य माने । आरोप लगाउने महिला थिइन् संसद सचिवालयकै कर्मचारी रोशनी शाही । आइतबार बेलुकी नै शाहीले आफूमाथि महराले दुर्व्यवहार गरेको भन्दै नेकपा सांसद ओन्सरी घर्तिमगर, कांग्रेसकी सांसद उमा रेग्मी, महराकै छोरा राहुल महरालगायतलाई म्यासेज् (सन्देश) गरेकी थिइन् । उनको त्यस्तो म्यासेजमा नेकपा नेतृको कुनै प्रतिक्रिया नआएको स्वयं शाहीले बताएकी थिइन् । महराका छोरा राहुललाई त उनले ‘‘तिम्रो बुबाले मलाई रेप गर्नुभयो’’ भनेरै म्यासेज् गरेकी थिइन् । प्रहरीले घटनाबारे आफ्नो बयान लिएको, घरबेटीले थाहा पाएको पनि उनले राहुललाई म्यासेजमा लेखेकी थिइन् ।

आइतबार घटना भएपछि शाहीले म्यासेजमार्फत आफूलाई अन्याय भएको भन्दै हारगुहार गरे पनि कतैबाट रेस्पोन्स भएन । महरा स्वयंले घटनापछि ‘फर्गेट एस्टरडे’ भन्दै शाहीलाई सम्झाउन खोजेका थिए । तर, शाहीले आक्रोशित जवाफ फर्काएकी थिइन् ‘तँ ’ सम्बोधन गर्दै । सोमबार बेलुका धेरैलाई चकित पार्नेगरी घटना सार्वजनिक भयो हाम्रा कुरा डटकममार्फत । अनलाइनले पिडित भनिएकी उनी शाहीको नाम परिवर्तन गरेर, अनुहार छोपेरै भिडियोसहितको समाचार प्रकाशन गर्‍यो ।भिडियो अन्तर्वार्तामै शाहीले महराले आफूलाई एउटै गिलासमा रक्सी खुवाएको, त्यसपछि कुटपिट गरेको भन्दै शरीरका निलडाम देखाएकी थिइन् । भुसको आगोजस्तै सोमबार रातभर यो खबर फैलियो । अरू सञ्चारमाध्यमले पनि घटनाबारे समाचार बनाएका थिए ।

सोमबार बेलुका नै महराको सचिवालयले सो समाचारको खण्डन गर्‍यो । महरा शाहीले आरोप लगाएको समयमा उनको तिनकुनेस्थित डेरामा नपुगेको, समाचार गलत रहेको र महरालाई समाप्त गर्न कठपुतली जन्माइएको विज्ञप्तिको सार थियो । तर, विज्ञप्तिले उल्टै आशंकालाई बल पुर्‍यायो । महराले विज्ञप्तिअघिनै सञ्चमरकर्मीहरूसँग आफू शाहीको कोठामा गएको स्वीकार गरिसकेका थिए । विज्ञप्ति र स्वयं महराको भनाई बाझियो ।

एकदिनपछि ‘यू-टर्न’

मंगलबार दिउँसो घटनामा ‘यु टर्न’ ल्याउन महराले प्रयास गरे । बलात्कारको आरोप लागेका शाहीको अर्को भिडियो अन्तर्वार्ता सार्वजनिक भयो । जसमा शाही आफैंले सोमबार लगाएको आरोपको खण्डन गरेकी थिइन् । सोमबार छद्म नाममा अनुहार छोपेर प्रस्तुत गरिएकी शाही बुधबार भने अनुहार देखाएरै वास्तविक पहिचानसहित देखा परिन् । उसो त पत्रकारितामा पीडितको पहिचान खोल्दा उसलाई थप पीडा हुने अवस्था नआओस भनेर यस्ता घटनामा पिडितको परिचय गोप्य राख्ने गरिन्छ ।

तर, उनले परिचय खुलाएर दिएको दोस्रो अन्तर्वातामा महरालाई आफुले रिसमा आरोप लगाएको, महरा आफ्नो बाबु समानको व्यक्ति भएको बताएकी थिइन् । तर, उनको त्यस्तो बयानलाई धेरैले नाटकीय माने । सत्ता र शक्तिको बलमा उनलाई महरा पक्षले बयान फेर्न बाध्य पारेको विश्लेषण गरिएको थियो । महराका छोराहरूले समेत आफ्नो फेसबुकमा पार्टीभित्रैबाट षड्यन्त्र भएको स्ट्याटस लेखे । तर, शाहीले तेस्रोपटक ‘टर्न’ गरिन् र शुक्रबार महराविरुद्ध किटानी जाहेरी दिइन् । त्यसपछि भने प्रहरीलाई महरामाथि थप कदम चाल्न सहज भयो ।

घटना सार्वजनिक भएको भोलिपल्टै नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसदको दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि महरालाई कारवाहीको लागि तयार भएका थिए । उनीहरुले बैठक बस्नुअघि नै सीसीटिभी फुटेज हेरिसकेका थिए । जसमा महरा रोशनीको घरमा सो दिन १ घण्टा १९ मिनेट अर्थात ७९ मिनेट बसेको पुष्टी भएको थियो ।

त्यसपछि महरामाथि थप संकट सिर्जना भयो । माओवादी आन्दोलनबाट उदाएका महरा नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग नजिक मानिन्छन् । बलात्कारको आरोप लागेपछि प्रचण्डले महरालाई सभामुख निवासमै पुगेरै भेटेको स्रोत बताउँछ । तर, महराको जवाफबाट दाहाल सन्तुष्ट हुन सकेनन् । सामाजिक सञ्जालमा नेकपा बलात्कारीलाई जोगाउन लागिपरेको आरोप लाग्न थालिसकेको थियो । त्यही भएर पनि उनीमाथि कारवाहीको प्रक्रिया अघि बढेको हो । महराले पार्टीले भनेकै दिन सभामुखबाट राजीनामा दिएपनि व्यहोरा छानबिन नसकिँदासम्मका लागि भन्ने पारे । आफ्ना स्वकीय सचिव सागर केसीमार्फत उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएका थिए । उनको आशयलाई लिएर पनि सर्वत्र विरोध भएको थियो ।

नेकपाका उपनेता सुवास नेम्वाङले भाषा जे लेखेपनि महरा सभामुखबाट पदमुक्त भएको बताए । उपसभामुखलाई लिखित राजीनामा दिएमा सभामुख स्वतः पदमुक्त हुने संविधानमै व्यवस्था छ । सांसद पद के हुन्छ भन्ने प्रश्नमा गत मंगलबार नेम्वाङको जवाफ थियो,‘‘महरालाई सांसदबाट पनि पार्टीले राजीनामा दिन भनेकाले नेकपाले उहाँलाई सांसदका रूपमा पनि चिन्दैन ।’’

आफ्नै गाडीमा गए प्रहरी हिरासतमा

सभामुख पदबाट राजीनामा दिएका महरालाई घटना भएको एक सातापछि प्रहरीले नियन्त्रणमा लियो । उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो । आइतबार सवा ६ बजे महरा सभामुख निवास बालुवाटारबाटै पक्राउ परे ।

प्रहरीको गाडीमा जान महराले अस्वीकार गरेका थिए । “म आफ्नै गाडीमा जान्छु । प्रहरीको अनुसन्धानलाई सघाउँछु । मेरै गाडीमा प्रहरीलाई पनि बसाउनूस्,” महराको आग्रहलाई पक्राउ गर्न आएको बानेश्वर प्रहरीको टोलीले स्वीकार गर्‍यो ।

महरा बा १८ च ४०० नम्बरको आफ्नै गाडीको पछाडि बसेर प्रहरीसँग गएका थिए । महरालाई पक्राउ गर्न प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र वृत्त बानेश्वरको टोली निवासमा पुगेको थियो । ढाकाटोपी, कोट पाइन्ट र चश्मा लगाएरै महरा प्रहरी हिरासतमा गए । गाडीमा जाँदै गर्दा महराको मुहार मलिन देखिन्थ्यो । सभामुख निवासबाट निस्किँदा उनको गाडीको गति धेरै भएकाले धेरैको क्यामेराले उनलाई कैद गर्नै सकेन ।

बलियो प्रमाण बनेको सीसीटिभी फुटेज

महरा-शाही प्रकरणमा प्रहरी पनि आलोचनाको तारो बन्यो । घटना भएकै दिन घटनास्थल पुगेको प्रहरीले किन तत्काल अनुसन्धान अघि बढाएन ? भन्दै आलोचना भयो । तर, प्रहरी किटानी जाहेरी नै नपरेको भन्दै पन्छिरेहको थियो । नेकपाले समेत सीसीटिभी फुटेज हेरेर महरा शाहीकोमा गएको बलियो आधार फेला पारिसकेको तथ्य बाहिर आयो ।

सीसीटिभी फुटेज अनुसार महराको सुरक्षाको गाडी ७९ मिनेट बालुवाटारदेखि रोशनीको डेरासम्म पुगेर फर्किएको देखाउँछ ।

त्यसले प्रहरीलाई पनि हाइप्रोफाइल व्यक्ति संलग्न सो घटनामा अनुसन्धान अगाडि बढाउनैपर्ने दबाब सिर्जना भयो । शुक्रबार किटानी जाहेरी परेपछि भने प्रहरीलाई अनुसन्धान अघि बढाउन सहज भयो । आइतबार काठमाडौ जिल्ला अदालतले महराविरूद्द पक्राउ पुर्जी जारी गर्‍यो । त्यसको केही घण्टापछि प्रहरीले सभामुख निवासबाटै महरालाई गिरफ्तार गरेको हो ।

महराको सांसद पद के हुन्छ ?

यौन दुराचारको आरोप लागेका निवर्तमान सभामुख महरा सांसद पदबाट निलम्बित नहुने भएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरे पनि सांसद पद भने रहि रहनेछ । तर, उनले सांसदको पारिश्रमिक र अधिकार भने पाउनेछैनन् । प्रतिनिधिसभा नियमावली २०७४ अनुसार अभियुक्त महराको सांसद पद भने निलम्बन नहुने भएको छ ।

नियमावलीको नियम २४४ मा सदस्यको पक्राउको जानकारी सम्बन्धी व्यवस्था छ । उक्त नियमको उपनियम ३ मा ’संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धित वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भइ पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा थुनामा रहेको अवधिभर सदस्यको हैसियतले कुनै कामकारबाही गर्न वा अधिकार वा कुनै उन्मुक्ति प्राप्त हुने छैन । त्यस्तो अवधिभर निजको पारिश्रिमक सेवा र सुविधा स्थगित हुने’ उल्लेख छ ।

बाह्रखरि

चर्चामा

सम्बन्धित समाचार