शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • ‘आजबाट मौसममा सुधार, दशैंमा आत्तिनुपर्ने अवस्था छैन’ – मौसमविद

‘आजबाट मौसममा सुधार, दशैंमा आत्तिनुपर्ने अवस्था छैन’ – मौसमविद

  • सोमवार, अशोज १३, २०७६
‘आजबाट मौसममा सुधार, दशैंमा आत्तिनुपर्ने अवस्था छैन’ – मौसमविद

काठमाडौं । सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीले भनिन्, ‘अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलि (सोमबार)बाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।’ आइतबारको तुलनामा सोमबार मौसममा बढी सुधार देखिने उनको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यता तीन दिनको मात्र पूर्वानुमान गर्दछ । त्यसैले खासगरी फूलपातीदेखि दशैंको टीकासम्मको अवधिमा मौसमको अवस्था के हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न कठिन हुने मौसमविद बताउँछन् । यद्यपि अर्को सिस्टम तत्काल विकास हुने सम्भावना नदेखिएको मौसमविद बासीले बताइन् ।

तर, नेपालबाट मनसुन बाहिरीनसकेकाले वर्षाको सम्भावना भने कायमै रहने मौसमविद बताउँछन् । तर, अहिले भइरहेको जस्तो ठूलो वर्षा वा पूर्ण बदलीको अवस्था भने नहुने अनुमान गरिएको छ ।

‘अहिले अर्को सिस्टम तत्काल डेभलप हुने सम्भावना देखिँदैन, तर मनसुन सकिनका लागि जुन वातावरण हुनुपर्ने हो त्यो भइसकेको छैन,’ मौसमविद मञ्जु बासीले अनलाइनखबरसँग भनिन्, ‘तर, ठूलो वर्षा हुँदैन, आत्तिनुपर्ने अवस्था छैन ।’

आज भने आइतबारको तुलनामा मौसममा केही सुधार आउने छ । ‘ अलि बढी सुधार त हुन्छ, तर पूर्णरुपमा भने हुँदैन,’ मौसमविद बासीले भनिन् । उनका अनुसार सोमबार मध्य र पूर्वका केही स्थानमा र पश्चिमको थोरै स्थानमा पानी पर्ने सम्भावना छ । साथै पूर्व र मध्यका एक–दुई स्थानमा भने मेघगर्जन सहित चट्याङ्ग पर्ने छ ।

मंगलबार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ ।

चर्चामा

सम्बन्धित समाचार