शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • लामो दुरीका गाडी चालकलाई फूलमाला सहित बिदाइ

लामो दुरीका गाडी चालकलाई फूलमाला सहित बिदाइ

  • आइतवार, अशोज १२, २०७६
लामो दुरीका गाडी चालकलाई फूलमाला सहित बिदाइ

काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दशैँमा घर जाने यात्रु बोक्ने लामो दुरीका सवारीसाधनका चालकहरुलाई फूलमाला लगाएर बिदाइ गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्वारा आइतबार गोगंबुस्थित नयाँ बसपार्कमा ‘सडक सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रमका क्रममा लामो दुरीका यात्रु वाहक सवारीका चालकलाई यसरी बिदाइ गरेका हुन्। उनले त्यसक्रममा करिब ३५ वर्षदेखि सवारी चालकको काम गरी सुरक्षित यात्रा गराउने देशभरका असल चालक मध्येका ७ जना प्रतिनिधि चालकलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेर। खनालले यात्रु र सवारी साधनका चालकहरुलाई फूलमाला लगाई सुरक्षित यात्राको शुभकामनासहित बिदाइ गरेका हुन्। खनालले ट्राफिक व्यवस्थापनका लागि प्रहरी निरन्तर रुपमा खटिएको उल्लेख गर्दै ट्राफिक प्रहरी पोष्ट स्थापना, विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम गरिरहेको बताए। यात्राको समयमा सवारी चालकको सबैभन्दा ठूलो जिम्मेवारी हुने उनले बताए। ‘सवारी साधनमा यात्रा गर्ने यात्रुहरुका लागि चालक नै भगवान् हुन, तपाईंहरुकै हातमा सबै यात्रुहरुको जीवन छ,’ उनले भने। सडकको दुरावस्था, सडक बत्ती लगायत दुर्घटनाका प्रमुख कारणबारे उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सरोकारवाला सबै पक्ष जिम्मेवार भएमा चाडपर्वमा सवारी दुर्घटना हुनै नदिने अवस्था सिर्जना गर्न सकिने बताए। यातायात क्षेत्रका अनियमितता, ठगी लगायतका गलत कार्य गर्नेहरुलाई कुनै छुट नहुने बताउँदै उनले सबै मिलेर राम्रो काम गरेर कारबाही गर्नै नपर्ने अवस्था बनाउन आव्हान गरे।

चर्चामा

सम्बन्धित समाचार