शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानमा भूकम्प : १९ जनाको मृत्यु, ३०० बढी घाइते

पाकिस्तानमा भूकम्प : १९ जनाको मृत्यु, ३०० बढी घाइते

भूकम्पबाट भएको क्षतिप्रति प्रधानमन्त्री इमरान खानद्वारा दुख व्यक्त, भारतमासमेत धक्का

  • मङ्लबार, अशोज ७, २०७६
पाकिस्तानमा भूकम्प : १९ जनाको मृत्यु, ३०० बढी घाइते

इस्लामावाद । उत्तरी पाकिस्तानमा मंगलबार गएको भूकम्पमा परी १९ जनाको मृत्यु भएको छ भने तीन सय बढी घाइते भएका छन् । मंगलबार दिउँसो ४:३१ बजे ६.३ म्याग्नीच्यूडको भूकम्प गएको इन्डियन मेट्रोलोजीकल डिपार्टमेन्टले जनाएको छ ।

भूकम्पमा परी तीन सयभन्‍दा बढी घाइते भएको पाकिस्तानी सञ्‍चारमाध्यम डन डटकमले उल्लेख गरेको छ । पाकिस्तानी सञ्‍चारमाध्यम तथा सामाजिक सञ्‍जालमा सार्वजनिक भएका तस्बिरहरु हेर्दा त्यहाँ घरहरु भत्किएका छन् भने सडकमा चिरा परेको छ ।

भारतको नजिकैको सहर पाकिस्तानको मिरपुरमा बढी क्षति भएको छ । जिल्ला आयुक्त मोहमम्द तायबले १९ जनाको मृत्यु भएको र तीन सयभन्दा बढी घाइते भएको पुष्टि गरेका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको उनले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भूकम्पमा ज्यान गुमाएका प्रति दुख व्यक्त गरेका छन् । उनले पाकिस्तानी सेना प्रमुख कमार जाभेद बजेवालाई तत्काल उद्धारमा खटिन निर्देशन दिएका छन् ।

पाकिस्तानका मेजर जनरल असिफ गफूरले विमानमा औषधीसहित क्षतिग्रस्त क्षेत्रमा सेना परिचालन गरिसकेको बताएका छन् । उनले ट्विटमा लेखेका छन्, “हाम्रो सम्पूर्ण ध्यान उद्धारमा केन्द्रित भएको छ । जहाँ मानिसहरुलाई तत्काल साहयताको खाँचो छ हामी त्यहाँ खटिएका छौं ।”

भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीमा समेत महसुस गरिएको थियो । भूकम्पको धक्का काश्मीर, पञ्‍जाबको चन्डीगढ र उत्तराखण्डको देहरादूनसम्म महसुस गरिएको थियो ।

त्यसैगरी पाकिस्तानको इस्लामावाद, पेसावर, रावलपिन्डी र लाहूरमा भूकम्पको धक्का महसुस गरिएको एनडी टिभिले जनाएको छ ।

पाकिस्तानी सञ्‍चारमाध्यम डनले भने ५.८ म्याग्नीच्यूडको भूकम्प गएको उल्लेख गरेको छ ।

यसअघि सन् २००५ मा पाकिस्तान प्रशासित काश्मीरमा ठूलो भूकम्प गएको थियो । जसमा करिब ८० हजार मानिसले ज्यान गुमाएका थिए ।

साभार बाह्रखरी

चर्चामा

सम्बन्धित समाचार