शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इरानले भारतलाई कच्चा तेल नघटाउने

इरानले भारतलाई कच्चा तेल नघटाउने

  • बुधबार, अशोज १, २०७६
इरानले भारतलाई कच्चा तेल नघटाउने

रियाद : साउदी अरेबिया सरकारले भारतलाई उपलब्ध गराउँदै आएको कच्चा पेट्रोलियम पदार्थ कमी हुन नदिने बताएको छ। हुथी विद्रोहीले साउदी पेट्रोलियम कम्पनीमा आक्रमण गरेपछि तेल उत्पादन आधाभन्दा कम हुने घोषणा गरेका बेला साउदीको यस्तो प्रतिबद्धता आएको हो।

संसारको सबैभन्दा ठूलो पेट्रोलियम कम्पनी अरामको लगायतका कम्पनीमा आक्रमण भएको थियो। साउदीको पेट्रोलियम मन्त्रालयले भारतलाई दिँदै आएको पेट्रोल साविक परिमाणमै उपलब्ध गराउने जनाएको छ। पेट्रोलियम पदार्थ उपभोग गर्ने मुलुकमा भारत विश्वकै सर्वाधिक तेस्रो ठूलो देश हो। अरामको कम्पनीका अधिकारीले भारतीय तेल प्रशोधन कम्पनीलाई पेट्रोलियम पदार्थ आपूर्तिमा कमी हुन नदिने आइतवार नै जानकारी गराएको भारतीय पेट्रोलियम मन्त्रालयले पुष्टि गरेको छ। भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयले भारतीय प्रशोधन कम्पनी र साउदीस्थित अरामको कम्पनीबीच समन्वय गरिरहेको छ। भारतका लागि साउदी सर्वाधिक दोस्रो ठूलो पेट्रोलियम आपूर्तिकर्ता देश हो।

भारतीय केन्द्रीय पेट्रोलियमन्त्री धर्मेन्द्र प्रधानले भने, ‘हामीले भारतीय तेल कम्पनीसँग मिलेर सेप्टेम्बर महिनाको पेट्रोलियम पदार्थ आपूर्तिका बारेमा समीक्षा गरेका छौं। भारतमा पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै कठिनाइ हुनेछैन।’

साउदी कम्पनी अरामकोमा आक्रमण भएपछि कच्चा पेट्रोलियम पदार्थको मूल्य भने बढेको छ। चार महिनायताकै सबैभन्दा महँगो हुन पुगेको छ। अरामको कम्पनी एक्लैले विश्वको पाँच प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ। भारतले आफ्ना लागि आवश्यक कच्चा पेट्रोलियम पदार्थको ८३ प्रतिशत आयात गर्दै आएको छ। भारतले सबैभन्दा बढी पेट्रोलियम पदार्थ इराकबाट ल्याउने गरेको छ। आर्थिक वर्ष सन् २०१८÷१९ मा भारतले साउदीबाट ४ करोड ३ लाख टन कच्चा पेट्रोलियम पदार्थ आयात गरेको थियो। उक्त आर्थिक वर्षमा भारतले २० करोड ७३ लाख टन कच्चा पेट्रोलियम पदार्थ आयात गरेको थियो।

तेलको मूल्य वृद्धि

सोमवार कच्चा पेट्रोलियम पदार्थको मूल्य निकै बढेको छ। १९.५ प्रतिशतले बढेर ७१.९५ डलर प्रतिब्यारेल पुगेको छ। इराकले कुवेतमा आक्रमण गरेपछि सन् १९८८ देखि कच्चा पेट्रोलियम पदार्थ मूल्य बढ्न शुरु गरेको थियो। त्यसपछि अमेरिकी डलरको भाउ बढेकाले भारतमा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको थियो। साउदी अरेबियाले तेल र ग्याँस उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्याँसको मूल्य बढेको हो।

जवाफी आक्रमण गर्ने अमेरिकी धम्की

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरेबियाको पेट्रोलियम कम्पनीमा आक्रमण गर्नेलाई जवाफ दिने चेतावनी दिएका छन्। आइतवार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि यस्तै वक्तव्य दिएका थिए। अमेरिकाले पेट्रोलियम कम्पनी आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाउँदै आएका छन्। इरानले भने आफूले यस्तो आक्रमण नगरेको स्पष्ट पारेको छ। आक्रमणमा इरानसँग निकट मानिएका हुथी विद्रोहीले जिम्मेवारी लिएको छ। अमेरिकाले भने आक्रमणमा जबरजस्ती इरानलाई मुछ्न खोजेको देखिन्छ। राष्ट्रपति ट्रम्पले पेट्रोलियम कम्पनीमा आक्रमण गर्नेविरुद्ध सैन्य आक्रमण गर्ने बताएका छन्। ट्रम्पले भने, ‘साउदी अरेबियाका तेल कम्पनीमा आक्रमण गर्नेलाई कारबाही गर्न अमेरिका पूरै तयार छ। साउदी अरेबियाले संकेत दिनासाथ आक्रमण शुरु गर्नेछौं।’

चर्चामा

सम्बन्धित समाचार