बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • उपचार गराउने बहानामा झाँक्रीले पेटमा प्वाल पारिदिएपछि…

उपचार गराउने बहानामा झाँक्रीले पेटमा प्वाल पारिदिएपछि…

  • बिहिबार, भदौ २६, २०७६
उपचार गराउने बहानामा झाँक्रीले पेटमा प्वाल पारिदिएपछि…

धादिङवेशी : जण्डिसको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका- ३ का एक लामा झाँक्रीले बिरामीको पेटमा प्वाल पारिदिएका छन् । विगत २ महिना अघिदेखि जण्डिस रोगले थलिएका नीलकण्ठ नगरपालिका- ९ झगरेका राजु मगरको शरीरबाट विकार निकालिदिने भन्दै झाँक्री गजबहादुर लामाले पेटमा प्वाल पारिदिएका हुन् ।

झाँक्रीको उपचारले चाँडै जण्डिस रोग निको हुने विश्वासमा पर्दा राजु यतिबेला जीवनमरणको दोसाधमा पुगेका छन् । बोल्न समेत नसक्ने अवस्थामा पुगेका राजुलाई यतिबेला जिल्ला अस्पताल धादिङमा उपचारका लागि ल्याइएको छ ।

‘अस्पतालमा उपचार गराएर घरमै औषधि खुवाइरहेका थियौँ, निको भएकै थिएन, ‘राजुकी श्रीमती विमलाले भनिन्, ‘त्यसपछि झाँक्रीलाई देखाउँदा शरीरमा विकार रहेको र आफूले विकार निकालेर फालिदिने बताएपछि झाँक्रीको विश्वास गर्दा यस्तो घटना हुन पुग्यो ।’

झाँक्रीले शरीरमा भएको विकार निकालिदिन्छु भन्दै बन्द कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका थिए । सुरुमा झाँक्रीले सुइ लगाएको जस्तो गरी केही सामानले घोचेको र पछि ब्लेटले पेट चिरेर त्यही घाउमा मुखले टोकिदिएको कुरा श्रीमानले आफूलाई बताएको विमलाले बताइन् ।

झाँक्रीले पेटमा प्वाल खोपिदिएर अवस्था झनै बिग्रिएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । तर काठमाडौं नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर फिर्ता गरिदिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार