१. प्रेम स्वतन्त्रताको अर्को नाम हो। जुन सम्बन्धमा तपाईंको स्वतन्त्रता नष्ट हुन्छ, त्यो प्रेम होइन।
२. तपाईं कसैसँग दाम्पत्य जीवनमा बाँधिनुभएको छ भने त्यहाँ स्वतन्त्रता हुँदैन। स्वतन्त्र हुन रोमान्टिक र उच्छृंखल हुनुपर्छ तर विवाहले मान्छेको रोमान्टिक चाहनालाई बाँध्छ।
३. विवाह र परिवारजस्ता सम्बन्धसँग म सहमत छैन। यी निजी सम्पत्तिको उदयसँगै आएका संस्था हुन्। तिनको अन्त्यसँगै यिनको पनि अन्त्य हुन्छ। तर त्यसपछि पनि प्रेमको अन्त्य हुँदैन।
४. विवाह र प्रेमबीच कुनै सम्बन्ध नै छैन र हुनु पनि हुँदैन। विवाह सामाजिक करार हो, प्रेम हृदयको व्यापार हो। विवाह–सम्बन्ध त निजी सम्पत्तिसँग छ।
५. प्रेमका सन्दर्भमा मान्छे एकलगामी होइन, स्वभावैले बहुगामी प्राणी हो। बाहिर अरु युवती देख्दा पुरुषको मन चञ्चल हुन्छ। घरकी श्रीमतीले थाहा पाउँछे कि भनेर मात्रै ऊ डराउँछ। महिलाको मन पनि त्यस्तै हो।
६. प्रेमिकालाई जे मन पर्छ, त्यो उपलब्ध गराइदिंदा मलाई खुशी लाग्छ। मान्छेहरू प्रेमिकालाई आफ्ना गाइवस्तु, भेडाबाख्रा वा गाडीजस्तो ठान्छन्। मेरा लागि प्रेमिका वा पत्नी सम्पत्ति वा वस्तु होइनन्, छुट्टै व्यक्ति हुन्।
७. विवाहको आदर्श राम हुन्, प्रेमको आदर्श कृष्ण। राम रुन्चे छन्, कृष्ण प्रफुल्ल। अहिलेसम्म आदर्श प्रेमी भनिएका लैला– मजनु, रोमियो–जुलियट, राम–सीता सबैको तत्कालीन सामाजिक बन्धनमा बाँधिएको अन्तरकथा छ तर राधाकृष्णमा त्यस्तो कुनै बन्धन थिएन।
८. राधा–कृष्णको वियोग पनि स्वेच्छाको थियो। स्वेच्छाले उनीहरू आ– आफ्नो बाटो लागे, कसैले रोकेन। प्रेममा दैहिक उपस्थिति वा अनुपस्थिति अर्थहीन हुन्छ। ज्यान छुट्टिएर बस्दा पनि नछुट्टिने प्रेम नै महान् प्रेम हो। प्रेमको त्यो दैवीय स्वरुप कृष्णमा नै छ।
९. प्रेम स्त्री–पुरुष सम्बन्ध मात्रै हैन। प्रेम त्यस्तो विन्दू हो, जसको कुनै लम्बाइ– चौडाइ नाप्न सकिन्न। प्रेम र जीवनको अर्थ अलगअलग हुँदैन, प्रेमलाई पूर्णतामा बाँध्नु जीवनलाई पूर्णतामा बाँध्नु हो भने जीवनलाई पूर्णतामा बाँध्नु प्रेमलाई पूर्णतामा बाँध्नु।
१०. प्रेममा परेर घरबार छाड्ने, विद्रोह गर्ने वा विवाह नै नगर्ने महिलाहरू अत्यन्तै उदार चरित्रका हुन्छन्। सच्चा प्रेमी विद्रोही हुन्छ।
११. समाजले चरित्रहीन वा विपथगामी भनेका महिला वा पुरुषमा मैले महान् आत्माको दर्शन गरेको छु। प्रेममा लाञ्छित सबै पात्रमा महान् गुणहरू हुन्छन्।
१२. समाज बदल्न हिंडेकाहरू समाजलाई नै प्रेम गर्छन्। संसारका सच्चा क्रान्तिकारीहरू सच्चा प्रेमीहरू हुन्।
१३. प्रेममा पुरुषभन्दा महिला बढी प्रफुल्लित हुन्छन्। प्रेममा परेपछि प्रत्येक पुरुष डराउन थाल्छ, स्त्री चाहिं बलवान र निडर हुन थाल्छे। पुरुष तर्सन थाल्छ, स्त्री खतरा मोल्न तयार हुन्छे। प्रेम हुनासाथ पुरुषमा स्त्रीका र स्त्रीमा पुरुषका गुण तथा स्वभाव साटिन थाल्छन्। प्रेम गर्ने अधिकांश महिलाहरूले साहसिक निर्णय गरेका छन्।
१४. हुर्कंदै गर्दा केही थाहा हुन्छ भने त्यो सेक्स हो। आफै केही हुन्छ भने त्यो वासना हो। तर प्रेम आफै हुँदैन। प्रेम भनेको व्यक्तिको वास्तविकताबाट उठेर व्यक्तित्वमा हुने रूपान्तरण हो।
१५. प्रेममय मान्छे कस्तो हुन्छ भन्न गाह्रो छ। तर प्रेमविहीन मान्छे कस्तो हुन्छ, चिन्न सजिलो छ। किनकि क्रोधित, आक्रोशित मान्छे परैबाट चिनिन्छ।
विभिन्न श्रोतहरुबाट