• होमपेज
  • देश
  • ढाँड खोलाको बाढीले कर्णाली राजमार्ग अवरुद्ध

ढाँड खोलाको बाढीले कर्णाली राजमार्ग अवरुद्ध

  • आइतवार, भदौ २२, २०७६
ढाँड खोलाको बाढीले कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट : ढाँड खोलामा आएको बाढीका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ। गएरातिको अविरल वर्षासँगै कर्णाली राजमार्गको टाकुल्लास्थित ढाँड खोलामा आएको बाढीले राजमार्ग बगाएपछि शुक्रबार रातिदेखी कर्णाली राजमार्ग अवरुद्ध भएको हो।

भदौ १० गते ढाँडखोलामा आएको भीषण पहिरोले दुई दिनसम्म राजमार्ग अवरुद्ध हुनुका साथै तिलागुफा नगरपालिका ७ का २५ परिवारहरू विस्थापित भएका थिए। उक्त खोलामा शुक्रबार राति आएको बाढीले टाकुल्लास्थित राजमार्ग बगाएपछि यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक यक्षराज जोसीले बताए।

उनका अनुसार राजमार्ग खुलाउनका लागि कालिकोट सदरमुकाम मान्मबाट एउटा डोजर र जुम्लाबाट डिभिजन सडक कार्यालयको डोजर टाकुल्लातिर पठाइएको छ। उक्त डोजरहरू घटना स्थल पुगेर सडक निर्माण गरेपछि यातायात सेवा सुचारु हुनेछ। अहिले जुम्ला, मुगु देखी सुर्खेत नेपालगञ्ज जाने सवारी साधन तथा सुर्खेत नेपालगञ्जबाट जुम्ला मुगुतिर जाने सवारी साधनहरू टाकुल्लाको ढाँडखोला आसपासका सडकहरूमा रोकिएका छन्।

वर्षायाम लागेसँगै वर्षेनी कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ। सामान्य वर्षा हुँदा पनि विभिन्न ठाउँमा बाढी पहिरो खस्ने र राजमार्ग अवरुद्ध हुने समस्याले यात्रुहरूले निकै सास्ती खेप्दै आएका छन्। सडक अवरुद्ध हुने समस्याकै कारण कर्णालीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन घट्ने गरेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले वर्षायाममा निकै जोखिमपूर्ण यात्रा हुने कर्णाली राजमार्गमा यस वर्ष लामो समय राजमार्ग अवरुद्ध नभएको बताए। उनले वर्षेनी वर्षायाममा हप्तौँसम्म अवरुद्ध हुने कर्णाली राजमार्ग यो वर्ष लगातार ५ दिनसम्म पनि अवरुद्ध नभएको बताए।

चर्चामा

सम्बन्धित समाचार