काठमाडौँ । कुनै समय ‘प्याकेटको आयोडिनयुक्त नुन खाऔँ, गलगाँड हुनबाट बचौँ’ भन्ने अभियान नै सञ्चालन गरिएको थियो । विद्यालय–विद्यालयमा आयोडिनयुक्त नुन चिन्ने तरिका र त्यसले स्वास्थ्यमा पु-याउने फाइदा बारेमा जानकारी गराइन्थ्यो । तर अहिले थाइराइडको बिरामी बढ्दै गएकाले यसमा नुनमा भएको आयोडिनको पनि भूमिका छैन भन्ने विषयमा चिकित्सकहरु सोच्न बाध्य भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले सामान्यतया कुनै पनि देश वा स्थानको आयोडिनको पोषणस्थिति थाहा पाउन विद्यालय जाने बालबालिकाकोे पिसाबमा आयोडिनको मात्रा जाँच गर्नुपर्ने हुन्छ । यसरी जाँच गर्दा १०० माइक्रोग्राम प्रतिलिटरभन्दा कम भएमा आयोडिनको कमी, १०० देखि १९९ माइक्रोग्राम प्रतिलिटर भएमा पर्याप्त, २०० देखि २९९ माइक्रोग्राम प्रतिलिटर भएमा अलि बढी र ३०० भन्दा माथि भएमा अत्यधिक भनी मूल्याङ्कन गरिएको छ । सन् २००७ मा गरिएको सरकारी तथ्याङ्कले बालबालिकाको पिसाबमा आयोडिनको मात्रा २०२ माइक्रो ग्राम प्रतिलिटर भएको देखायो । यो मात्र विश्व स्वास्थ्य सङ्गठनको मूल्याङ्कनअनुसार अलि धेरै हो ।
शरीरमा आयोडिनको कमी भएमा थाइराइड ग्रन्थि ठूलो भई गलगाँड आउने हुन्छ । साथै थाइराइड हर्मोन कम हुन गई हाइपोथाइराइडिजम हुन्छ । गर्भावस्थामा आयोडिनको कमी भएमा सुस्त मनस्थितिका बालबालिका जन्मने जस्ता समस्या आउँछन् । तर आयोडिनको मात्रा बढी भएमा पनि त्यसले थाइराइडको अटोइम्मुनिटीलाई बढाई हाइपो थाइराइडिजम हुन्छ । अटोइम्मुनिटीले थाइराइडका कोसिकाहरुलाई मारेर थाइराइड हर्मोन कम बन्ने हुन्छ । गलगाँड आउने र हाइपर थाइराइडिजम (आयोडिन धेरै हुँदा थाइराइड हर्मोन धेरै बन्ने) गराउँछ भने थाइराइडले क्यान्सरको प्रकोप पनि बढाउँछ । नेपालमा पनि ६ देखि ९ वर्षका बालबालिका, गर्भवती तथा वयस्क महिलामा पनि आयोडिनको मात्रा अन्य व्यक्तिभन्दा अलि बढी देखिएको छ ।