• होमपेज
  • समाज
  • तीज महिमा र दर संस्कृति

तीज महिमा र दर संस्कृति

  • सोमवार, भदौ १६, २०७६
तीज महिमा र दर संस्कृति

राधा चालिसे

हिन्दु महिलाहरूले निकै उत्साहको साथ मनाउने तीज पर्व आइसकेको छ । भाद्र शुक्ल तृतीयाको दिन मनाइने यो वर्षमा विशेषगरी आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरिन्छ । यो पर्वलाई हरितालिकाको नामले समेत बुझिन्छ । पुराणहरूमा गरिएको व्याख्या अनुुुसार, पार्वतीका पिता हिमालय पर्वतले पार्वतीको विवाह भगवान् विष्णुसँग गर्न चाहेको तर स्वयम् पार्वती भने शिवलाई पतिका रूपमा चाहन्थिन् । उनको यो चाहना बुझेर सखीहरूले उनलाई दरबारबाट भगाएर लैजान्छन् । उनीहरू कसैले नदेख्ने स्थानमा गएर शिवको ध्यान तपस्या गरेर बस्छन् । पार्वतीको निरन्तरको एकचित्तको भक्तिबाट प्रभावित भएर स्वयम् शिव भगवान् प्रकट भएर इच्छित वर दिएको दिनको स्मरणमा नै तीज पर्व मनाइन्छ । पार्वतीले धेरै दिन अन्नपानी त्यागेर एकचित्त र भक्तिले शिवको आराधना गर्दा अघिल्लो रात दूध र केराको सेवन गरेको चर्चा पनि पुराणहरूमा गरेको पाइन्छ । यही प्रसङ्गले ‘दर खाने’ प्रचलन समाजमा चलेको हो भनिन्छ ।
अहिले पनि अविवाहितहरूले आफूले चाहेको वर प्राप्तिको उद्देश्य र विवाहितहरूले आफ्ना पतिको दीर्घायु र पारिवारिक सुख–शान्तिका लागि भाद्रशुक्ल तृतीयाको दिन सकेसम्म निर्जल र निराहार व्रत बस्ने परम्परा कायम छ । त्यस्तै व्रतको अघिल्लो दिन राति अबेरसम्म आफ्ना दिदीबहिनी र साथीसँगीसँग बसेर विभिन्न परिकार बनाएर दर खाने चलनले व्यापकता पाएको छ ।
त्यस्तै, व्रतको भोलिपल्ट गणेश चौथी मनाइने प्रचलन पनि हिन्दु समाजमा चलेको छ । त्यसको भोलिपल्ट भने पञ्चमीको ऋषिपञ्चमीको व्रत बस्ने परम्परा रहेको छ । यो दिन सबेरै नजिकैको पवित्र जलाशयमा गएर महिलाले आफ्ना सबै अङ्गप्रत्यङ्गको विशेष सरसफाइ गर्ने चलन रहेको छ । यो समयमा स्नान गर्दा गाईको गोबर, तुलसीको मठको माटो, हात्तीको पाइला परेको माटोको प्रयोग गर्ने चलन विगतमा रहेको थियो । स्नान गर्दा महिलाले आफ्ना हरेक अङ्गलाई ३६५ पटक धुनु वा पखाल्नुपर्छ भन्ने परम्परा थियो । स्थानको अन्तिममा ३६५ वटा दत्तिउनले दाँत माझ्ने र त्यसको पातलाई तामाको भाँडामा हालेर जलाधार बनाउने परम्परा पनि रहेको छ । माथि उल्लिखित सबै वस्तुमा आयुर्वेदिक औषधीय गुण हुने भएकाले सायद यस्तो परम्परा चलेको हुनुपर्छ । यद्यपि अहिले त्यस्तो परम्परा प्रायः लोप हुने अवस्थामा पुगिसकेको छ ।
विधिपूर्वक स्नान गरिसकेपछि यो दिन महिलाहरू समूहमा मिलेर अरुन्धतीसहित सप्तऋषिको पूजा–अर्चना गर्ने परम्परा छ । सप्तऋषिमा कश्यप, जमदग्नि, गौतम, वशिष्ठ, भारद्वाज, विश्वामित्र, अत्रि ऋषिको पूजा गरिन्छ । यी ऋषिहरूलाई सात लोकको प्रतीक पनि मान्ने गरिन्छ । हरेक मानवले जन्मसँगै देव ऋण, पितृ ऋण र ऋषि ऋण लिएर जन्मेको हुन्छ । मानव चोलामा रहँदा ती ऋणबाट मुक्त हुनुपर्छ भन्ने धार्मिक मान्यता पनि रहेको पाइन्छ । गृहस्थाश्रममा रहँदा विभिन्न धार्मिक कार्य र अनुष्ठान गरेर देव ऋण चुक्ता गर्न सकिन्छ भने श्राद्धलगायतको पितृकार्य गरेर पितृ ऋण चुक्ता गर्न सकिन्छ । ऋषि ऋण पनि हामीले उनीहरूको विशेष पूजा आराधना गरेर चुक्ता गर्नका लागि पनि पूजा आराधना गर्ने गरिन्छ । विशेषगरी हिन्दु महिलाले रजस्वला हुँदाको बखतमा जानेर अथवा नजानेर गरेका छोइछिटोका दोष निवारणका लागि सप्तऋषिको पूजा गर्नुपर्ने मान्यता समाजमा रहेको ज्योतिषी पण्डित बालचन्द्र अधिकारीको भनाइ छ ।

सामाजिक मान्यता
एकतिर तीजको धार्मिक महत्व ठूलो रहेको छ भने अर्कोतिर यसको सामाजिक मान्यता पनि उत्तिकै पाइन्छ । बिहे गरेर गएका महिलाहरू माइतीघरमा आएर विछोडिएका दिदीबहिनी, साथीसँगीसँग बसेर यो पर्व मनाउने गरेको पाइन्छ । यसले माइतीसँगको छोरीचेलीको सम्बन्ध र माइतीले छोरीचेलीलाई खुसी राख्ने पर्वका रूपमा लिन्छ । यसले दिदीबहिनी, दाजुबहिनी वा दिदीभाइबीचको पारम्परिक सम्बन्ध, मायाप्रेम, अधिकार र दायित्वको बन्धनलाई पनि कसिलो बनाउने देखिन्छ । त्यसैले त यो पर्वमा विवाहित छोरीचेलीलाई माइतीले सम्झे–नसम्झेकोमा ठूलो चासो हुन्छ । महिलाहरू वर्षैभरि यो दिनको प्रतीक्षामा रहेका हुन्छन् ।
महिलाले विवाहअघि बाबु वा दाजुभाइको अधिनमा, विवाहपछि श्रीमान् वा सासूससुराको अधिनमा र बुढेसकालमा छोराछोरीको अधिनमा बसेर जीवन व्यतीत गर्नुपर्ने परिस्थिति थियो । त्यतिबेला वर्षको एक दिन माइतीको घरमा जाने, दिदीबहिनीसँग आफ्ना दुःख–सुख साट्ने, मनका पीरव्यथा गीतको भाकामा अभिव्यक्त गरेर रमाउने पुरानो प्रचलन नै हो ।

बदलिँदो परिवेशमा तीज
तीजको धार्मिक र सामाजिक महत्व एकातिर भए पनि बदलिँदो परिवेशमा तीजलाई अलि फरक ढङ्गले मनाउन थालिएको छ । यसको धार्मिक महत्वमा खासै कमी आएको छैन तर सामाजिक मान्यता भने अलि फराकिलो हुन थालेको छ । विगतमा तीजको अघिल्लो दिनमात्र आफ्नो घरपरिवारका सीमित व्यक्ति बसेर ‘दर खाने’ परम्परामा परिवर्तन आएको छ । महिलाहरू घरमा मात्र सीमित नभई बाहिर पनि कामकाजी हुन थालेपछि आर्थिक रूपमा सबल हुँदै आएका छन् । उनीहरूको सामाजिक सम्बन्ध फराकिलो भएको छ । यही फरकिलो भएको सम्बन्धलाई अझ आत्मीय र प्रगाढ बनाउनका लागि पनि उनीहरूले तीजजस्तो अवसरको उपयोग गर्दै केही दिन अघिदेखि नै सामूहिक खानपान र नाचगानमा रमाउने गरेको पाइन्छ । यसलाई महिलाको स्वतन्त्र र उन्मुक्तिका रूपमा लिने गरिएको छ । विभिन्न सङ्घ–संस्था र समूहमा आबद्ध भएका महिलाले अलिकति खुलेर नाचगानमा रमाउन थालेको विषयलाई लिएर पछिल्ला वर्षहरूका निकै आलोचना पनि हुने गरेको छ । महिलालाई महिना दिन अघिदेखि तीज लाग्छ । दर खाने निहुँमा हप्तैदेखि नाचगानमा व्यस्त रहन्छन् भन्ने तीतो आलोचना र टिप्पणी हुने गरेको छ । यस्तो सामाजिक आलोचना र टिप्पणीकै आधारमा पनि सरकारले तडकभडक नगर्न भन्दै प्रतिबन्ध लगाउने प्रयास गरेको देखिन्छ ।
सडकमा हाँसीखुसी हिँडेका महिलाको जमात देख्दैमा तीज भड्किलो भयो भनेर चिन्ता व्यक्त गरिहाल्नु आवश्यक छैन । विगतमा हामीले कहिल्यै नमनाएका अङ्ग्रेजी नयाँ वर्ष, क्रिसमसजस्ता चाडबाड पनि त फरक ढङ्गले मनाउन थालिसकेका छौँ । दसैँ–तिहार पनि पहिलेकै शैलीमा मनाउन छोडिसकेको देखिन्छ ।
अहिलेका महिला घरबाट बाहिर निस्किन थालेका छन् । कामकाजी भएका छन् । आर्थिक रूपमा आफैँ सक्षम हुन थालेका छन् । उनीहरूको सामाजिक, व्यावसायिक, पेसागत सम्बन्धहरू विस्तार भएका छन् । उनीहरू यो सम्बन्धलाई अझ सुदृढ बनाउन चाहन्छन् । काम गर्दाका आफ्ना थकान भुलेर नयाँ ऊर्जा थप्न चाहन्छन् । तीजजस्ता चाडपर्वमा शुभकामना बाँड्ने निहुँ होस् वा दसैँ–तिहारजस्ता पर्वको अवसरमा होस् उनीहरूले जमघटको वातावरण बनाउन थालेका छन् ।

तीज र गीत–सङ्गीत
तीज भन्नेबित्तिकै गीत–सङ्गीतको कुरा पनि आउँछ । विगतमा महिलाले पाउजेप र चप तथा मादलको धुनमा नै आफ्ना पारिवारिक दुःख–सुखलाई गीतका रूपमा अभिव्यक्त गरेर मन हलुको बनाउँथे । पछिल्लो समयमा सञ्चारमाध्यममा भएको विकास र विस्तारले तीजका गीतमा निकै ठूलो परिवर्तन आएको छ । प्रविधि र आधुनिक प्रवृत्तिका क्षणिक रमाइलोका लागि गीत–सङ्गीत बनेका छन् । उन्मुक्तिको नाममा केही छाडापनले पनि स्थान पाउन थालेकोले बढी आलोचित भएको हो । तीजका सन्दर्भमा गीत–सङ्गीतको बजार हामीले कल्पना गरेभन्दा निकै फराकिलो भएको छ । विगतमा हिन्दु महिलाभित्र पनि विशेषगरी ब्राह्मण र क्षेत्रीय परिवारका महिलाले मात्रै मनाउने तीज अहिले समाज समावेशी भएसँगै सबै जातजातिका महिलाले उत्तिकै उत्साहका साथ मनाउन थालेका छन् । यसरी हुने साँस्कृतिक रूपान्तरणका लागि सञ्चारमाध्यमको भूमिका महŒवपूर्ण साबित भएको छ ।

तीजको अर्थतन्त्र
तीजको सन्दर्भमा महिलामाथि तीतो टिप्पणी हुनुको प्रमुख कारण तडकभडकपूर्ण भयो, देखासिकीले अनावश्यक खर्च गर्ने प्रवृत्ति बढ्यो भन्नेमा समाजले चिन्ता व्यक्त गरेको पाइन्छ । विगतमा बाबुले किनिदिएको शिरफूल र सासूले दिएको चुरा–टीकामा रमाउने छोरी–बुहारी अहिले त्योभन्दा अलि बढी खोज्ने भएका छन् । खुला अर्थतन्त्रका कारण सिर्जना भएको बजारको प्रमुख उपभोक्ता महिला हुन् । आफू आर्थिक रूपमा सक्षम भइसकेपछि आफ्ना साना–ठूला इच्छा–आकाङ्क्षा आफैँ पूरा गर्न खोजेका हुन्छन् । पछिल्लो दशकमा देखिने तीजको खर्च भनेको सक्नेले सक्कली सुन, नसक्नेले नक्कली नै भए पनि सुनजस्तै गरगहनामा खर्चिने हो । सुन खरिद गर्नुलाई खर्चभन्दा पनि सम्पत्ति जोडेका रूपमा लिइने गरिएको छ । यद्यपि यो वर्ष सुनमा भएको अधिक मूल्यवृद्धिका कारण बजारमा सुन खरिद गर्ने उत्साह नदेखिएको सुन व्यवसायीहरूले बताउँदै आएका छन् ।
भन्सार विभागको तथ्याङ्क अनुसार आ.व. २०७५÷७६ मा नेपालमा करिब ३२ करोड रूपियाँबराबरको टीका, चुरा र पोतेको आयात भएको देखिन्छ । अघिल्लो आवमा करिब २८ करोडबराबरको आयात भएको भन्सार तथ्याङ्कले देखाउँछ । यस्ता सामग्रीमा हरेक वर्ष भन्सार कर भने बढ्दै आएको छ । त्यसबाहेक केही शृङ्गारका सामग्री र एकाध जोर लुगा किनिने हो । त्यसबाहेक साथीसङ्गी र केही आफन्तलाई दिइने सामान्य उपहारको बढ्दो प्रचलनको आलोचना हुने गरेको छ । यो कुनै बाध्यकारी चलन भने होइन ।
समाजले यो कुरा पनि बिर्सन हुँदैन कि पैसा खर्च गर्ने मामिलामा पुरुषको तुलनामा महिला अलि किफायती नै हुन्छन् । उनीहरू आफैँले कमाएका रकम पनि खर्चिन पर्दा धेरै सोच विचार गर्छन् । आफ्नो कमाइ नहुने र श्रीमान्कै भर पर्ने महिलाले पनि हातमा परेको रकम धेरै सोचविचार गरेरैमात्रै खर्च गर्छन् । आफ्नोभन्दा पहिले केटाकेटीको आवश्यकता पूरा गरेरमात्र आफ्ना लागि खर्चिन्छन् । वर्ष दिनभरि १५ देखि १८ घण्टासम्म ‘विनाज्यालाको कामदार’ भएर घरधन्दा गर्ने महिलाले पाइपाई जोगाएर राखेको रकम तीजमा खर्चिदा उनलाई जुन सन्तुष्टि मिल्छ, त्यसले वर्षैभरिलाई पुग्ने खुसी प्राप्त भएको हुन्छ ।
समाजको आलोचनाको अर्को कारण पनि छ– होटल र पार्टी प्यालेसमा तीज मनाउन थालियो भन्ने । हो, हरेक कुरामा बजारीकरण हुँदै आएको छ । एउटा परिवारमा दुई÷चार दिदीबहिनी, भाउजू, नन्दआमाजू बसेर मनाउँदा ठीकै थियो । तर अबका महिला विभिन्न समूहमा आबद्ध छन् । कामकाजी भएका छन् । ती सबैमा आफ्नोपना देखेर सामूहिक रूपमा तीजको निहुँमा जमघट गर्न चाहन्छन् । केही मीठोमसिनो खान चाहन्छन् । त्यस्ता कार्यक्रम घरमा गर्न समय र स्थानको पनि अभाव हुन्छ । सामूहिक रूपमा रकम उठाएर सबैलाई पायक पारेर कुनै होटल वा पार्टी प्यालेसमा गर्दैमा के बिग्रिन्छ ? अहिले उपत्यकामा चलेका पार्टी प्यालेसमा मनाएका तीजलाई हेर्दा पनि महिलाले न्यूनतम तीन सयदेखि दुई हजारसम्म मात्रै खर्चेको पाइन्छ ।
दिनहुँ एक समूह वा महिला पार्टी प्यालेस र होटलमा झुमिरहन्छन् भन्ने पक्कै होइन । केही महिला एकाधपटक पुग्लान् । यस्ता कार्यले पनि अर्थतन्त्रलाई चलायमान बनाएको हुन्छ । चलायमान अर्थतन्त्र समाजका लागि खासै ठूलो नोक्सानीको विषय होइन । महिलाले केही न केही सीप सिकेका छन् । स–साना उद्यममा लगेका छन् । त्यस्तो सीपबाट उत्पादित वस्तु विक्री–वितरण गर्ने अवसर पनि तीजको जमघट उपयुक्त हुन सक्छ । यहाँ देखासिकी र होडबाजी बढेको टिप्पणी पनि हुने गरेको छ । विभिन्न अध्ययनले के देखाउँछ भने पुरुषको तुलनामा महिला आफ्नो हातमा भएको रकम खर्च गर्न दसपटक सोच्ने गर्दछन् । हातमा रकम परेको छ भन्दैमा उनीहरू जथाभावी खर्च गर्न सक्दैनन् । एकाध महिलाको स्वभावलाई लिएर समग्रमा टिप्पणी गर्नु जायज होइन ।

चर्चामा

सम्बन्धित समाचार