• होमपेज
  • प्रदेश ७
  • पहिरोले एक घर भत्कियो, दर्जन घर जोखिममा

पहिरोले एक घर भत्कियो, दर्जन घर जोखिममा

  • शुक्रबार, साउन ३१, २०७६
पहिरोले एक घर भत्कियो, दर्जन घर जोखिममा

बैतडी,३१ साउन –
लगातारको बर्षाले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ८ ओसैलमा एकजनाको घर भत्किएको छ । बर्षातका कारण स्थानीय शमशेर बिष्टको घर गएराती भत्किएको वडा अध्यक्ष भक्तबहादुर बिष्टले जानकारी दिनुभयो । बर्षातका कारण चर्किन थालेको घर छोडेर तीनचार दिन अघि नै परिवार अन्यत्र सरेकाले मानवीय क्षति भएन् । मानवीय क्षति नभएपनि घरभित्रको अन्नपात सबै नष्ट भएको वडा अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।
दोगडाकेदार गाउँपालिका वडा नं ८ ओसैलमा ४ घर पहिरोको जोखिममा परेका छन् । ढिकगाड—मानलेक —गोरङ सडकका कारण स्थानीय डम्मर बिष्ट, विजय बिष्ट,हर्कबहादुर बिष्ट र धनबहादुर बिष्टको घर जोखिममा परेका हुन् । यस्तै सोही वडाको पितरकाँडा टोलमा पहिरोको जोखिम बढेको स्थानीय नरेन्द्र बिष्टले जानकारी दिनुभयो । घरतलतिरबाट काटिएको सडकमा पहिरो खसेपछि पहिरोले घर बगाउने चिन्ता बढेको स्थानीयहरुले बताएका छन् । जिल्लाका सबै ठाउँका कच्ची सडकले पहिरोको जोखिम बढाएको छ ।
यस्तै पुुरचौंडी नगरपालिका वडा नं १ को सीम बस्ती पहिरोको जोखिममा परेको छ । हाट–गण्न्ना सडकका कारण बस्ती नै पहिरोको जोेखिममा परेको स्थानीय जरी लुहारले बताउनुभयो । बस्ती माथिबाट काटिएको सडकबाट पहिरो खसेकाले बस्ती जोखिममा परेको उहाँले बताउनुभयो । सो ठाउँका १० घर पहिरोको जोखिममा परेका छन् । सडकमा नाली नकाटिएका कारण सडकबाट पहिरो खसेको हाम्रा सम्वाददाता अनिरुद्र जोशीले जानकारी दिनुभयो । नगरपालिकाको ५० लाखको लगानिमा निर्माण गरिएको सडकले गाउँघरमा क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । सडकको ट्रयाक मात्रै खोलिएकाले सडकबाट आएको भेलले खेतबारीमा समेत क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् ।
यसैबिच सुर्नया गाउँपालिका २ सतबाँझमा पहिरोका कारण स्थानीय लक्ष्मी भट्टको पसल जोखिममा परेको छ । पसलमाथिबाट पहिरो खस्न थालेपछि भट्ट परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । यस्तै चमेलिया जलविद्युतको प्रशारण लाइनको पोल पनि पहिरोकोे जोखिममा परेकाले त्यसलाई जोगाउन प्लास्टिक छ्यापरे पानी तार्ने कार्य भएको उहाँले बताउनुभयो । पोल नै पहिरोको जोखिममा परेपछि आज निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी लगायतको टोलीले सो ठाउँको अनुगमन समेत गरेको छ । अनुगमन गर्दा पोल पहिरोको जोखिममा परेकाले भरसक जोगाउने पहल भईरहेको प्रहरीले जनाएको छ । भिरालो जमीनमा डोजर लगाएर घर कटान गर्दा पहिरो खसेको हो । रेडियो निगङलासैनी

चर्चामा

सम्बन्धित समाचार