काठमाडौं । हाम्रो घर वरपर पाइने पाती अर्थात् तितेपातीलाई धार्मिक रुपमापनि विशेष मान्ने गरिन्छ । हरेक पुजापाठहरुमा यसलाई धुप बनाएर सल्काउने चलन पनि छ । यति मात्र हैन यसमा अपार औषधीय गुण हुने तथ्य प्रमाणित भइसकेको छ ।
यो नेपालीहरुका लागि आम्दानीको स्रोत बन्न सक्छ । तर अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन । समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत तितेपाती सर्लक्क फैलन्छ ।
फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आर्ट्मििसिया भल्ग्यारिस हो । नेपालमा भने भूगोलअनुसार करिब छ प्रजातिका तितेपाती पाइन्छन् । गत वर्ष गाउँका स्थानीय मिलेर समृद्धिपथ एग्रो कम्पनी स्थापना गरे ।
कम्पनीका अध्यक्ष अग्नि राई भन्छन्, ‘परीक्षण सफल भएपछि तेल आउँदो रहेछ भनेर थाहा पायौँ, गत वर्ष करिब ४५ केजी तेल निकाल्न सफल भयौँ ।’ अध्यक्ष राईका अनुसार तितेपातीको तेल पानीभन्दा हलुका हुन्छ । एक हजार मिलिलिटर पानीको एक केजी हुँदा तितेपातीको तेल भने एक हजार दुई सय मिलिलिटरको एक केजी हुन्छ ।
आसपासका गाउँमा यसअघि नै भएको परीक्षण असफल बनेको उनले थाहा पाएको थियो । मेसिन बनाएर तितेपातीको तेल निकाल्न सफल भएको उनले बताए । गुणस्तर परीक्षणका लागि जडीबुटी विभागमा पठाएपछि स्थानीय उत्पादक अहिले बजारको खोजीमा छन् ।
सोही क्रममा काठमाडौँमा भएको जडीबुटी प्रदर्शनीमा पनि तितेपातीको तेल बजार खोज्न आइपुगेको थियो । उनले भने, ’नेपालसँग विभिन्न देशले धेरै पहिले तितेपातीको तेलको माग गरेका रहेछन् तर दिन नसकेपछि त्यो माग अन्तै देशमा पुग्यो ।’
तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू औँल्याउँछन् । त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग भइरहेको बताऐ ।
उनका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छाड्दा कीरा भाग्ने गर्छन् । तितेपातीमा भएको लामो अनुसन्धानपछि परम्परागत औषधिबाट मलेरिया निको पार्न सकिने खोजमा चीनले सफलता पाइसकेको छ ।
जसका कारण सन् २०१५ को फिजियोलोजी अर्थात् औषधितर्फको नोबेल पुरस्कार चीनले प्राप्त गर्यो । नेपालमा पनि यदी हामीले सोच्न सक्ने हो ठुलो लाभ लिन सक्ने जानकारहरु बताउँछन् ।