
पोखरा : क्यानडाली नागरिक ज्याकोब स्मिथ गत शुक्रबार लेकसाइडमा राति साढे १० बजेतिर भेटिएका थिए। उनी आक्रोशित देखिन्थे। साथीहरूको सिफारिसमा पहिलो पटक पोखरा घुम्न आइपुगेका थिए उनी, १०–१२ दिनअघि।
राति १० बजेतिर एउटा रेस्टुरेन्टमा नेपाली खाना खान पुगेका थिए, ज्याकोब। उनीसँग पोखरामै भेट भएकी हङकङकी वङ पनि थिइन्। उनीहरू लोकल कुखुराको झोलसँग भात खाइरहेका थिए। स्वाद लिएर खाना खाइरहेकै बेला प्रहरीको एउटा टोली सिटी फुक्दै रेस्टुरेन्ट बन्द गर्न आइपुग्यो। रेस्टुरेन्ट मालिकले अनुरोध गरेपछि ज्याकोब र वङ खाना आधाअधुरै छोडेर बाहिरिएका थिए।
ज्याकोबजस्ता सयौँ पर्यटकले राति पोखरामा कहिलेकाहीँ यस्तै असहज र अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्छ।
तत्कालीन गृहमन्त्री जनार्दन शर्माले २०७४ साल असार १३ गते ‘गृह प्रशासन सुधार मार्गचित्र–२०७४’ सार्वजनिक गर्दै घोषणा गरेका थिए, ‘पोखरा र काठमाडौँका महत्वपूर्ण पर्यटकीय क्षेत्र चौबीसै घण्टा खुला हुनेछन्। त्यसका लागि सरकारले आवश्यक सुरक्षाको व्यवस्था गर्नेछ।’
गृह मन्त्रालयको ८२ बुँदे मार्गचित्रकोे बुँदा नम्बर २५ मा काठमाडौँको ठमेल, दरबारमार्ग र पोखराको लेकसाइड चौबीसै घण्टा खुला रहने गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउने उल्लेख गरिएको थियो। पर्यटकको चाप हुने ठाउँमा चौबीसै घण्टा सेवा दिन पाउनुपर्ने माग राख्दै आएका पर्यटन व्यवसायी सरकारले त्यस्तो प्रकारको नीति ल्याउँदा अत्यन्तै खुशी भए।
प्रमुख पर्यटकीय क्षेत्र चौबीसै घण्टा खुला गर्ने घोषणा भएको १० महिनापछि गृह मन्त्रालयले फेरि पुरानै मार्गचित्रको २५ औँ नम्बरको बुँदासहितको नीति सार्वजनिक गर्यो। नयाँ गृहमन्त्री रामबहादुर थापाले अधिकांश पहिलेकै बुँदा दोहोर्याउँदै दोस्रो पटक ०७४ चैत १९ गते ‘गृह प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गरेका थिए।
एउटै किसिमको नीति पटक–पटक घोषणा हुँदा पनि त्यसले व्यवहारमा पर्यटन व्यवसायीलाई खुशी भने दिएको छैन। होटल तथा रेस्टुरेन्ट चौबीसै घण्टा खुला हुने घोषणा भइसकेपछि पनि राति ११ नबज्दै प्रहरी लेकसाइडका होटल, रेस्टुरेन्ट र पसलहरूमा सिठी फुक्दै आउने क्रम रोकिएको छैन। विदेशी पर्यटकको चाहनाअनुरूप सेवा दिन नपाउँदा नकारात्मक सन्देश गइरहेको पोखरा लेकसाइडका पर्यटन व्यवसायीको गुनासो छ।
केही समयअघि पोखरामा भएको एउटा कार्यक्रममा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराका महासचिव गणेशबहादुर थापाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष प्रहरीले राति अबेरसम्म रेस्टुरेन्ट खोल्न नदिएको गुनासो गरेका थिए। ‘बाहिरबाट आउने पर्यटक १० नबज्दै पोखरा आइपुग्छन् र खाना खाइसक्छन् भन्ने हुँदैन,’ उनले उक्त कार्यक्रममा भनेका थिए, ‘मुस्ताङदेखि राति १ बजे आइपुगेको पर्यटकलाई हामीले खाना खुवाउन पाउने कि नपाउने ?’ उनले प्रश्न गरेका थिए, ‘बर्दीवाल प्रहरी देखेर हामी व्यवसायी सुरक्षित महसुस गर्ने कि थुरथुर काँप्दै भाग्ने ?’
पछिल्लो समय लेकसाइड भनेकै बिदामा मनोरञ्जन गर्न आउने ठाउँका रूपमा विकास भइररहेको समयमा त्यसलाई राज्यले पनि स्विकार्नुपर्ने रेबान पोखरा महासचिव थापाको माग छ। ‘लेकसाइडका होटेल र रेस्टुरेन्ट चौबीसै घण्टा खोल्नुपर्ने अहिले आवश्यकताजस्तै भइसक्यो,’ उनी भन्छन्, ‘धेरै मान्छे अहिले साँझको समयमा लेकसाइडमा हिँड्दै घुम्न मन पराउँछन्। उनीहरूलाई भोक लागेको समयमा खान पाउने उनीहरूको मौलिक हक हो कि होइन ? राज्यले यसरी अंकुश लगाउन पाउँछ ?’
लेकसाइडमा होटेल रेस्टुरेन्ट दिउँसो बन्द गर्दा केही असर नपर्ने तर साँझको समयमा खोल्दा त्यसबाट व्यवसायसमेत गतिशील हुने थापाको मत छ। उनी सरकारले आफ्नो आम्दानी बढाउन पनि लेकसाइडका होटल रेस्टुरेन्ट रातभरि खोल्नुपर्ने धारणा राख्छन्। ‘बरु सय वटा रेस्टुरेन्ट बन्द होस्, तर १० वटा रेस्टुरेन्ट राति चल्यो भने व्यवसायी र सरकार दुवैलाई आम्दानी हुन्छ,’ उनी भन्छन्, ‘११ नबज्दै प्रहरी सिठी फुक्दै आयो भने हामी कसरी धानिनु ?’ उनी सुरक्षा दिन नसक्ने नाममा व्यवसायीलाई प्रशासनले दुःख दिनु जायज नभएको धारणा राख्छन्।
थापाको जस्तै गुनासो लेकसाइडका अन्य पर्यटन व्यवसायीको पनि छ। उनीहरू सरकारले चौबीसै घण्टा व्यवसाय गर्न पाउने नीति ल्याएर पनि कार्यान्वयन नगर्दा अप्ठ्यारोमा परेको गुनासो गर्छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेपछि पर्यटकको चाप र माग झनै बढ्ने र त्यसका लागि पनि लेकसाइड खुला हुनुपर्ने उनीहरूको माग छ। उनीहरूको सामूहिक भनाइ छ– ‘लेकसाइडमा एउटा मात्रै व्यवसाय छैन। चौबीसै घण्टा खुला गर्दा विकृति हुन्छ भने हाललाई रेस्टुरेन्ट मात्रै पनि खुला गर्न सकिन्छ। यो समयको माग हो।’
भारत र काठमाडौँबाट सडकमार्ग हुँदै पोखरा भित्रने पर्यटक आउँदा ढिलो हुने र उनीहरूको स्वागत सत्कारका लागि पनि लेकसाइडका रेस्टुरेन्ट चौबीसै घण्टा खुला गर्नुपर्ने व्यवसायीको तर्क छ। रेबान महासचिव थापा भन्छन्, ‘सुनौलीलगायत नाकाबाट पोखरा भित्रने भारतीय पर्यटक, मनाङ–मुस्ताङबाट आउने स्वदेशी तथा विदेशी पर्यटक र काठमाडौँबाट राति गाडीमा आएका पर्यटक ११-१२ बजे आइपुग्छन्। उनीहरूले खाना खान इच्छा देखाए भने हामीले पूरा गर्न पाउने कि नपाउने ? कि पर्यटकलाई भोकै सुताउने?’
नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। गण्डकी प्रदेश सरकारले पनि
पर्यटनलाई नै समृद्धिको मुख्य आधार मानेर एक्लै सन् २०२२ सम्ममा २० लाख पर्यटक भिœयाउने घोषणा नै गरिसकेको छ। प्रदेशले आफ्नो लक्ष्यअनुरूप सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्ष र २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्षका रूपमा मनाउने उद्घोष गरिसकेको छ।
तर, व्यवसायीले चौतर्फी माग भइआउँदा गण्डकी प्रदेशको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको पोखरा र लेकसाइडलाई चौबीसै घण्टा खुला गर्न कुनै पहल भएको छैन। यसबाट लेकसाइडका रेस्टुरेन्ट तथा बार व्यवसायी रुष्ट छन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) का अध्यक्ष तथा होटल रानीवन अर्किडका सञ्चालक हरि भुजेल पनि लेकसाइडलाई चौबीसै घण्टा खुला गर्न सके पर्यटकको क्रियाकलाप अझै बढाउन सकिने तर्क गर्छन्। ट्रेकिङ गरेर फर्किएका पदयात्री अबेर आउँदा खाना खानैबाट वञ्चित हुने गरेको भुजेल बताउँछन्।
‘लेकसाइडमा होटल र रेस्टुरेन्ट व्यवसाय मात्रै छैन,’ भुजेल भन्छन्, ‘तर, राज्यले पहिलो प्राथमिकतामा राखेर होटल र रेस्टुरेन्टलाई चौबीसै घण्टा खुला गर्नुपर्छ। बरु, पहिलो चरणमा केही होटललाई मात्रै मान्यता दिने र ती होटलको वर्गीकरण गरेर कसलाई कति बजेसम्म सञ्चालन गर्न पाउने निश्चित हुनुपर्छ।’ उनले होटेल तथा रेस्टुरेन्ट रातभरि खोल्न व्यवसायीले पनि सुरक्षाका साथै अन्य पूर्वाधार व्यवस्थित गर्नुपर्ने औँल्याउँछन्।
मुद्दा हाल्दै, अनुमति पाउँदै
लेकसाइडमा रातको समयमा व्यावसायिक गतिविधि गर्न सबैलाई छुट छैन। तर, केही व्यवसायीले भने आधा रातसम्म निर्बाध रूपमा गतिविधि चलाइरहेको देख्न सकिन्छ। ती व्यवसायीले पनि यत्तिकै व्यवसाय सञ्चालन गर्न छूट पाएका भने होइनन्। उनीहरूले ‘स्वतन्त्र रूपमा व्यापार–व्यवसाय गर्न पाउनुपर्छ’ भन्ने माग राखेर मुद्दा हालेरै अनुमति पाएका हुन्। तर, ती रेस्टुरेन्ट तथा बारले पनि रातको २ बजेसम्म मात्रै व्यावसायिक गतिविधि सञ्चालन गर्ने अनुमति पाएका छन्।
हाल आएर ओजनसहित त्रिसरा, चकटी विश्राम खाजाघर, रोलिङ स्टोन रक एन्ड बार, कोइला लाउन्ज बार, ट्रेजरर लाउन्ज बार एन्ड रेस्टुरेन्ट लगायतले अदालतमा मुद्दा लडेरै राति २ बजेसम्म व्यावसायिक गतिविधि चलाउन पाउने अनुमति लिएका छन्।
उच्च अदालत पोखराका रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाका अनुसार निवेदकको मागबमोजिम ‘प्रचलित कानुन र सामाजिक मर्यादाको विपरीत नहुने गरी निवेदकले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने हुँदा निवेदकको व्यवसाय सञ्चालनमा कानुनबमोजिम बाहेक रोक नलगाउनू’ भनी अदालतले आदेश जारी गर्ने गरेको छ।
२०७० सालमा ओजन डिस्कोले पहिलो पटक राति २ बजेसम्म व्यवसाय गर्न पाउने अनुमति अदालती आदेशबाट पाएको थियो। त्यतिबेला ओजनले तत्कालीन पुनरावेदन अदालतमा मुद्दा हालेरै अनुमति लिएको थियो। अदालतबाट ‘स्टे अर्डर’ नपाएका व्यवसायीले भने ११ नबज्दै प्रहरीको हप्कीदप्की खाँदै सटर बन्द गर्नुपर्ने बाध्यता छ।
लेकसाइडका अन्य व्यवसायी व्यापार–व्यवसाय गर्न पनि मुद्दा लडेरै अनुमति पाउनुपर्ने अवस्था उचित नभएको गुनासो गर्छन्। ‘अदालतबाट स्टे अर्डर पाएका चाहिँ लिगल हुने अनि अरू चाहिँ इलिगल हुने ? यस्तो पनि हुन्छ ?’ व्यवसायी हरि भुजेल प्रश्न गर्छन्।
लेकसाइडमा चौबीसै घण्टा व्यावसायिक गतिविधि चलाउन प्रशासन कडा र अदालत नरम बनेकै हो त ? उच्च अदालत बार एसोसिएसनका अध्यक्ष रोहितराज बास्तोला भन्छन्, ‘कानुन नै नभएको कुरा प्रशासनले लागू गर्न खोजेर हुँदैन। अदालत कानुनी नियमपूर्वक गएको हो।’ पराजुली २०२३ सालमै राति १ बजेसम्म होटल तथा रेस्टुरेन्ट खोल्न मान्यता दिएको अवस्थामा हाल झन् समयको माग बढेको तर्क राख्छन्। त्यतिबेला बनेको मदिरासम्बन्धी ऐनमा राति १ बजेसम्म मात्रै मदिरा बिक्री गर्न पाइने उल्लेख छ।
अधिवक्ता बास्तोला सर्वोच्च अदालतले नै राति २ बजेसम्म व्यवसाय गर्न मान्यता दिइसकेको बताउँछन्। भन्छन्, ‘अब चौबीसै घण्टा खुला हुुनुपर्छ। यस विषयमा बहस भइरहेको छ।’ उनी सेवाप्रदायकले सेवा दिने, सेवाग्राहीले सेवा लिने र प्रशासनले त्यसको अनुमति र शान्ति सुरक्षा दिनुपर्ने मत राख्छन्।
लेकसाइड रातभरि खुला गर्दा केही स्थानीय बासिन्दालाई समस्या परे पनि समयसँगै परिवर्तन हुनुपर्ने बास्तोलाको सुझाव छ। ‘सन् २०२२ सम्ममा २० लाख पर्यटक ल्याउँछौँ भन्ने अनि १० बजे नै व्यवसायीलाई डन्डा लगाउँदै हिँडेर हुन्छ ?’ बास्तोला भन्छन्, ‘कसैलाई डिस्टर्ब नगरीकन पर्यटकले रातको १२ बजे होस् कि २ बजे, आनन्द लिन पाउनुपर्यो नि !’
‘प्रहरी सुरक्षा दिन तयार छ’
लेकसाइडका होटल तथा रेस्टुरेन्ट व्यवसायी रातको समयमा होटल खोल्न प्रहरी प्रशासन नै बाधक भइरहेको आरोप लगाउँछन्। रेस्टुरेन्टमा पाहुनाले खाना खाइरहेका बेला प्रहरी आएर डन्डा लगाउने गरेको उनीहरू बताउँछन्।
तर, वडा प्रहरी कार्यालय बैदामका अधिकारी भने आफूहरू नियमबद्ध रूपमै लागेको दाबी गर्छन्। लेकसाइडलाई चौबीसै घण्टा खोल्नेमा बैदाम प्रहरी पनि सकारात्मक छ। बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी कोमल शाह काठमाडौँभन्दा पनि पोखरामा रात्रिकालीन गतिविधि धेरै हुने भएकाले लेकसाइडलाई चौबीसै घण्टा खोल्न सके राम्रै हुने स्विकार्छन्। ‘काठमाडौँमा पनि राति यति धेरै पर्यटकीय गतिविधि हुँदैनन्,’ डीएसपी शाह भन्छन्, ‘पोखरा भौगोलिक रूपमै राम्रो भएकाले पनि यहाँ रात्रिकालीन गतिविधि धेरै छ। निश्चित आचारसंहिता सबैले पालना गर्ने गरी लेकसाइडलाई चौबीसै घण्टा खोल्न सकियो भने रामै्रै हुन्छ।’
डीएसपी शाह सरकारले लेकसाइडलाई रातभरि खुल्ने अनुमति दिए प्रहरी प्रशासन सुरक्षा दिन तयार रहेको बताउँछन्। ‘लेकसाइडलगायत देशका प्रमुख पर्यटकीय शहरलाई चौबीसै घण्टा खोल्ने भनिएको छ,’ उनी भन्छन्, ‘त्यसो भए सुरक्षा दिन हामी तयार छौँ। बैदाम प्रहरी कार्यालयसँग जनशक्ति पनि तयार छ।’
लेकसाइडलाई चौबीसै घण्टा खुला गर्न भने आवश्यक आचारसंहिता तथा मापदण्ड हुनुपर्ने शाहको भनाइ छ। भन्छन्, ‘लेकसाइड रातभर खोलेर मात्रै हुँदैन। त्यससँग धेरै कुरा जोडिएर आउँछन्। खुला गर्न आवश्यक आचारसंहिताभित्र रहेर व्यवसायी अघि बढ्नुपर्छ।’ लेकसाइड रातभरि खुला भए होटल तथा रेस्टुरेन्टले समेत सुरक्षामा ध्यान दिने र सबै ग्राहकको रेकर्ड राख्नुपर्ने उनको सुझाव छ।
पश्चिमाञ्चल होटल एसोसिएसन (हान) भने लेकसाइडलाई चौबीसै घण्टा खोल्न पहिले निश्चित नियम र आचारसंहिता हुनुपर्ने मत राख्छ। संस्थाका अध्यक्ष विकल तुलाचन रात्रिकालीन व्यवसाय गर्नुभन्दा पहिले व्यवसायको वर्गीकरण हुनुपर्ने बताउँछन्। भन्छन्, ‘आचारसंहिता र नीतिनियमबिना चौबीसै घण्टा लेकसाइड खोल्नु हुँदैन। टेक्ने आधार केही त हुनुपर्यो। व्यवसायी, ग्राहक र प्रशासन सबै जवाफदेही हुनुपर्ने आचारसंहिता हुन जरुरी छ।’
स्थानीय बासिन्दाको गुनासो रहेकाले त्यसलाई पनि सम्बोधन गर्दै अघि जानुपर्ने तुलाचनको भनाइ छ। ‘स्थानीयका गुनासा पनि छन्,’ उनी भन्छन्, ‘त्यसलाई पनि सम्बोधन गर्दै अघि बढ्नुपर्छ। यस विषयमा व्यवसायी, ग्राहक, प्रशासन सबै जवाफदेही हुनपर्छ।’
