धनगढी, १४ साउन– कैलालीको अत्तरियाबाट चितुवाको छाला सहित सोमवार साँझ पक्राउ परेका २ जनालाई कैलाली प्रहरीले मङ्गलवार सार्वजनिक गरेको छ । चितुवाको छाला बेचबिखन तथा ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले सोमवार साँझ ५ बजे अत्तरियाको एक होटेलबाट २ जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा डोटीको बडिकेदार गाउँपालिका– ५ का २३ वर्षीय राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिका– १ का ३२ वर्षीय राम बहादुर विष्ट रहेको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरिले जानकारी दिए ।
कैलालीको चुरेका राम बहादुर थापाको साथबाट ९ फिट लम्बाई भएको टाउकोदेखि पुच्छरसम्मको चितुवाको छाला, ५ फिट ६ इन्च लम्बाइको टाउकोदेखि कम्मरको छाला, ५ फिट २ इन्च हातको एक छेउदेखि अर्को औलासम्मको छाला र २ फिट शरीरको भाग रहेको एक थान चितुवाको छाला बरामद गरिएको गिरीले बताए । पक्राउ परेका अर्का डोटीको बडिकेदार गाउँपालिका–५ का राजेन्द्र थापाको साथबाट टाउकोदेखि पुच्छरसम्मको ७ फिट र २ फिट शरीरको भागको अर्को एक थान छालासहित नियन्त्रणमा लिइएको गिरीले बताए ।
चितुवाको छाला बेचबिखनको लागी उनीहरू अत्तरिया पुगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कैलाली प्रहरीले जनाएको छ । डोटीका राजेन्द्र थापाले स्थानीय बडीकेदार गाँउपालीकामै सिकार खेली चितुवाको छाला बिक्रीका लागी कैलालीको चुरेका राम बहादुर विष्टको सम्र्पकमा लैजान लागेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए । चितुवाको छाला चोरी सिकारी गरी अत्तरियामा राखेको अवस्थामा उनीहरूलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।