ग्लोबल टी-२० लिग खेल्न क्यानडा पुगेका नेपालका बलरद्वय सन्दीप लामिछाने र सोमपाल कामी आ-आफ्नो टिमको पहिलो रोजाइमा पर्न असफल भएका छन्।
सुरुवाती दुई खेल गुमाएका सन्दीप र सोमपाल आइतबार राति सिंगापुरबाट क्यानडा गएका थिए। दुवै सिंगापुरमा आयोजना भएको आइसिसी टी–२० विश्वकप एसिया छनोटमा भाग लिएपछि उतैबाटै क्यानडा प्रस्थान गरेका थिए।
सन्दीप टोरोन्टो नेसन्स र सोमपाल विनिपेग हक्समा आबद्ध छन्। दुवै टिमबीच सोमबार राति खेल भएको थियो।
खेलमा सोमपालको विनिपेगले सन्दीपको टोरोन्टोलाई ३ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको टोरन्टोले ७ विकेटको क्षतिमा २१६ रन जोड्यो। टोरन्टोका लागि केइरन पोलार्डले २१ बलमा ५२ रन र रोद्रिगो थोम्सले ६५ रन जोड्यो।
विनिपेगले अन्तिम बेलमा ७ विकेटको क्षतिमा लक्ष्य पार गर्यो। उसका लागि क्रियन लियोनले ४८ बलमा ८९ रन र सनी सोहले २७ बलमा ५८ रन जोडे।
जारी लिगमा विनिपेग ३ मध्ये २ खेलमा जित हात पारेको छ भने टोरन्टो ३ खेलमा २ खेलमा पराजित भइसकेको छ।