बुटवल : २०३५ सालमा बस्ती हटाएर जोगाइएको वन फडानी गरी केबलकार बनाउन सरकारले स्वीकृति दिएको छ। बुटवलदेखि नुवाकोटसम्म केबलकार बनाउने नाममा मणिमुकुन्द सेन उद्यानको छेउमा वन फडानी गर्न थालिएको हो।
बुटवलका केही व्यवसायीले यो क्षेत्रमा केबलकार बनाउने योजना थालेका छन्। निजी कम्पनीका लागि मन्त्रीपरिषद् बैठकले वन दिने निर्णय गरेको हो। यो निर्णयले बुटवलको सौन्दर्यका रुपमा रहेको नुवाकोट र जीतगढी बीचको वन क्षेत्र मासिने जोखिम बढेको छ।
यो वन क्षेत्र २०३५ सालमा राजा वीरेन्द्रले बस्ती हटाएर बनाएका थिए। तत्कालीन समयमा ऐश्वर्य पार्क बनाउने गरी बस्ती हटाइएको थियो। पार्क नबने पनि वृक्षारोपण गरी अहिले बाक्लो वन तयार भएको छ। पुरानो बुटवलका बासिन्दा रवीन्द्रगोपाल लाकौलका अनुसार २०१३ सालदेखि बस्दै आएको बस्ती राजा वीरेन्द्रले हटाएका थिए।
‘बस्ती बस्दा वन क्षेत्र फडानी हुन्छ भनेर त्यहाँ बस्दै आएका रायमाझी र प्रताप राणाहरूका सन्तालाई नवलपरासीको भुताहा क्षेत्रमा सारिएको थियो, उनले भने। सो क्षेत्रमा अहिले पनि घर र खेतका अवशेष पाइने उनले बताए। सामरिक, पुरातात्विक महत्त्वको क्षेत्रमा बस्ती हुँदा विनास हुन सक्छ भन्दै वीरेन्द्रले हटाएको उनी बताउँछन्।
पाल्पाबाट झरेका राणा र रायमाझीका सन्तानहरूले त्यहाँ खेती गर्दै आएका थिए। यो क्षेत्र अहिलेको फूलवारीको उत्तरपूर्वी क्षेत्रमा पर्छ। सोही क्षेत्र मासिने गरी अहिले केबलकार निर्माणको प्रक्रिया थालिएको छ।
संघीय सरकारले पुरातात्विक महत्त्व समेत रहेको वन क्षेत्रको स्थिति नै नबुझी फडानी स्वीकृति दिएको भन्दै चौतर्फी आलोचना भएको छ। सरकारले करिव १० महिनाअघि मन्त्रिपरिषद्बाट निर्णय गर्दै ३ दशमलव ८९ हेक्टर वन क्षेत्र केवलकार निर्माणका लागि दिएको हो। यो क्षेत्र केवलकारको तल्लो स्टेसन हो भने माथिल्लो स्टेसन नुवाकोटमा करिब एक हेक्टर वन क्षेत्र दिने निर्णय समेत गरिएको छ।
तल्लो स्टेसन देउराली डाँडा र माथिल्लो स्टेसन टुडिखेलमा बन्ने सिद्धार्थ केबलकारका एकजना परियोजनाकार माधव नेपालले बताए।
नुवाकोटको टुँडिखेल कर्णेल उजिरसिंहले अंग्रेजसँगको युद्धमा प्रयोग गरेको क्षेत्र हो। त्यसनजिकै नुवाकोट गढी रहेको छ। पुरातत्व विभागका यस क्षेत्रको उत्खनन्को तयारी भइरहेका बेला सरकारले केबलकार निर्माणको स्वीकृति दिएको हो।
केवलकार निर्माणले पुरातात्विक क्षेत्रसँगै वन मासिने सरोकारवालाले चिन्ता गरेका छन्। व्यवसायीहरूले केवलकारसँगै नुवाकोटमा हिलसाइड भिलेज रिसोर्ट समेत बनाउने तयारी गरेका छन्।
‘यो करिब २ अर्बको योजना हो, लगानीकर्ता नेपालले भने, आगामी दुई वर्षभित्र सक्ने योजना बनाएका छौं।’ उनले विकासका लागि केही क्षेत्र नासिनु स्वभाविक भएको बताउँछन्। दुई अर्बको लगानीमा ९९ जनाको शेयर रहेको उनले बताए। जग्गा प्राप्तिका लागि वन विभागसँग ३० वर्षको सम्झौता समेत भएको उनको भनाई छ। वन क्षेत्रको सोधभर्नाका लागि पाल्पाको मस्यामा ६० रोपनी जग्गा खरिद गरिएको उनले बताए।
केबलकार निर्माणका क्रममा बुटवल माध्यमिक विद्यालयको समेत जग्गा समेत मासिएको छ। बुटवल माविको पछाडिबाट खनिएको सडक विद्यालयकै जग्गामा परेको छ। केबलकार बनाउने स्थानमा समेत केही विद्यालयको जग्गा पर्ने प्राधानाध्यापक अकरामुल्लाह खाँले बताए। ‘हाम्रो जग्गा मिचेर केबलकार र त्यहाँ जाने बाटो बनाउन थालिएको छ, उनले भने। केबलकारका लगानीकर्ताहरूले ‘विरोध नगर्नुहोला’ भन्दै विद्यालय समितिलाई चेतावनी समेत दिएको छ।
जग्गा विवादकै कारण बुटवल माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमलबहादुर शाक्यले राजीनामा दिएका छन्। उनले विद्यालयको जग्गा मासेर केबलकार बनाउन रोक्नुपर्ने भन्दै बुटवल उपमहानगरपालिकामा गुनासो गरेका थिए। तर उपमहानगर प्रमुख शिवराज सुवेदीले ठूलो परियोजना भन्दै पन्छाएका छन्।
‘गत फागुनमा जग्गा नापेर मिलाउला भन्ने जवाफ मेयरले दिनुभएको थियो, तर अहिलेसम्म केही भएको छैन, प्राधानाध्यापक खाँले भने। केबलकार बन्ने स्थानमा पुराउन खनिएको बाटोमा पहिरो जाँदा विद्यालय नै जोखिममा परेको छ।
केबलकार बनाउन अहिलेसम्म २८ वटा रुख काटिएका छन्। ३ दशमलव ६४ किलोमिटर क्षेत्रमा रोप राखिने हुँदा त्यस क्षेत्रका रुख समेत काटिने छ। वातावरणीय मूल्यांकन नै सम्पन्न नगरी केबलकारका प्रारम्भिक पूर्वाधार बनाउन थालिएको छ। स्थानीय सरकार र प्रदेश सरकार भने यस विषयमा बोलेका छैनन्।
यसअघि नुवाकोट पुर्याउने केबलकार बुटवलको चिडियाखोलाबाट लैजाने बताइएको थियो। राजनीतिक पहुँचका आधारमा वन क्षेत्र पाएपछि योजना परिवर्तन गरिएको हो। स्रोतका अनुसार वन क्षेत्र मिलाइदिने दुई जना उच्चस्तरका निजामती कर्मचारीलाई शेयर प्रदान गरिएको छ। केवलकारका लगानीकर्ता नेपालले नुवाकोटमा पर्यटक ल्याउनका लागि केवलकारको योजना बनाइएको भन्दै यसले पुरातात्विक क्षेत्रमा विनास नगर्ने दाबी गरे।
वातावरण अध्येता युवराज कँडेल नुवाकोट क्षेत्रको वन मासिए पुरानो बुटवलको अस्तित्व नै नास हुने बताउँछन। ‘त्यो क्षेत्र खुकुलो माटो भएको क्षेत्र हो, यहाँको वन मासिनासाथ पानीका स्रोत सुक्नेछन् भने भूक्षयले बुटवल मास्नेछ, उनले भने। यस क्षेत्रमा एउटा रुख काद्दा समेत जोखिम बढ्ने उनको चेतावनी छ।