बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • देश
  • विपदबाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित

विपदबाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित

  • आइतवार, साउन १२, २०७६
विपदबाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित

काठमाडौं-असार अन्तिम साता सक्रिय भएको मनसुनका कारण आएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा एक अर्ब बढीको क्षति भएको छ ।

बाढीपहिरो र डुबानले विभिन्न ६७ जिल्ला प्रभावित भएको थियो । अहिलेसम्म ३६ जिल्लाबाट प्राप्त विवरणअनुसार एक अर्ब छ करोड ४५ लाखको क्षति भएको गृह मन्त्रालयले जनाएको छ । विपद्बाट झण्डै ९० हजार घर प्रभावित भएका छन् ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले प्रारम्भिक अनुमानमा एक अर्ब बढीको क्षति भएको जानकारी दिँदै जिल्लामा विवरण सङ्कलन कार्य अझै पनि जारी रहेको बताए ।

बाढीबाट सबैभन्दा बढी एक अर्ब दुई करोडको क्षति भएको छ । पहिरोबाट दुई करोड  ८८ लाख तथा भारी वर्षाका कारण ८० लाखको क्षति भएको जनाइएको छ । यस्तै साउन ७ र ८ गते लमजुङ र गुल्मीमा बाढी र पहिरोमा ठूलो जनधनको क्षति भएको छ ।

९० हजार घर प्रभावित 

विपद्का कारण झण्डै ९० हजार घरधुरी प्रभावित भएको छ । विपद्बाट २२ हजार ६७० घरधुरी विस्थापित भएको, १९ हजार ९७४ घर पूर्ण क्षति र ४१ हजार ३४३ घर आंशिक क्षति भएको तथा छ हजार बढी घरमा सामान्य क्षति भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

अहिले विभिन्न क्षेत्रमा राहत वितरण कार्य जारी रहेको केन्द्रका प्रमुख खनालले जानकारी दिए । उनले राजमार्गमा भएको क्षतिको पुनःनिर्माणको कामसमेत जारी रहेको जानकारी दिए ।

राहत र उद्धारको कार्यलाई प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी सञ्चार र समन्वयका साथ स्रोत र साधनलाई परिचालन गरिएको सरकारले जनाएको छ । मृतक परिवारलाई प्रतिमृतक रु एक लाखका दरले राहत वितरण कार्य शुरु गरिएको छ ।

प्रदेश सरकारले हरेक जिल्लालाई तत्कालीन राहतका लागि रु १० लाखका दरले राहत उपलब्ध गराएको छ । अहिले प्रदेश र स्थानीय तहको समन्वयमा एकद्वार प्रणालीमार्फत राहत वितरण कार्यलाई तीव्रता दिएको जनाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसमेतबाट ४१ हजार बढी जनशक्ति परिचालन भएर उद्धार कार्य सञ्चालन गरेको थियो । स्थलमार्गबाट राहत वितरण गर्न नसकिएको क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत राहत वितरण कार्य जारी छ । अहिले भने मौसम कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मृत्यु हुने ११३ पुगे

गृहमन्त्रालयका अनुसार विपद्मा परेर अहिलेसम्म ११३ जनाको मृत्यु भएको छ । यस्तै ३८ जना बेपत्ता भएका र ६७ जना घाइते भएका छन् । असारको २६ देखि ३० गतेसम्म अविरल वर्षासँगै बाढीपहिरो र डुबान भएको थियो । साउनको ६ र ८ गते पनि पहिरो र बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको थियो ।

प्रभावित जिल्लाबाट तीन हजार ६०० भन्दाबढीको उद्धार गरिएको छ । गुल्मीमा गएको पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका छन् । रौतहटमा मात्रै बाढी पहिरोमा परेर १० जनाले ज्यान गुमाएका थिए । विस्थापितलाई सुरक्षित स्थानमा राखिएको सरकारले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार