• होमपेज
  • राजनीति
  • अनि पुष्पलाल भावुक भएर हिँड्नुभयो…

अनि पुष्पलाल भावुक भएर हिँड्नुभयो…

पुष्पलाल स्मृति दिवस

  • मङ्लबार, साउन ७, २०७६
अनि पुष्पलाल भावुक भएर हिँड्नुभयो…
पुष्पलालकाे फाईल फोटो

पुष्पलाल बनारस बस्दा नेपालको कम्युनिस्ट आन्दोलनका नेता एवं कार्यकर्ता मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनसँग सरोकार राख्ने स्वदेशी र विदेशी मित्र पनि उनीसँग विशेष सम्पर्क र छलफलका लागि बनारस आउने गर्थे।

पुष्पलालसँग स्वदेशी, विदेशी, ग्रामीण क्षेत्र होस् वा सहरिया, आफूसम्बद्ध पार्टी होस् वा अरु पार्टीसँग सम्बन्धित नेता–कार्यकर्ता सबैसँग घुलमिल गर्ने र सबैका भावना बुझ्ने क्षमता थियो।

उनलाई भेट्न आउने कुनै पनि व्यक्ति उनका लागि अपरिचित जस्तो लाग्दैनथ्यो। उनको यस्तो क्षमताप्रति ईर्ष्या गर्नेहरू ‘पुष्पलाल जसलाई पनि विश्वास गर्नुहुन्छ, जसले पनि विश्वासघात गर्न सक्छ’ भन्दै आलोचना गर्थे।

तर, मलाई भने त्यस्तो कहिलै लागेन। उनको बोलिचाली र व्यवहारले लाग्थ्यो, त्यस व्यक्तिसँग उनको एकपटक मात्र होइन धैरै पटक भेट भइसकेको छ। उहाँ सबैसँग उत्तिकै जाँगर र उत्साहका साथ भेट्नुहुन्थ्यो। सबैले उहाँबाट हार्दिकता, तन्मयता र निष्कपटता पाउँथे। यो नै त्यस्तो कारण हुनसक्छ, जसबाट उहाँलाई ढाँट्न छल्न र विश्वाशघात गर्न कसैले पनि सहज रुपमा आँट गर्दैनथ्यो।

प्रजातन्त्र संकीर्ण सोच र व्यवहारका विरुद्धको आन्दोलन पनि हो। यस आन्दोलनमा संकीर्ण सोच र व्यवहारका लागि कुनै ठाउँ हुँदैन। त्यसैले यो त्यस ढंगको आन्दोलन हो, जसको केन्द्र भूमिमा लाखौं जनता अधिकार प्राप्तिका लागि मात्र होइन, कर्तव्य पालन र दायित्व निर्वाहमा पनि एक साथ क्रियाशील हुन सक्छन्। प्रजातन्त्रमा मानिसको अस्तित्व, चिन्तन, मर्यादा, सिर्जनशिलता र क्षमताको विकास एवं संरक्षण हुनुपर्छ र हुन्छ पनि।

प्रजातन्त्रले मानिसलाई दास र रैतीको अवस्थाबाट मुक्त गरेर सार्वभौमसत्ता सम्पन्न जनताका रुपमा स्थापित गर्छ। यस्तो विश्वास र आस्थालाई आफ्ना क्रियाकलापको उर्जा बनाएर त्याग र संकल्पको मुक्ताञ्चलमा वेगवान् गतिका साथ यात्रा गर्ने कुनै पनि यात्रीका लागि आफूले अगाडि भोगेका घटना हुन् अथवा पछाडि, ती सबैको समान महत्व हुन्छ र तिनिहरूलाई एक अर्कोबाट छुट्याएर अनुभूत गर्न पनि सकिँदैन। तिनिहरूको अनुभूति समष्टिगत नै हुन्छ।

यस्तो हुनुमा इतिहासले त्यसबेला वेगवान् गतिका साथ चालेका पाइला नै प्रमुख कारण हुन्। यस्तै समष्टिगत अनुभव भनौँ या संस्मरण, अहिले मेरो सम्झनामा आउनुभएको छ–सरोज कोइराला, नेपाली कांग्रेस पूर्वाञ्चलका तत्कालिन सक्रिय नेता।

उहाँ भारतमा निर्वासित हुनुहुन्थ्यो। नरकटियागन्जदेखि जोगवनीसम्मका भारतीय सिमावर्ती क्षेत्रका रेलवे स्टेसनका आसपासमा उहाँका सम्पर्कस्थल थिए। कहिले उहाँ जोगवनी कहिले मदुवनी, कहिले दरभंगा त कहिले सीतामणी, कहिले रक्सौल त कहिले नरकटियागन्जतिर घुमिरहनुहुन्थ्यो। संगठनात्मक रुपमा क्रियाशील कार्यकर्तासँग नियमित रुपमा जिवन्त सम्पर्क राख्ने उहाँको राजनीतिक विशेषता अथवा अभ्यास थियो।

बनारस आएका बेला उहाँ पुष्पलाललाई जरुर भेट्नुहुन्थ्यो। नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबीच तत्कालका लागि मिलनका साझा विन्दु के–के हुन सक्छन् ? तिनलाई आन्दोलनका क्रममा कसरी संगठित गर्न सकिन्छ ? वर्तमान शितयुद्धको विश्व परिस्थितिमा राजनीतिक सहकार्यको संस्कृतिलाई कसरी जोगाउन र विकास गर्न सकिन्छ ? त्यसका लागि नेतृत्व तहबाट के कस्ता प्रयत्न सम्भव छन्। ती प्रयत्नले अन्तर्राष्ट्रिय र राष्ट्रिय राजनीतिमा समेत कस्ता प्रभाव पर्न सक्छन् ? भारत र चीनको तत्कालीन सीमा विवादबाट नेपालको अन्तर्राष्ट्रिय कुटनीति कति हदसम्म प्रभावित भएको छ ?

नेपालको प्रजातान्त्रिक आन्दोलनमा यसका कस्ता प्रभाव पर्न सक्छन् ? यस्तो अवस्थामा नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सशक्त बनाउन कस्ता प्रयत्न हुनुपर्छ ? यस्ता विषयमा घण्टौंसम्म छलफर र विचार–विमर्श हुने गर्थे।

यसपटकको भेटमा भने सरोज कोइराला (उहाँ प्रायः सरोजवावु भनेर चिनिनु हुन्थ्यो)मा पहिलेको भन्दा फरक ढंगको गम्भिरता देखिएको थियो। केही राजनीतिक प्रसंग अगाडि बढेपछि मलाइ अहिले पनि सम्झना छ–यो गम्भीरता अझै बढ्दै गयो र उहाँले आफ्ना प्रसंग यसरी सुरु गर्नुभयो– पुष्पलालजी, अब हामी भारतीय भूमिमा पनि सुरक्षित छैनौँ। बाँचिएछ भने फेरि भेट होला, मरिएछ भने यही नै हाम्रो अन्तिम भेट हुनसक्छ।

प्रारम्भमा नै यस प्रकारको मार्मिक तर सहृदयतापूर्ण आशयबाट भएको हुनाले जिज्ञासा अझै बढ्दैगयो। अविरल रुपमा वगिरहने भागिरथी नदीजस्तै उहाँका अभिव्यक्ति अगाडि बढ्दै गए।

अहिले प्रजातन्त्र विरोधी शक्ति विभिन्न रुप र रंगमा अगाडि बढ्दैछन्। सुन्दछु, उनीहरूको पहलमा ‘अन्तर्राष्ट्रिय तत्व निर्मूल समिति’ नामक भूमिगत संगठन खडा भएको छ। भारतमा निर्वासित भएर नेपलाको राजनीतिमा सक्रिय नेताहरूको हत्याका लागि यो संगठन बनाइएको हो रे।

‘सात–आठ दिन पहिलेको कुरा हो, म मदुवनी स्टेशनको एउटा बेन्चमा एक्लै थिएँ। रेलको आउने समय भइनसकेको हुनाले स्टेशन सुनसान थियो। एकजना पूर्व परिचित मानिस मेरो नजिक आए। उनी धनुषा जिल्लाको झिगा गाउँका व्याक्ति हुन्। डकैतीको अभियोगमा केही वर्ष देखि ललितपुरको नख्खु जेलमा बन्दी थिए। यस एकान्त ठाउँमा उनलाई त्यसरी भेटाउँदा मलाई लाग्यो, उनी पक्कै पनि जेलबाट फरार भएका हुन्। र, उनले जेलमा राजनीतिक बन्दीको रुपमा थुनिएका मेरा कुनै न कुनै राजनीतिक मित्रको खबर ल्याएका छन्।

मैले सोध्नुभन्दा पहिले नै चारैतिर हेरेर पूर्ण रुपमा एकान्त रहेको कुरामा विश्वस्त भएपछि उनले मलाई सतर्क र सचेत गराएर भन्दै गए, ‘सरोजवावु, आइन्दा तपाईँ एक्लै नहिँड्नुहोला। तपाईँको हत्याका लागि मानिस खटाइएका छन् र, तीमध्ये म पनि एक हुँ। लामो जेल जीवनबाट मुक्त हुने इच्छाले मैलै यो घिनलाग्दो काम स्विकारेँ। अब म मुक्त छु र यो विशाल भारतमा म कतै न कतै हराउँछु। मबाट यो काम हुँदैन। जेलबाट मुक्तिमात्र होइन, चार बिघा जमिन दिने प्रलोभन पनि देखाइएको छ। यो सन्देश दिन म निकै उत्सुक थिएँ। एकान्तको फाइदा उठाएर अहिले म सफल पनि भएको छु। कसैले मेरो पिछा गरेको पनि हुन सक्छ। तपाईँसँगको मेरो सौहार्दताको भेद खुल्न पनि सक्छ। यसैले म यहाँ धेरै बेर बस्नु उचित नहुन सक्छ।’

यति भन्दा नभन्दै उनी मबाट छुट्टिएर आफ्नो बाटो लागे। म एकै छिन त्यही बेन्चमा घोरिएँ। डराउन दिएर मेरो सक्रियतालाई शिथिल बनाउने यो एक षड्यन्त्र पनि हुन सक्छ, मेरो मनले केही सान्तोना लिन खोल्यो। तर जुन व्याक्तिले मलाई एकै श्वासमा अत्यन्तै हतारमा यो सूचना दियो उसको विश्वसनीयताप्रति मलाई शंका थिएन। यथार्थमा ऊ डाँका पनि थिएन। परिबन्धमा पारेर फसाइएको थियो। यस्तै मनमा कुरा खेलाउँदै त्यस बेन्चबाट उठेँ र आफ्नो डेरातिर लागेँ।’

सरोजबावुका यी सबै अभिव्यक्तिमा डर र त्रासको कुनै मात्रा थिएन। निर्भिकता र आत्मविश्वाश नै उहाँको स्वरबाट गुन्जिएको थियो। केही बेरपछि सरोजवावुले थप्नुभयो– यो सतर्कता मेरा निम्ति मात्र होइन, तपाईँ हामीजस्ता प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील सबैका लागि हो।

यथार्थमा निरंकुशता कठोर मात्र होइन, मर्यादाहीन पनि हुन्छ। आफ्ना विरोधीको दमनका लागि यसले जस्तोसुकै अनुचित र निम्नस्तरको माध्यम पनि अपनाउन सक्छ।

यसपछि पुष्पलालले पनि हार्दिकता पूर्वक सतर्कताका लागि सरोजवावुलाई सचेत गराउँदै थप्नुभयो–मैले पनि मेरा भारतीय मित्रहरूबाट सुनेको छु, हामी जस्ता नेपालको राजनीतिक आन्दोलनमा संलग्न व्यक्तिलाई लागुपदार्थको तस्करी जस्ता कल्पित अभियोगका षड्यन्त्र र छल प्रपन्चको सिर्जना गर्न यस्ता भूमिगत गिरोह सक्रिय छन्।

हुन त भारतको एउटा ठूलो सचेत समुदाय नेपालको प्रजातान्त्रिक आन्दोलनको पक्षमा छ र नेपाली जनताको साथमा छ। भारतीय भूमिमा नेपालको तर्फबाट हुने यस्ता क्रियाकलाप विरुद्ध यो समुदाय असंगठित रुपमै भए पनि अगाडि आउने छ।

केही दिनअघि मेरा भारतीय मित्र प्रो. चन्द्रवली सिंको अध्यक्षतमा भएको भारत नेपाल जनमैत्री संघले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई भारतीय जनता र नेपली जनता बीचको मैत्री र सद्भावलाई अझै प्रगाढ बनाउन समर्थन गरेको छ। यसको उदेश्य पवित्र छ।

यस प्रसंगपछि सरोज कोइराला हामीबाट विदा हुनुभयो। यसको करिब दुई सातापछि हामीले बनारसमा थाहा पायौँ, बिहानीलाई कुहिरोले ढाकेका बेला दरभंगाको बस स्टेसनमा उभिएको एउटा बसको आडमा साइलेन्सर लागाएको पेस्तोलको गोलीबाट सरोजको हत्या भयो। यस दुःखद् घटनालाई मेरो मनले कत्ति पनि विश्वास गर्न सकेन तर, समाचारपत्रले विवरणका साथ घटनाको पुष्टि गरिसकेका थिए।

यो समाचार पढ्दा म र पुष्पलाल सँगै थियौँ। हामीले एक सहयात्रीलाई सदाका लागि गुमाएको अनुभव गर्यौँ। यो एक अपूरणीय क्षति पनि थियो। भावविभोर हुँदै पुष्पलाल आफ्ना मित्र चन्द्रवली सिंहको घरतिर जानुभयो, म भने कार्यालयमै रहेँ।

दिन बित्दै जाँदा नयाँ दुःखद् घटना थपिँदै गए। काठमाडौंमा योगेन्द्रमान शेरचनको षड्यन्त्रपूर्ण ढंगले हत्या गरियो। रक्सौलको कांग्रेस कार्यालयमा बम विष्फोट भयो। पर्सा जिल्लाका कांग्रेस अध्यक्ष तेजबहादुर आमात्यलाई रक्सौलमा अज्ञात व्याक्तिले गोली हानी हत्या गरे। यसको केहीपछि बिना लाइसेन्सका हतियार लिएका नेपाली अपराधकर्मी रक्सौलबाट पूर्वतिर जाने रेलमा समातिए र मधुवनी अदालतले उनीहरूलाई जेल साजायँ दियो। कलकत्तामा भरत शमशेरको निवासमा केही अज्ञात व्याक्तिले बम फाले। जेल सार्ने बाहानामा सुखानीको जंगलमा झापा किसान विद्रोहका नेताहरूको हत्या भयो। यस्ता घटना भइरेका बेला नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी अञ्चल सचिव माधव ज्ञवालीले एउटा सूचना पठाउनुभयो।

त्यस सूचनामा पुष्पलालको हत्याका लागि गोरखपुर जिल्लाका एकजना भारतीय नागरिकलाई मर्चवारमा चार बिघा जमिन दिने प्रलोभनका साथ तयार गर्ने प्रयत्न नेपाली निरंकुश सत्ताले गरेका सन्देश थिए।

यस्ता प्रकृतिका धेरै घटना दैनिकजसो भइरहेका खबर प्राप्त हुन थाले। हामी त्यतिबेला ती ज्ञात–अज्ञात सहिदले हामीलाई देश र जनताप्रति समर्पित भएर काम गर्ने प्रेरणा दिउन्, जसले लोभ लालचमा लाग्नु भन्दा मृत्युलाई वरण गर्नु नै श्रेयस्कर सम्झे भन्दै श्रद्धासुमन व्यक्त गरिरहेका थियौँ।


(गोविन्द ज्ञवालीद्वारा लिखित ‘पुष्पलालसँगको राजनीतिक यात्रा’ नामक पुस्तकबाट साभार। ज्ञवाली पुष्पलालसँग लामो समय संगत गरेका कम्युनिस्ट नेता हुन्। ४१ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा सान्दर्भिक हुने ठानेर हामीले यो लेख साभार गरेका हौँ।)

अन्नपूर्ण पाेष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार