शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रिकेट
  • टी–२० विश्वकप छनोट : कतारसँग नेपालको अप्रत्यासित हार

टी–२० विश्वकप छनोट : कतारसँग नेपालको अप्रत्यासित हार

  • मङ्लबार, साउन ७, २०७६
टी–२० विश्वकप छनोट : कतारसँग नेपालको अप्रत्यासित हार

काठमाडौं, ७ साउन ।  सिंगापुरमा आयोजना भइरहेको टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कमजोर आँकिएको कतारसँग ४ विकेटको अप्रत्यासित हार व्यहोर्‍यो ।

प्रतियोगिताको मुख्य दावेदार मानिएको नेपाललाई पहिलो खेलमै झट्का लागेको हो । ६ जना बलर खेलाएको नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो ।

ओपनिङमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरे पनि उनीहरु दुवै आउट भएपछि नेपालको ब्याटिङ धरासायी बन्यो । नेपालले केवल १२२ रनको स्कोर बनाएर कतारलाई १ सय २३ रनको सामान्य चुनौति पेश गर्‍यो ।

कप्तान र उपकप्तानले ५.६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । पारसले १७ बलमा २८ रन बनाएर आउट भए भने ज्ञानेन्द्रले २४ बलमा २३ रन जोडे । उनीहरु आउट भएपछि दिपेन्द्र सिंह ऐरीबाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । तेस्रो नम्बरमा आएका शरद भेषावकर १३ बलमा ७ रन बनाएर आउट भए भने सोमपाल कामी ११, बिनोद भण्डारी ३, करण केसी ४, सन्दिप लामिछाने ९ र अविनाश बोहरा शून्य रनमा आउट भएका थिए ।

जवाफी ब्याटिङमा आएको कतारले सुरुमै एक विकेट गुमाए पनि त्यसपछिका ब्याट्सम्यानहरुले धैर्यतापूर्वक खेले । इनाम उल हकले ३२ बलमा ४२ रन बनाउँदै टिमलाई जिततर्फ अघि बढाएका थिए । उनी रन आउट भएपछि भने टिम केही दवावमा आएको थियो । एक समय २ विकेट क्षतिमा ६८ रन बनाएको कतारले ९९ रनमा ६ विकेट गुमायो । तर, त्यतिबेलासम्म नेपाललाई निकै ढिला भइसकेको थियो । मोहम्मद रिजवान र नोउवान सरवारले कतारलाई चार बल बाँकी छँदा जित दिलाए ।

नेपालका बलरहरुमा सन्दिप लामिछानेले ३ विकेट लिए पनि खर्चिला भए । उनले ४ ओभरमा ३३ रन दिए । बाँकी एक विकेट करण केसीको नाममा रह्यो ।

प्रतियोगितामा सहभागीहरुमध्ये नेपालमात्रै एक दिवसीय मान्यताप्राप्त राष्ट्र हो ।

चर्चामा

सम्बन्धित समाचार