खडक बोहरा — खुशी के हो ? के होइन ? तर यो हो हुन चाँहि । यो जीवित र जीवन्त छ । जे मैले खुशी भनेर बुझेको छु, जेमा म खुशी देख्छु, जेले म खुशी छु त्यो तपाईको लागि नहुन सक्छ । हुन त स्वभावतः सबै मानिस खुशी चाहन्छन् । चाहना राख्छन । खुशी छन । अलिकति ।आशिंक । पूर्ण । त्यसैले यो प्राप्य छ । हरेक व्यक्तिको प्रयत्न हुन्छ खुशी रहने । अरुलाई पनि खुशी बनाउने । राख्ने । तर अरुको खुशीको लागि आफनो खुशी बन्धक भैदिन्छ । कहिलेकाही सधै । यति हुँदा हुदै पनि खुशीको मानव जीवनमा सुन्दर भूमिका छ । आवश्यक छ । यो आफैमा सुन्दा अनौठो, दैनिक जीवनसँग सम्बन्धि भएकोले सामान्य, प्रशन्नता प्रकट गर्ने भएकोले रमाइलो र निश्चित मापदण्ड वा परिधिभित्र नअटाउने र नबाँधिने भएकोले असाधारण पनि हो कि जस्तो लाग्छ कहिलेकाही । खुशी मानिसको संवेगात्मक अवस्था हो । खुशीसँग मानसिक अवस्थाले नजिकको सम्बन्ध राख्छ । मानिसको मनोभावना र संवेग प्रकट गर्ने धेरै स्वभाव मध्य खुशी पहिलो स्थानमा पर्छ । के हुँदा मानिसलाई खुशी मिल्छ ? के हुँदा मिल्दैन ? र के हुँदा गुम्छ ? यो प्रश्न होइन आश्चर्यको विषय पनि हुन सक्छ । यद्यपि खुशीको स्थायित्व हुन्न । चलायमान छ । परिवर्तनीय छ । यो अमूर्त हुन्छ । क्षणभङुर छ । क्षणिकता खुसीको विशेषता । अझ भन्दा पानीको फोका जस्तै छ खुशी । मानवीय स्वभाव र प्रवृत्ति अजीवका हुन्छन । व्यक्ति पिच्छे फरक फरक हुन्छन । केही स्वभाव र गुण प्रकृति प्रदत्त हुन्छन । केही आर्जित । आर्जित स्वभावहरु स्वभावतः समाज सम्बन्धका परिणाम । परिवेश, पर्यावरण, परिस्थिति र अनुभका लहरा । प्राप्त ज्ञान चेतना र शिक्षाका उपज । ज्ञानेन्द्रीय तिनका सूचना बाहक । कर्मेन्द्रीय परिणामका कर्ता हुन स्वभाव र प्रवृतिका । वास्तमा खुशी भिन्न छ । यस्ता स्वभाव र प्रवृतिबाट । यो मानवीय गुण नभइ एक अवस्था विशेष हो । संवेगात्मक अनुभूति । भावनात्मक उडान संगै उचाइ। कहिलेकाहि लाग्छ खुशी र आनन्द उस्तै हुन कि । अह, आनन्द पलपल जोडिएको अनुभवको संगालो हो । आनन्दमा क्षणभङगुरता बढी छ खुसीको भन्दा । खुशी पनि स्थायी त हुन्न तर केही समयको आयु लिएर बाचेको हुन्छ आनन्द भन्दा । खुशी । पलभन्दा केही लामो दुरीको आयु छ । यात्रा छ खुसीसँग । आनन्द खुशीको सहयोगी चाँहि हो । यसरी हेर्दा दीर्घजीवि नभए पनि हुदाँ र नहुँदाको दोसाँधमा खुशी बाचेको छ । खुशी बिना मानिसको जीवन नै चल्दैन भन्ने त छैन तर खुशी जीवनको श्रृगार जस्तै हो । यसले चमक दिन्छ । आभा भर्छ । खुशी प्राप्त गर्ने श्रोतहरु व्यक्ति पिच्छे फरक फरक हुन्छन । व्यक्तिलाई खुशी बनाउने माध्यम पनि । खुसीको दिर्घायुपनका लागि उत्प्रेरकको अनिवार्यता र निरन्तरता पहिले शर्त हो । कारण बिना कार्य हुन्न भने झै । उत्प्रेरक नामक तत्वको पविर्तनसँगै खुशीका उचाइ पनि फरक पर्छ । समय र सन्दर्भले उस्तै उत्प्रेरक फिका हुन सक्छ । कसै कसैलाई । कतिबेला । हो आगोको झिल्का छै बल्छ खुशी । त्यो झिल्के खुशी हो । त्यो खुशी खेलाडीका प्रशंशकहरुमा बढी भेटिन्छ । एकछिन पछि त्यो पानीमा झरेको सलाइ काटी झै निभ्छ । अव यो भनौ खुसीलाई जीवन दिने वस्तु वा भावनाको उपस्थिति नै उत्प्रेरक । त्यो मुर्त र अमूत दुवै हुन सक्छ । प्रेमिकाको माया ममता वा आर्कषक जागिर अथवा अन्य यस्तै केहीले उत्प्रेरित गर्छ । जो उत्प्रेरक हो। हुन्छ। व्यक्तिलाई खुसी बनाउने वहानावालाको नाम । के त्यस्तो उत्प्रेरकको उपस्थिति सधै सम्भव छ कुनै व्यक्ति विशेषका लागि ? यो विचारणीय र सोचनीय विषय हुन सक्छ । वास्तवमा खुसी त्यो हो जसले मन शान्ति बनाउन छ । त्यसमा स्वयम् कर्ताको प्रत्यक्ष वा परोक्ष योगदान रहोस् । एउटा यात्रा पश्चात आउने सफल परिणाम । जीवनले दिनप्रति दिन चाल्ने पाइला । मनले पलपलमा भर्ने उडान । जीवनको दैनिकीबाट आउने प्रतिफल । जसले आत्मसंन्तुष्टि दिन्छ । त्यसैले भनिएको होला सन्तोषम् परम् सुखम् । यो भनाइलाई खुशीको नजिक राख्न सकिन्छ । खुशीका आन्तरिक र बाह्य कारण हुन सक्छन । नाप्न सकिदैन । तथापि । केही आधारहरुलाई उभ्याउदै तुलना गर्न सकिन्छ खुशीको उचाइ । सर्वमान्य नहुन सक्छन । नहुन पाउँछन । नी खुशी नाप्ने आधारहरु । मानिस खुसीलाई आफनो साथमा राख्न चाहन्छ । सधै । एक दुई गरेर खुशी जम्मा हुदैन । बाडन मिल्ने भए । पैचौ र सापटी लिन मिल्ने भए । के हुन्थ्यो होला ।कति साटिन्थे । एक आपसमा । कति थुप्रीन्थे थुप्रोमुनि । यसैले । न जोडेर जोडिन्छ। न घटाएर घटछ। अनौठो छ खुशी । यसको विशेषता । खुसी त्यो पानी हो जसले प्यास मेटाउछ । खुसी त्यो भोजन हो जसले भोक भगाउछ । खुसी त्यो विश्राम हो जसले थकाइ मेटाउछ । खुशी त्यो सपना हो जसले निन्दा लगाउँछ । बालको अबोधपना र निर्दोषिता जस्तै छ । वर्गीय रुप छैन खुशीको । भेगीय वनावट । हिमाल । पहाड । तराई । वर्णको रङ । कालो । गोरो । सबैमा एकनासको असमान बीच समान छ । खुशी । अचेल खुसी भने त्यो मात जस्तै भएको छ । पिउनु पर्ने । मादक पदार्थ जस्तै । रमाउनु पर्ने । कोही कसैको लागि । देखावटी खुशी । बनावटी व्यवहार । सजावटी मुस्कान । आफ्नो प्रतिस्पर्धीको पराजय होस । तब फेसबुकमा स्टाटस आउँछ । धेरै खुसी भए । उकाली चढेपछिको हालेको लामो सुस्केरा जस्तै । कसैको लागि खुसी त्यो पनि रहेछ । यस्तो नि बनाइन्छ । प्रकट गरिने विषय । जसलाई आफू मन पर्दैन उसको असफलता रम्ने खुशी । उहीँ खुसी कसैको पराजयमा रमाउने । उहीँ खुशी कसैको विजयमा । त्यो खुसी खासमा खुसी नभइ व्यक्तिगत मनोदशाको उपस्थिति हो । संवेगको बेलगाम कुदाइ हो । यस्तो हुनुहुन्थ्यो । भयो । अब अब रुपान्तरण गरौ । खुशीलाई । आऔ खुशीलाई खुशी राखौ । जय होस या पराजय । आफन्तको वा पराइको । खुशीलाई बन्धक नराखौ । आफन्तको विजयमा डुलाउन । खुशीलाई उन्मुत्त नछोडौ । पराइको पराजयमा चिच्याउन । आफू। तपाईं हामीलाई। मन पर्ने र नपर्नेका लागि खुशीको रङ फरक नगरौ । सधै उहीँ उमङ्ग । उहीँ रङ्ग। मनैदेखि खुशी । जीवनै खुशी । हरके ब्यक्ति खुशी । पलपल खुशी । एक, दुइर्, तीन, चार । यसरी जोडौ खुशीले सारा संसार ।