शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • नेकपाको गुटमा को शक्तिशाली ? नेताहरुको शैक्षिक योग्यता कति ?

नेकपाको गुटमा को शक्तिशाली ? नेताहरुको शैक्षिक योग्यता कति ?

  • शनिबार, असार २१, २०७६
नेकपाको गुटमा को शक्तिशाली ? नेताहरुको शैक्षिक योग्यता कति ?

२१ असार, काठमाडौं । आज शनिबारीय सामग्रीसहित पत्रपत्रिकाहरु प्रकाशित छन् । भारतको दबावमा सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय गरेको समाचार आजका सबै पत्रिकाहरुका मुख्य हेडलाइन बनेको छ ।

मन्त्रिपरिषद बैठकले बिहीबार फलफूल तथा तकारीमा विषादी परीक्षण नगरीकनै आयात गर्न पाउने निर्णय लिएको छ । यसअघि नेपालस्थित भारतीय दूतावासले समेत सरकारका उच्च अधिकारीहरुसँग भेटेर र पत्राचारै गरेर विषादी परीक्षण नगर्न दबाव दिएको समाचारमा उल्लेख छ । कान्तिपुरले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गराउने सरकारी प्रयास विफल भएसँगै आम उपभोक्ताको स्वास्थ्य थप जोखिममा परेको लेखेको छ । यसै समाचारमा नयाँ पत्रिका दैनिकले नाकामा प्रयोगशाला राख्नुको सट्टा विषादी परीक्षण नै नगर्ने निर्णय लिइएको उल्लेख गरेको छ ।

नयाँ पत्रिका दैनिकले नेकपाभित्रको गुट-उपगुटलाई केलाउने प्रयास गरेको छ । समाचारमा राखिएको तथ्यांकमा सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा केपी शर्मा ओलीभन्दा प्रचण्डलाई शक्तिशाली देखाइएको छ ।

ओली र प्रचण्डसँग सचिवालयमा समान ३-३ जना छन् । स्थायी समितिमा ओलीका १२ जना हुँदा प्रचण्डका १३ जना छन् । यसैगरी केन्द्रीय कमिटीमा ओलीका ११० र प्रचण्डका १३९ जना रहेको नयाँ पत्रिकाले लेखेको छ । यसैगरी अर्का नेता माधव नेपालसँग सचिवालयमा ३, स्थायी समितिमा १२ र केन्द्रीय कमिटीमा ९२ जना छन् ।

यो तथ्यांकलाई हेर्दा तेस्रो पक्ष नेपाल निर्णायक देखिन्छन् । त्रिपक्षीय सन्तुलनमा जो एक्लिन्छ, त्यो कमजोर हुने समाचारमा उल्लेख छ ।

प्रतिनिधिसभामा ओली पक्षका ५४, प्रचण्ड पक्षका ५४, नेपाल पक्षका ३८, बामदेव गौतम पक्षका ९ र तटस्थ १८ जना रहेको समाचारमा उल्लेख छ । यस्तै राष्ट्रिय सभामा तत्कालीन एमालेका २७ र तत्कालीन माओवादी १५ जना छन् ।

अन्नपूर्ण पोष्टले नेताहरुको शैक्षिक योग्यता पत्ता लगाउने कोसिस गरेको छ । केपी ओली नेतृत्वको कुल २४ सदस्यीय मन्त्रिपरिषदमा दुई जनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रमाणपत्र तह र तीन जनाले एसएलसीसम्म अध्ययन गरेको उल्लेख छ ।

नेकपा स्थायी समितिमै झण्डै २० प्रतिशत एसएलसीवाला रहेको, कांग्रेसमा पाँच जना डाक्टर र अधिकांश स्नातकोत्तर गरेका तथा राष्ट्रपति-उपराष्ट्रपतिले आईए पास गरेका अन्नपूर्णको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले मासिँदै हिमाली पर्यावरण शीर्षकको मुख्य समाचार प्रकाशित गरेको छ । आर्थिक आर्जनसँग जोडिएको यार्चागुम्बु पछिल्लो समय हिमाली क्षेत्रको वातावरण विनाशको कारक बनिरहेको समाचारको सार छ ।

राजधानी दैनिकले काठमाडौंको नागार्जुन नगरपालिकाले आफ्नो विकास योजनामा सार्वजनिक बाटो निर्माणलाई बेवास्ता गर्दै निजी प्लटिङका लागि सडक निर्माण गरेको पाइएको मुख्य समाचार लेखेको छ ।

चर्चामा

सम्बन्धित समाचार