सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • स्टक
  • किस्ता तिर्न ढिलो हुँदा बैंकले लग्यो भैंसी

किस्ता तिर्न ढिलो हुँदा बैंकले लग्यो भैंसी

  • शुक्रबार, असार २०, २०७६
किस्ता तिर्न ढिलो हुँदा बैंकले लग्यो भैंसी

किस्ता तिर्न ढिलो हुँदा जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचागाउँका दत्त सार्कीको भैँसी बैंकले लगेको छ । घरमा कोही नभएका वेला स्वावलम्बन बैंकले भैँसी लगेको उनले बताए । उनले गत वर्षको असारमा भैँसी खरिद गरेका थिए । त्यसका लागि जुम्लास्थित स्वावलम्बन बैंकबाट ८० हजार ऋण निकालेका थिए । ऋण निकाल्दा मासिक ६ हजार ६ सय ६७ रुपैयाँ किस्ता तिर्नुपर्ने सहमति भएको थियो । गत १० असारमा ऋण निकालेका सार्कीले गत माघसम्म मासिक किस्ता पनि तिरेका थिए । उनले गत ६ माघमा किस्ता तिरेको बैंकले जनाएको छ ।

त्यसयता किस्ता तिरेका छैनन् । ‘पैसा भएन । यताउताबाट ऋण निकाल्दा समयमा मिलेन । किस्ता तिर्न केही महिना ढिला भयो,’ उनले भने । ८० हजारमध्ये ४५ हजार तिर्न बाँकी छ । ‘त्यो पैसा पनि तिर्छु भनेकै छु, तिर्दिनँ भनेको छैन,’ सार्कीले भने । ढिला भए पनि बैंकमा गएर तिर्ने जानकारी दिएको उनले बताए । तर, बैंकले वास्ता गरेन । घरमा कोही नभएका वेला यही १० असारमा बैंकको टोली भैँसी लिएर गएको उनले बताए । ‘केही ढिला भयो । एकमुष्ट तिर्नका लागि पैसा जम्मा गर्दै थिएँ,’ सार्कीले गुनासो गरे, ‘घरमा कोही थिएनौँ, बैंकवाला आएर भैँसी लगेछन् ।’

स्वावलम्बन बैंक, जुम्लाका सहायक प्रबन्धक भरतबहादुर बोहोराले ६ महिनासम्म किस्ता नतिरेपछि भैँसी लिएको बताए ।  ‘ऋणीलाई पटकपटक ऋण चुक्ता गर्न सुझाब दिँदा पनि तिरेनन् । ६ महिना ढिला गरेपछि चेतावनीका लागि भैंसी उठाएको हो,’ सहायक प्रबन्धक बोहोराले भने । बैंकले सार्कीको घरमा ल्याएको भैँसी अर्को गाउँका बासिन्दालाई हेरविचार गर्ने जिम्मा दिएको छ ।

१८ प्रतिशतसम्म ब्याज
स्वावलम्बन बैंकले जुम्लाको गुठीचौर, तातोपानी र तिला गाउँपालिका तथा चन्दननाथ नगरपालिकामा लघुवित्त कार्यक्रम सञ्चालन गरेको छ । यसअन्तर्गत समूह बनाएर व्यवसायका लागि ऋण लगानी गर्दै आएको छ । किसानलाई ऋण लगानी गर्दा वार्षिक १८ प्रतिशतसम्म ब्याज लिने गरेको छ । समूहमार्फत पाँच करोड ६८ लाख रुपैयाँ ऋण लगानी गरिएको बंैकका सहायक प्रबन्धक बोहोराले बताए । बैंकले जुम्लामा गत वर्ष १७ करोड २४ लाख कारोबार गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार