शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • छापामा आज : आफन्तबाटै ४ वर्षमा ६८४ मारिए

छापामा आज : आफन्तबाटै ४ वर्षमा ६८४ मारिए

  • बुधबार, असार १८, २०७६
छापामा आज : आफन्तबाटै ४ वर्षमा ६८४ मारिए

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले संक्रमणकालीन न्यायिक संयन्त्रमा देखिएको रिक्ततादेखि अपराध, विश्वविद्यालय बेथिति, प्रदूषण, आईफा अवार्डलगायतका विषय उठाएका छन् ।

राजधानी दैनिकले ४ वर्षमा आफन्तबाटै ६८४ जना मारिएको डरलाग्दो तथ्यांक प्रस्तुत गरेको छ । यो अवधिमा श्रीमानबाट श्रीमतीदेखि आमाबाबुबाट छोराछोरीसम्मको हत्या भएको राजधानी समाचारमा उल्लेख छ । तथ्यांकअनुसार पछिल्ला चार वर्षमा २७५ जनाले श्रीमतीको हत्या गरेका छन् । त्यस्तै, ५८ श्रीमतीले श्रीमान्को ज्यान लिएका छन् । १५ जना बाबुआमाले आफैंले जन्माएको सन्तानको जीवनलीला समाप्त पारिदिएका छन् ।

‘आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर र डरलाग्दो प्रश्न चिह्न सिर्जना गरिदिएको छ’, राजधानीमा महेश्वर गौतमले लेखेका छन् ।

कान्तिपुरले ‘तीन नेतामा अल्झियो संक्रमणकालीन न्याय’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार अध्यक्ष कसलाई बनाउने भन्नेमा राजनीतिक सहमति नजुट्दा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई आयोग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पुनर्गठनमा ढिलाइ भइरहेको छ ।

संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र विपक्षका तीन शीर्ष नेताहरुबीच रस्साकस्सी हुँदा दुई आयोग तीन महिनादेखि पदाधिकारीविहीन छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ३ महिनाअघि सिफारिस समिति बनेको भए पनि राजनीतिक सहमति नजुटेकाले उसले समेत सिफारिस गर्न सकेको छैन ।

कान्तिपुरमा घनश्याम खड्का लेख्छन्– बाहिरी रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै आयोगमा पदाधिकारी नियुक्तिबारे मिलेर अघि बढ्न देउवा र प्रचण्डलाई भनेका छन् । यथार्थमा भने नेकपाभित्रको सन्तुलन मिलाउन र प्रचण्डलाई साइजमा ल्याउन उनैले यो मुद्दा सल्ट्याइहाल्न नचाहेको जानकारहरुको बुझाइ छ ।’

त्रिभुवन विश्वविद्यालयभित्रको बेथिति पनि आजको कान्तिपुरमा पढ्न सकिन्छ । समाचार अनुसार त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ वटा डिग्रीको प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेको अधिवक्ता सुरेन्द्रकुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका विषयमाहरुमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो ।

नयाँ पत्रिकाले कृषि विश्वविद्यालयको बेथिति उधिनेको छ आज । कृषिमा विशिष्ट जनशक्ति उत्पादनका लागि सरकारकै लगानीमा स्थापना भएको कृषि तथा वनविज्ञान विश्वविद्यालयले मानविकीअन्तर्गतका कार्यक्रम चलाउँदै आएको उसको ठम्याइ छ । नयाँ पत्रिकाका अनुसार आफ्नै ऐनविपरीत विश्वविद्यालयको प्रस्तावनामा समेत नसमेटिएको संकायअन्तर्गतका विषयमा कृषिले पीएचडी (विद्यावारिधि) कार्यक्रम सञ्चालन गरेको छ । यो विषयमा मानविकीकी विषयविज्ञसमेत छैनन् ।

यार्सा नभेटिएपछि जुम्लाका स्थानीय पाटनबाटै कालापहाडतर्फ लागेको खबर कारोबारमा छ भने नागरिकले ‘मास्क बिना हिँड्नै मुस्किल’ शीर्षक दिएर काठमाडौंको प्रदूषणबारे समाचार बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा केही दिनअघि आयोजित एक कार्यक्रममा काठमाडौंमा धूलो कम हुँदा माक्स लगाउने घटेको टिप्पणी गरेका थिए । तर, नागरिकले सर्वसधारणसँग लिएको प्रतिक्रियामा अधिकांशले प्रधानमन्त्रीको भनाइ गलत रहेको बताएका छन् ।

अन्नपूर्णले पशुपतिका मूर्ति खोजखबर गरेको छ । समाचार अनुसार पशुपति क्षेत्रका कैयन मूर्ति गायब भएका छन् तर कति कहाँ पुर्याइए भन्ने कोषलाई नै थाहा छैन ।

चर्चामा

सम्बन्धित समाचार