• होमपेज
  • समाज
  • दशरथचन्दले सुत्केरीलाई दियो थप दुई हजार भत्ता

दशरथचन्दले सुत्केरीलाई दियो थप दुई हजार भत्ता

  • आइतवार, असार १५, २०७६
दशरथचन्दले सुत्केरीलाई दियो थप दुई हजार भत्ता

 भगीरथ अवस्थी

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षदेखि नगर क्षेत्रका सुत्केरी आमालाई दुई हजार थप भत्ता दिने भएको छ। नगर उपप्रमुख मातृशिशु सुरक्षा योजना अघि बढाइने छ। नीति तथा कार्यक्रममा समावेश गरेर कार्यक्रम थालिने छ। नेपाल सरकारले उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्तामा नगरपालिकाले थप दुई हजार भत्ता दिने नगर उपप्रमुख मीना चन्दले घोषणा गरिन्।

‘हाम्रो समुदायमा सुत्केरी भएको बेला अझै पनि नछुने चलन कायमै रहेको छ’, नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै उनले भनिन्,‘ सुत्केरी भएका बेला आमालाई थप पोषिलो खानेकुराको आवश्यकता पर्छ। त्यसैले पोषक तत्व जुटाउन सहज होस भनेर यो कार्यक्रम ल्याएका हौं।’

नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था मार्फत सुत्केरी आमाको हातमा भत्ता पु¥याइने छ। ‘सुत्केरी आमा र नवजात शिशुको पोषणमा सुधार ल्याइ संस्थागत सुत्केरी संख्या बढाउने हाम्रो लक्ष्य हो’, उनले भनिन्,‘ सोही लक्ष्यलाई पुरा गर्न कार्यक्रम सफल बन्ने छ।’ नगरपालिकाले घोषणा गरेको कार्यक्रमले संस्थागत सुत्केरीको संख्या बढ्ने र आमा र शिशुको स्वास्थ्यप्रति घरपरिवारको ध्यानाकर्षण हुने स्वास्थ्य कार्यालय बैतडीकी प्रमुख निशा जोशीले बताइन्।

अनाथ बालबालिकाका लागि संरक्षण केन्द्र स्थापना पनि गरिने भएको छ। प्रत्येक वडामा दुईवटा विपन्न आवास गृह निर्माणका लागि ५० हजारदेखि एकलाख सम्म बजेट विनियोजन गरिएको छ। शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नमूना सामुदायिक विद्यालयको अवधारणा, स्वास्थ्य संस्थाको सबलिकरण, सडक यातायातमा सबैको पहुँच जस्ता कार्यक्रम अघि सारिएको छ।

नगरपालिकाले ७४ करोड ६३ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको हो। बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए। उनले भने ‘विगतका लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिदै आगामी वर्षमा केही नयाँ कार्यक्रम थपेका छौं। बजेट र कार्यक्रमले नगर क्षेत्रमा सुधार ल्याउने हाम्रो विश्वास छ।’

अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार