बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • स्टक
  • ‘टिस्यु कल्चर प्रविधि’ बाट केराका बेर्ना उत्पादन

‘टिस्यु कल्चर प्रविधि’ बाट केराका बेर्ना उत्पादन

  • आइतवार, असार १५, २०७६
‘टिस्यु कल्चर प्रविधि’ बाट केराका बेर्ना उत्पादन

 प्रमानन्द पाण्डे

टीकापुर : केराको पकेट क्षेत्रका रुपमा विकास हुँदै गरेको टीकापुरमा ‘टिस्यु कल्चर प्रविधि’ बाट केराको बेर्ना उत्पादन सुरु भएको छ। केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा किसानले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन सुरु गरेका हुन्।

बीउ अभावका कारण अपेक्षाअनुसार केराखेती फस्टाउन नसकेपछि टीकापुर नगरपालिका ४ का टेकेन्द्र धामी र देवीराम कोइरालाले केराको बेर्ना उत्पादन थालेका हुन्। उनीहरूले भारतको गुजरात राज्यस्थित अहमदाबादको एबीसी बायोटेक्नोलोजी कम्पनीबाट टिस्यु कल्चर प्रविधि सम्बन्धी तालिम लिएका छन्।

ललितपुरमा रहेको जी सेभेन कम्पनीको प्राविधिक सहयोगमा १० कठ्ठा जमिनमा स्थापना गरिएको एग्रिनेट र हाइटेक नर्सरीमा नेट हाउस र तापक्रम व्यवस्थापन गर्ने फोगर निर्माणमा झण्डै २० लाख रुपैयाँ लगानी भएको छ।

‘अत्याधुनिक ल्याबबाट उपचारपछि उत्पादन गरिएका केराका बेर्नामा रोग कम लाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनासको उत्पादन दिने हुनाले कृषकको आकर्षण बढ्दै गइरहेको छ’, कोइरालाले भने, ‘गत वर्ष ७० हजार बेर्ना बिक्री गरेकोमा यस वर्ष हामीले झण्डै ३ लाख बढी विरुवा बिक्री गरेका छौं।’

टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको विरुवामा रोगसँग लड्ने क्षमता हुने हुँदा रोपेपछि बोट पहिलो हुँदै जाने, गुवो कुहिने र बोट सुक्दै जाने लगायतका रोग नलाग्ने तथा केराको उत्पादकत्व समेत वृद्धि हुनाले यो प्रविधि लोकप्रिय बन्दै गएको हो।

नर्सरीले उत्पादन गरिरहेका विलयम र जिनाइल जातका केरा कम समयमा कम लगानीमा धेरै उत्पादन हुने गरेको केरा किसान विनोद साह बताउँछन्।

‘टिस्युकल्चर विरुवाबाट कम समयमा कम लगानीमा राम्रो उत्पादन भएको पाएका छौं’, साहले भने, ‘विरुवाबाट पनि नहुने होइन, तर कृषक पछिल्लो समय टिस्यु कल्चरमा आकर्षित भइरहेका छन्।’

टीकापुर क्षेत्रमा मात्रै झण्डै ५०० हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ।

के हो टिस्युकल्चर प्रविधि ?

टिस्युकल्चर प्रविधि एउटा स्वस्थ विरुवाको निकै सानो कोष (सेल) बाट हजारौं विरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो। कुनै पनि स्वस्थ विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इञ्जिनियर (प्राविधिक) ले विरुवा उत्पादन गर्दछन्। एउटा कोषलाई हाइटेक ल्याबमा केमिकलहरूको प्रयोग गर्दै हुर्काउँदै साना साना कोषहरूमा विभाजन गरेर हजारौं विरुवा उत्पादन गर्न सकिन्छ।

विरुवाको कोषलाई हुर्काउन ल्याबमै ६ महिनासम्म लाग्दछ। वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै ३ महिनासम्म विरुवा हुर्काइन्छ। ३ महिनासम्म ल्याबमा हुर्किएको विरुवालाई जहाँको माटोको लागि तयार गरिएको त्यही ठाउँमा ग्रिन हाउस निर्माण गरेर राखिन्छ।

झण्डै ३ महिना ग्रिन हाउस नर्सरीमा हुर्किएपछि मात्र यो विरुला रोप्नका लागि तयार हुन्छ। कृषि विज्ञ कुलप्रसाद तिवारीका अनुसार टिस्यु कल्चर विरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्ष लाग्छ।

‘अत्याधुनिक बायोटेक ल्याबभित्र केमिकलहरूको सहायताले हुर्किने हुनाले विरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्षको समय लाग्छ’, तिवारीले भने, ‘नर्सरीमै निकै सजगताका साथ हुर्किने हुनाले टिस्युकल्चर विरुवा अन्यको तुलनामा रोग कम लाग्ने, बढी फल दिने, रोगसँग लड्ने क्षमता बढी हुने हुन्छ।’

यसरी हुर्किएको विरुवालाई विभिन्न देशहरुमा पुर्‍याउन सजिलो हुन्छ। निकै सानो आकारमा विरुवा हुने हुँदा ढुवानी गर्न सजिलो हुने तिवारी बताउँछन्। लाखौं विरुवा एउटै गाडीमा ल्याउन सकिन्छ।

केरा मात्र नभई फलफूलका अन्य विरुवाहरु समेत टिस्युकल्चर प्रविधिबाट उत्पादन गर्न सकिने कृषि विज्ञ तिवारी बताउँछन्। उनका अनुसार नेपालमा टिस्युकल्चर प्रविधिको ल्याब छैन। भारत लगायतका अन्य देशबाट टिस्यु कल्चर गरेर ल्याइएको विरुवा केही महंगो पर्न जान्छ।

नेपालमै यसको ल्याब र दक्ष जनशक्ति उत्पादन गर्न सके विरुवाको बेर्ना उत्पादन गर्न सस्तो हुने उनले बताए। हाल नेपालमा टिस्युकल्चर प्रविधिका विरुवाहरु विशेषगरी भारतबाट आउने गरेका छन्।

अन्नपूर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार