शुक्रबार, पुस २६, २०८१

वेस्ट इन्डिज निरीह

  • शुक्रबार, असार १३, २०७६
वेस्ट इन्डिज निरीह

लन्डन : वेस्ट इन्डिज आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल होडबाट बाहिरिएको छ । विश्वकपअन्तर्गत बिहीबार भएको खेलमा भारतसँग १२५ रनले पराजित भएपछि क्यारेवियन टोलीको विश्वकप यात्रा समूह चरणबाटै टुँगिएको हो । जारी विश्वकपमा वेस्ट इन्डिजले श्रीलंका र अफगानिस्तानसँग खेल्न बाँकी छ । यसअघि अफगानिस्तान र दक्षिण अफ्रिका पनि सेमिफाइनल होडबाट बाहिरिसकेका छन्।

भारतले दिएको २६९ रनको मध्यम लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निकै खराब प्रदर्शन गरेको थियो । लगातार विकेट गुमाएको वेस्ट इन्डिजले ३४.२ ओभरमा अलआउट हुँदै १४३ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका सुनिल एब्रिसले सर्वाधिक ३१ रन बनाए । यसैगरी निकोलस पुरनले २८, सिमरन हेटमायरले १८, केमार रोचले १४ र सेल्डन कोट्रेलले १० रन बनाए । वेस्ट इन्डिजलाई सस्तैमा समेट्न मोहमद सामीले चार विकेट लिए । यसैगरी जसप्रीत बुमराह र युजभेन्द्र चाहलले दुई÷दुई तथा हार्दिक पाण्ड्या र कुलदीप यादवले एक÷एक विकेट हात पारे ।

यसअघि म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खेल्दै सात विकेट गुमाएर दुई सय ६८ रनको योगफल खडा गरेको थियो । भारतका लागि कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीले अर्धशतकीय पाली खेले।

कोहलीले ८२ बलमा आठ चौकाको मद्दतमा ७२ रन बनाए । यसैगरी धोनीले ६१ बलमा दुई छक्का र तीन चौकाबाट ५६ रन जोडे । यसैगरी लोकेश राहुलले ४८, हार्दिक पाण्ड्याले ४६, रोहित शर्माले १८ र विजय शंकरले १४ रन बनाए ।

वेस्ट इन्डिजका केमार रोचले तीन विकेट लिए । यसैगरी सेल्डन कोट्रेल र कप्तान जासन होल्डरले दुई÷दुई विकेट हात पारे ।

विश्वकपमा ६ खेल खेलिसकेको भारत अपराजित छ । भारतले यसअघि चार खेल जितेको थियो भने एक खेल भने वर्षाका कारण रद्द भएको थियो । यसैगरी वेस्ट इन्डिजले भने सात खेल खेलिसक्दा पाँच खेलमा पराजय भोगेको छ । क्यारेबियन टोलीले एक खेलमात्र जित्न सकेको छ । वेस्ट इन्डिजको पनि एक खेल वर्षाका कारण रद्द भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार