• होमपेज
  • विचार/ब्लग
  • प्रश्न केलाउँदै उत्तर खेलाउँदै बाजुराको गौमूलतिर

प्रश्न केलाउँदै उत्तर खेलाउँदै बाजुराको गौमूलतिर

  • आइतवार, असार ८, २०७६
प्रश्न केलाउँदै उत्तर खेलाउँदै बाजुराको गौमूलतिर

लेखक : खडक बाेहरा

बाजुराको जिल्लाको सदरमुकाम मार्तडीदेखि करिब १४ किलोमिटरको दुरीमा छ गौमूल गाउँपालिकाको कार्यालय । मार्तडीदेखि लगभग ४५ मिटेनदेखि १ घण्टाको जीपको यात्रा गरेपछि सजिलै पुगिन्छ यहाँ । भीरको पीर कच्ची र  केही भाग साघुरो सडक, रयाप गीतको तालमा रफतारको गाडी गुडाइ छ युवा गुरुजीको । यहि बाटो मै पर्छन बहुलीगाड खोला र बुढीगंगा नदी । बुढीगंगा नदीको झोलुगे पुल पार गरेपछि किनारमै छ गौमूल गाउँपालिकाको प्रवेशदार । लेखिएको छ गेटमा राता अक्षरले स्वागतम् । केही खुडकिला उकाली पार गरेपछि आउँछ गौमुल गाउँपालिकाको कार्यालय घटमुनामा लेखिएको ठाउँ । वारीपारी अग्ला पहाड, तल नदी र त्यसको केही माथिको चौरमा अवस्थित छ कार्यालय । टिनका पाताले छाएको अस्थायी बाँस छ कार्यालयको । माटोभन्दा बढी ढुगा भएपनि फूलका बोटले सुन्दर देखिएको छ आँगन ।

मैले गाउँपालिका आगन टेक्नु केही समय अघि गापा अध्यक्ष हरि रोकायज्यूलाई फोन गरेर भेटने समयको लागि अनुरोध गरे । उहाँ सहमत हुनुभयो । त्यसपछि हामी तिनै (म, राजेश पौडेल सर र प्रगुन शमशेर राणा सर ) जना उहाँको कार्यकक्ष प्रवेश गरयौ । अध्यक्ष ज्यूको हार्दिकता र स्वागतसँगै परिचय कै क्रममा हाम्रो भेटको उदेश्य पनि स्पष्ट पारयौ । हाम्रो उदेश्य थियो वर्तमान अवस्थामा गाउँपालिकाका विद्यालय र समुदायमा महिनावारी स्वच्छता व्यवस्थापनको अवस्था कस्तो छ ? यो विषयसँग सम्बन्धित योजना गाउँपालिकाको प्राथमिकतामा पर्छ कि पर्दैन, यदि अन्य दातृ निकायले उक्त विषयलाई लक्षित गरी परियोजना सञ्चालन गरे भने सहकार्य र समन्वयका लागि स्थानीय सरकारको भूमिका के कस्तो रहन्छ ? लगायतका थुप्रै जिज्ञासाहरु थिए हाम्रा । अध्यक्षले गाउँपालिकाको संक्षिप्त जानकारी दिनुभयो । त्यसपछि विषय प्रवेश गर्नुभयो । खास गरी महिनावारी व्यवस्थापन र अथवा छाउपडीको अन्त्यका लागि सरकारी र गैरसरकारी तवरबाट बेला बेलामा विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरिए तथापि जनचेनताको अभावका कारण सम्बोधन गर्नु पर्ने केही विषयहरु रही रहेको कुरा जानकारी दिनुभयो । गाउँपालिकको अगुवाइमा गत वर्ष स्थानीय धामी तथा झाक्रीहरुलाई अवलोकन भ्रमणका लागि काठमाडौ लगेको र मुख्य गरी डा. योगी विकासानन्दको प्रशिक्षणमा सहभागी गराउँदा पनि सहभागी सबैको व्यवहारमा अपेक्षाकृत परिवर्त नदेखिएको कुरा स्मरण गराउनुभयो । थप्दै भन्नुभयो भौतिक विकाससँगै मानवीय चेनताको विकासको पनि खाचो छ । यति कुरा गर्दा गर्दै बिहानको १० बजेको थियो । त्यतिकैमा बाहिर साउन्ड सिस्टममा राष्ट्रिय गानको धुन बज्यो । अध्यक्ष आफू बसेको ठाउँबाट जुरक्क उठनुभयो । हामी पनि अध्यक्षको कार्य कक्षमै आफू बसेकै ठाउँमा उभिएर राष्टिय गान गाउन थाल्यौ । राष्ट्रिय गान सकिएपछि फेरि पहिलेकै विषय केन्द्रित भयौ । प्रसङ्गबस अध्यक्षले भन्नुभयो, राष्ट्रिय गान गाउने अभ्यास केवल विद्यालयमा मात्र सीमित गर्नु हुन्न अब प्रत्येक सरकारी कार्यालयमा पनि कार्यालय समय सुरु हुदाँ गाउनु उत्तिकै आवश्य छ । जबसम्म हामी सबैमा राष्ट्रिय भावना आउँदैन तबसम्म उन्नति र प्रगति कुराले मात्र सार्थकता पाउदैन । देश सम्झने गर्विलो यो भन्दा अन्य माध्यम के नै होला र ?  उहाँको अर्को बैठक सहभागी हुनु पर्ने भएकोले हाम्रो कार्यक्रमको उदेश्यप्रति सहकार्य र समन्वय गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गदै एकअर्काबाट बिदा भयै । हामी भने उही कुराको स्मरण गर्दै सहयोगका लागि धन्यवाद दिदै सरासर आफनो गनतव्यतिर लम्क्यौ ।

गौमूल गाउँपालिकाको कार्यालय घटमुनादेखि करिब आधा घण्टाको दुरीमा रहेछ कीर्तिचौर माध्यमिक विद्यालय । विद्यालयको प्रवेशद्वारसम्म ग्रामीण रोडले छोएको छ । मौसमी सडक भएकाले तत्कालै गाडी गुडने सम्भावना कमै छ । यो विद्यालयमा १ देखि १२ कक्षासम्म पढाइ हुदो रहेछ । ५सय ७६ जना विद्यार्थी रहेछन । त्यसमा पनि छात्राको संख्या छात्रको भन्दा २ प्रतिशतले बढी रहेछ ।

विद्यालयमा पुग्दा सबैजना शिक्षकहरु बाहिर चौरमा उभिएर छलफल गरिरहेका थिए । त्यतिनै बेला हामी पुग्यौ । नमस्कारको अभिभादनसँगै हामी शिक्षहरुसँगै विद्यालयको स्टाफ रुममा प्रवेश गरयौ । सबै जना शिक्षकहरुसँग हाम्रो एकतर्फी परिचय भयो । विद्यालयमा आउनुको उदेश्य प्रष्ट पारयौ । शिक्षकहरुबाट केही प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरयौ । अनुसन्धान नभए पनि सामान्य जस्ता लाग्ने तर गहिरा थिए प्रश्नहरु । एक एक गरी प्रश्न सोध्दै गयौ । विद्यालयमा छात्रामैत्री शौचालय छ कि छैन, महिनावारी भएको बेला छात्राहरु विद्यालय आउँछन कि आउदैनन्, धारामा शुद्ध पानीको व्यवस्था छ कि छैन ? महिनावारी भएको बेला छात्राहरुले सेटेनरी प्याड प्रयोग गर्छन कि गर्दैनन् ? अहिलेसम्म सेनेटरी प्याड सम्बन्धी कुनै शिक्षक शिक्षिकाले तालिम लिनु भएको छ कि छैन ? लिनु भएको छ भने प्रयोगमा आएको छ कि छैन ? आदि इत्यादि ।

शिक्षक शिक्षिकाहरुसँगको सौहार्दपूर्ण छोटो अन्तक्रिया र विद्यालयको शौचालय तथा खानेपानीको अवस्था अवलोकन पश्चात हामीलाई के स्पस्ट भयो भने विद्यालयमा शौचालयको अवस्था नाजुक रहेछ । विद्यार्थीको अनुपातमा अहिले बनेको शौचालय संख्या एकदमै कम रहेछ । झन त्यसमा महिनावारी स्वच्छता व्यस्थापनसँग जोडिएको कुरा नौलो नै हुने भयो । उच्च मावि विद्यालय हुनका लागि आवश्यक न्यूनतम मापदण्ड र आधारभूत आवश्यकताहरु अभाव नै रहेको पाइयो । गुणस्तरीय शिक्षा त परको कुरा हो । अवश्य पनि गाउँपालिले आफनो ठोस योजनामार्पmत यस्ता समस्या समाधान गर्ने छ भन्ने अपेक्षा छ । प्रसङ्ग सेनेटरी प्याड बनाउने तालिमको । विद्यालयका एक जना शिक्षकले सेटेटरी प्याड सम्बन्धी तालिम लिनु भएको रहेछ मार्तडी बाजुरा गएर । तत्पश्चात् विद्यालयका छात्राहरुलाई सेटेनरी प्याड निर्माण सम्बन्धी तालिम दिनु पर्ने रहेछ, तर आश्चर्यको कुरा ती तालिम प्राप्त शिक्षकले कपीको पानामा सेनेटरी प्याडको चित्र बनाए छन र विद्यार्लीलाई पनि बनाउन लगाए छन र भने छन यही हो सेटेटरी प्याड भनेको । तर वास्तवमा प्याड कहिले पनि बनाएन छन ।सुरुमा स्पस्ट कारण बताउने नचोहे पनि बाम्बार सोधीएको एउटै प्रश्नको हैरानीले भन्न बाध्य भए अपठयारो लाग्यो प्याड बनाउ सिकाउन । कारण रहेछ पुरुष शिक्षक भएर पनि महिलाले महिनावारु भएको बेला लगाउने प्याड बनाउने भन्ने अरुको अनावश्यक प्रश्नको सामना गर्ने डरले । हामी कहाँ अझ पनि शिक्षित होस् वा अशिक्षित यो काम महिलाले र त्यो काम पुरुषले गर्ने भनेर टयाग लगाए छुटयाउने प्रचलन कायमै छ । केही जैविक गुणको कारणले गर्न नमिल्ने काम बाहेक अरु कार्य महिला र पुरुष जसले गर्दा पनि हुन्छ भन्ने चेतनाको विकास हुनु आवश्यक छ । आजसम्मको हाम्रो शिक्षा प्रणाली त्यही कागजको पानामा कोरीएको सेनेटरी प्याडको चित्र जस्तै छ । तालिमको तालमेल व्यवहारसँग हुनु पर्ने हो न कि कागज र अक्षरसँग मात्र । व्यवहारिक प्रयोगमा वास्ता गर्नु पर्नेमा वेवास्ता भएको छ । कागजमा सबै छ व्यहारमा शून्य । त्यसैले पढाइ सिकाइ अथवा तालिमको उपादेयता  मान्छेको दैनिक व्यहारसँग जोडिनु पर्छ । जसले गर्दा आइपर्ने व्यवहारिक समस्या समाधानमा सहयोगी बनोस् ।

हरके जिज्ञासाको उत्तर मात्र समाधान होइन वस्तुतथ्य उत्तरको खोजी गरी त्योसँगै सहयात्रा गर्नु आजको युगको आवश्यकता र अपरिहार्यता हो न कि ऊ त्यही हो सगरमाथा भनेर चोर ओलाले परैबाट देखाउनु हो । यस्तो उत्तरसँग गरिएको यात्राले कार्य योजनालाई कुशलताका साथ प्रगति र सम्बृद्धिको गनतव्यमा पुरयाउन मार्ग निर्देश गर्छ ।

यसरी केही जिज्ञासाहरुको भारी घटाउदै र उत्तरको भारी बढाउदै केही समय यात्रामा लाग्यौ तेस्रोतिर । गनतव्इ थियो मानाकोट स्वास्थ्य चौकी र मानाकोट मावि । करिब एक घण्टाको तेस्रो बाटो हिडेपछि उकालो बाटोतिर लाग्यौ । तलतिर रोपाइ गर्ने खेत । कहि आलु लगाएको त कतै गहुँ काटेर गाँजाका बोट उम्रेका बाझो जग्गा । प्राय जस्तो पहाडरितका खेतमा बाढीपछी खोलाकिनारको भरिएको बालुवा झै गहुँ काटेपछि आफै उम्रने गर्छ खेत खेतमा गाजाका बोट । जसलाई नेपालको प्रचलित कानूनले अवैध मान्छ । नजिकै खोला । प्रशस्त बगिरहेको कञ्चन पानी । त्यही खोलाले उर्जा भरेर जीवन दिएका दुईवटा साना जलविद्युत आयोजना । तिनैको सहायताले गाउँलाई झिलीमिली पार्ने बिजुली बत्ती ।

नयाँ ठाउँ, नया गाउँ, नयाँ बाटो भएपछि पाइला पनि नयाँ, साथीको साथ, सम्वाद र संगत नयाँ, यति भएपछि अनुभव पनि त नयाँ नै हुने भयो नि ।

धेरै पैदल नहिडे पनि शरीरले अलिअलि थकाइ महसुस गरिसकेको छ । दिउसोको खाना १२ बजे खाने योजना थियो मानाकोट स्वास्थ्य चौकी पुगेर । बाटो मै दिउसोको १ बजी सकेको थियो हिडदा हिडदै । आधा घन्टा जतिका पैदल यात्रा भने अझै बाकी थियो गनतव्यसम्म पुग्न । काम गरेपछि न हो गल्तीको सम्भावना पनि हुने । त्यसै हिडदै गयौ र पो बाटो बिर्से जस्तो लाग्यो हामीलाई । हु न त हाम्रोतिर एउटा उखान छ, “बाटो भुले दिनभरी दुःख मती भुले जीवनभरी दुःख ।” त्यसैले हामीले पनि बाटोमा गाई चराउदै गरेकी दिदिलाई मानाकोट स्वास्थ्य चौकी जाने बाटो यही हो भनेर हातले देखायौ र एकिन गर्न खोज्यौ । उहाँले हामीले रोजेको बाटो मै सही थप्दै हो भन्नुभयो । बाटो छेउमै तिमीलाको रुख थियो । सानो छदा तिमीलाको दाना खाएको याद आयो र मैले सोधी हाले, दिदि यो तिमीलाको दाना खान मिल्ने हो, मेरो प्रश्न भुइमा खस्न नपाउदै उहाँले भन्नुभयो, खान त मिल्छ तर अहिले पाक्दैन । पहिला पहिला त पाक्थ्यो र खान पनि मिल्थ्योे अहिले भने हुन्न । बाटो छेउमै पर्ने भएकोले आवत जावत गर्ने महिनावारी भएकी महिलाले छोएको हुनाले यो तिमीलाको दाना नपाक्ने भएको हो । मैले मेरा सहकर्मी साथी प्रगुन र रमेश पौडेललाई उहाँले भनेको कुरा नेपालीमा बुझाए उहाँ अचम्म पर्नुभयो । महिनावारी जस्तो स्वाभाविक प्रक्रियालाई देवी देउतासँग जोडेर महिलाको स्वास्थप्रतिको अस्वस्थ व्यवहार र सकिर्ण सोचले विभेद गर्नु कतिको न्याय सगत होला । यसको पछाडिको कारण चेनता तथा शिक्षा नै हो । थोरै मात्रले उच्च शिक्षा हासिल गर्ने अवसर पाएका छन यो गाउँमा । तर शिशित भएर पनि महिनावारी  सरसफाइको विषय अझै ओझेमा परेको छ । हुन त सुदुरपश्चिम र मध्यपश्चिमको समग्र विकास र उन्नतिको लागि राज्यले गर्ने कतिपय नीतिगत सवालमा सुधारको आवश्यकता छ यस्ता क्षेत्रको भौतिक तथा मानवीय विकासका लागि । राज्यको केन्द्रिय तथ्याङ्क विभाग, राष्ट्रिय योजना आयोज नेपाल सरकारलाई के थाहा छैन र ? मानव विकासको हिसाबले बाजुरा नेपालका सबै जिल्लाको सूचिमा अन्तिम लरहबाट पहिलो नम्बरमा छ भनेर । यसकारण राज्यको नजरमा यस्ता दुर्गम तथा पिछडिएका जिल्ला तथा क्षेत्रको न्यायोचित विकासका सवालमा स्पस्ट हुनु जरुरी छ नीतिगत र व्यवहारिक हिसाबले पनि ।

यसरी कुरा खेलाउदै, केही समयको हिडेपछि हामी मानाकोट स्वास्थ्य चौकी पुग्यौ । बाटो उकालो थियो विश्राम गर्दै वारीपारी हेर्दै गयौ अघि बढयौ । पारी पटटी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत ज्याकेट र टोपी लगाएका केही महिला पुरुषहरु काम गरिरहेका टाढैबाट चिनिन्थे । त्यो बाटो स्वास्थ्य चौकीको नजिकबाट बाटो खन्ने कामको सुरुवात भएको रहेछ । लाग्यो प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका सहभागीहरु जसरी उनीहरुले लगाएको ज्याकेट र टोपीको रङले टाढैबाट चिनिन्छन त्यसै गरी उनीहरुले गरेको काम पनि चिनाउने गरी स्थानीय होस या केन्द्रिय सरकारले योजना बनाउनु त्यसलाई नियमन गर्नु आवश्यक छ । उक्त कार्यक्रमको नामम बजेट विनियोजन हुने कार्यक्रम सम्पन्न हुने तर उपलब्धी उनीहरुले दैनिक रुपमा कमाएको ज्याला मात्र देखिनु एक हदसम्म राम्रै मानिएला तर प्रश्न त देशले लिएको समृद्धिको यात्रामा उक्त कार्यक्रमले योगदान गर्छ कि गर्दैन भन्ने नै हो ।

नेपालको भूवनोट, जनसंख्याको स्थिति, बसाइको अवस्थालाई मध्यनजर गर्ने हो भने अझै पनि नेपालको मौलिक विकासे मोडेलको खाचो छ । यो विषयमा राजनीतिकर्मी, बुद्धिजीवि र विज्ञमाझ गहन छलफल र बहस हुनु पर्छ । आशा छ आगामी दिनमा दुर्गम समुदायको समग्र विकास र समृद्धिका लागि सबैका साझा बुझाइ र धारणा बन्दै जाउन । देशले देखेका् सपना साकार पार्न आ–आफनो ठाउँबाट सबै  नागरिक जवाफदेही र जिम्मेवारी बनौ । अनि देश नबनी कहाँ जाला र ?

लेखक– बाेहरा बित्थडचिर गाउँपालिका ३ बझाङ हाल मार्तडी बाजुरा

चर्चामा

सम्बन्धित समाचार