• होमपेज
  • फिचर
  • ‘इटहरी त वेश्या पुरुषको अखडा बनेछ’

‘इटहरी त वेश्या पुरुषको अखडा बनेछ’

  • शुक्रबार, असार ६, २०७६
‘इटहरी त वेश्या पुरुषको अखडा बनेछ’

खुला पत्र

इटहरीका मेयर द्वारिकलाल चौधरीले असार ४ गते एक सार्वजनिक कार्यक्रममा महिलाहरूको प्रतिष्ठामाथि आँच पुग्ने शब्द प्रयोग गरेका थिए । उक्त विषयलाई लिएर सामाजिक अभियन्ता सरू सुनारले उनै मेयर चौधरीलाई खुल्लापत्र लेखेकी छन् ।

हेर्नुहोस् महिला खबरलाई प्राप्त उनको खुला पत्र जस्ताको तस्तैः

आदरणीय मेयर सा’ब ! नमस्कार

तपाईंले असार ४ गते इटहरीको एउटा सार्वजनिक कार्यक्रममा छाती फुलाएर बोलेको एउटा शब्दले मलाई यसरी घोचिरहेको छ कि, तपाईं त पत्याउनु हुन्न होला । तर म भने त्यो शब्दले निदाउनसमेत सकिनँ ।

मेयर जस्तो गरिमामय पदमा बसेको मानिस, त्यसमा पनि आफूलाई कम्युनिष्ट पार्टीको असल एवं सच्चा कार्यकर्ता भन्ने मानिसले बोलेका शब्द भएर होला मेरो मानसपटलमा एउटा आँधीहुरी नै ल्याइदियो ।

म यति गहिराईमा डुबेँ कि केही कुरा नलेखी बस्नै सकिनँ । मैले इटहरीको मेयर तपाईं (द्वारिकलाल चौधरी) लाई एकदम सही मानेकी थिएँ । तर, जसरी सबै महिलाहरूको आत्मसम्मानमा ठोस पुग्नेगरी जुन शब्द बोल्नुभयो, यो अति नै भयो । ‘रण्डी’ ले गर्दा बियर बिक्यो रे, होटेल चले रे ? के—के बिक्यो रे ? तपाईंले बोलेका सबै कुरा यहाँ उल्लेख गर्न त मेरो नैतिकताले नै दिएन ।

म तपाईंलाई एउटा प्रश्न सोध्न चाहन्छु । पुरुषबिना महिला कसरी ‘रण्डी’ हुन्छ ? मेयर सा’ब ! अब इटहरीमा वेश्यावृत्ति बढ्यो रे ? हैन तपाईंकै गाउँ, टोल इटहरीमा कति धेरै वेश्या पुरुषहरू जन्मेका हुन् ? अब कारबाही र न्यूनीकरणका लागि जो त्यो पेशामा संलग्न छन् ति महिलालाई मात्र कारबाही र गाली गर्ने कि, हजारौं लाखौँ खर्च गरेर दुई चारसय पुरुषमाथि पनि कारबाही गर्ने ? तपाईं जत्तिको व्यक्तिलाई यतिसम्म थाहा रहेनछ, ‘रण्डी, वेश्याजस्ता शब्दहरू पुलिङ्गी र स्त्रीलिङ्गी होइनन्, यी त स्तरहीन र तल्लो स्तरका घृणित शब्द हुन् । तपाईं रण्डी भन्दै कुर्लने ? अब जिम्मेवारी लिनुस् र कारबाही गर्नुस् । लाखौँ खर्च गरेर रण्डीहरूसित रात बिताउन श्रीमती, प्रेमिका भुल्ने पुरुषहरूलाई नाङ्गेझार पार्नुहोस् । कति रहेछन् त बियर खाने र कण्डम किन्ने पुरुषहरू ? हिम्मत छ मेयर सा’ ब ?

छ भन्ने भन्नुहोस् मेरो पनि तपाईंलाई साथ छ । होइन भने एकोहोरो महिलामाथि गाली गर्न तपाईंको पदीय जिम्मेवारीले दिन्छ त ? मेरो एउटा प्रश्न मेयर साब, खुला रूपमा महिलालाई रण्डी जिन्दावाद भन्नेले रण्डो जिन्दावाद भन्न किन नसकेको ? अर्थात हामी पुरुष एउटी महिलालाई रण्डी बन्न बाध्य पार्ने अपराधी हौं भन्न किन सक्नु हुन्न ? तर यसो भन्दै गर्दा पुरुष अपराधी नै हुन् भन्न मलाई अपराध गरेजस्तो लाग्छ ।

यौनधन्दा गर्ने महिला मात्र गलत हो कि सबै लाखौँ खर्च गरेर वेश्यावृत्ति गर्न जाने पुरुषहरू पनि उत्तिकै भागिदार छन् ? तपाईंलाई यति पनि हेक्का छैन ? यति पनि ज्ञान छैन ? कोठा बिक्नु, बियर बिक्नु, कण्डम बिक्नुमा ‘इटहरी त वेश्या पुरुषहरूको अखडा बनेछ’ भन्ने ।

म मान्छु अरु देशमा रेडलाइट एरिया र यौनधन्दालाई व्यवसाय भनी लाइसेन्स दिन्छन् । तर, हाम्रो देश सीता जन्मेको देश हो । भृकुटी जन्मेको देश । हाम्रो देशका नारीलाई देवी, महालक्ष्मी, काली देवीको रूपमा मानिन्छ र पुजिन्छ । एउटा संस्कार र इज्जत बोकेको देशको नारी हौँ हामी । त्यसैले अवैधानिक यस्ता कार्य बञ्चित छ र बन्देज गर्नुपर्छ ।

शरीर बेचेर खाने महिलालाई सबैभन्दा बढी घृणा गर्छु म–जसले कुटो कुदालो चलाउन डर मान्छन् र गिटी कुट्न लाज मानी आफ्नो शरीर बेचेर पैंसा कमाउँछन् । तिनीहरूलाई छुट छैन, दिनु हुँदैन मेरो मान्यता हो । तपाईंले यो विषयमा कत्तिको रिसर्च गर्नु भा’छ ? आफ्नो लोग्नेले अर्को विवाह गरेपछि आफ्नो बच्चाको अप्रेशन गर्न पैसा नभएर शरीर बेच्ने महिला पनि तपाईंकै वरिपरी छन् । के तपाईं त्यस्ता श्रीमान र बाउलाई श्रीमती र छोराछोरीका लागि निभाउनु पर्ने कर्तव्य पुरा गर्न बाध्य पार्न सक्नुहुन्छ ? बहादुरी त त्यसैमा पो छ त ।

मेयर सा’ब ! बाध्यतामा शरीर बेच्ने महिलालाई वैकल्पिक बाटो देखाउनुस् र उद्धार गर्नुस् । अनि उन्मुक्त भएर समाजमा बिकृती फैलाउन आइफोन र स्कुटर किन्नका लागि भौतिक सुख खोजी शरीरलाई व्यवसायको रूपमा प्रयोग गर्नेलाई कारवाही गर्नुहोस् । तर, यसरी बोल्न मिल्दैन । मेयर सा’बले कुनै ति पेशामा लागेको र प्रमाण भएको भए प्रमाणित गरी सम्बन्धित र संलग्न महिलालाई भन्नु भएको भए आपत्ति थिएन । तर, तपाईंले त सबै महिलालाई नै पो मुछ्नुभयो ?

एउटा गरिमामय पद सम्हालेको मेयरले यसरी एकपटक होइन दस पटक (रन्डी जिन्दावाद) भन्दै कुर्लनु कतिको ठिक छ ? सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरूले या तपाईंको आफ्नो आमा, दिदिबहिनीले यो शब्द सुन्दा पचाउन सक्नुहुन्छ ?

उल्टा एउटा पत्रकारले तपाईंलाई प्रश्न गर्दा रन्डीलाई रन्डी नभनेर के भन्ने ? भनी ठाडो जवाफ दिनुहुन्छ । यहाँलाई यति त थाहा होला नि, कि अहिले पछिल्लो समय कुनै पेशा, व्यवसाय या कसैको आत्मसम्मानमा ठोस् पुग्ने शब्द र सम्बोधन गर्न कानूनविपरित छ भन्ने ।

मेयर द्वारिकलाल चौधरी

यही पेशा गर्नेलाई पनि कुनै शब्दबाट गाली गरेको भए तपाईं वाह वाह नै हुनुहुन्थ्यो । तर, तपाईंले जसरी महिलाहरू नै सुन्न नसक्ने गरी यस्ता शब्द बोल्नु भो, यो पाच्य भएन । चौतर्फी तपाईंमाथि गाली बर्सिएका छन् । म सिधा बोल्छु जे नि बोल्छु भनी यसरी बोल्न छुट छैन । तपाईंले रन्डी भन्दै गाली गर्दा तिनीहरुसित लाग्ने पुरुषहरुलाइ पनि सचेत र ध्यानाकर्षण गराएको भए पनि एउटा कुरा थियोे । अन्त्यमा तपाईंको भ्रष्टाचार विरुद्धको अभियान र इमानदार मेयर बन्नु भएको छ । त्यो मानेमा साथ छ । तर, तपाईंले यसरी नै महिलाहरूलाई शिर झुक्ने शब्द र यसरी बोल्नुभयो भने एक दिन तपाईंको विरुद्धमा ठूलो मासले स्पष्टीकरण माग्नेछन् ।

यो विषयमा महिलाहरूको ध्यानाकर्षण भएको जानकारी गराउँदछु । आज तपाईंले दर्जनौंपटक मच्चिदै बोलेको (रण्डी) शब्द लेख्नको लागि मेरो हात धेरै बेर काँपे, हातका औला थरथराए । तर कति सामान्य छ है तपाईंलाई यस्तो शब्द बोल्न ?

गल्ती महिला र पुरुषको भए पनि बेइज्जती र कारबाही अनि यस्ता शब्दको उपमा र उपनाम महिलाले नै पाउनु पर्ने ? महिलाहरूलाई यस्ता गाली र शब्द बोल्न र भन्नको लागि केही हुँदो रहेनछ भन्ने बल्ल बुझेँ मैले ।

मेयर सा’ब, सबै पुरुष पनि रण्डा हुँदैनन् । श्रीमती छोडेर परस्त्रीसँग जाँदैनन् । यहाँ सबै पुरुष र सबै महिलाको इज्जतको सवाल हो । यो बुझ्नु होला अब बोल्दा तपाईंले केही सच्चिनु पर्छ । गल्ति मान्छेबाटै हुन्छ । मैले यति लेखिसकेपछि पक्कै पनि आम महिलाहरुसँग माफी माग्नु हुनेछ । तपाईंकी आफ्नै आमा, श्रीमती र छोरीसँगसमेत । यदि साच्चिकै महान हुनुहुन्छ भने ! याे समाचार महिला खवर अनलाइनबाट साभार गरिएकाे हाे ।

तपाईंको शुभ चिन्तक, सरु सुनार, काठमाडौं ।

चर्चामा

सम्बन्धित समाचार