सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाज
  • विराजको ‘साङ्लो’ लाई गाउँपालिकाले छुट्टायो १० लाख

विराजको ‘साङ्लो’ लाई गाउँपालिकाले छुट्टायो १० लाख

  • शुक्रबार, असार ६, २०७६
विराजको ‘साङ्लो’ लाई गाउँपालिकाले छुट्टायो १० लाख

एक्सन सुपरस्टार विराज भट्टले निर्देशनमा हात हालेको फिल्म ‘साङ्लो’ को अहिले डोटीमा तिव्र गतिमा छायांकन भइरहेको छ । यसमा उनकै लगानी र प्रमुख भूमिका छ । पूर्व मिस नेपाल निकिता चाण्डक उनको अपोजिटमा छिन् । छायांकनको अन्तिम चरणमा रहेको उक्त फिल्म निर्माणका लागि डोटीको जोरायल गाउँपालिकाले १० लाख दिने भएको छ । जेठ २७ गते बसेको कार्यपालिकाको बैठकले यो निर्णय गरेको हो ।

फिल्मलाई गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख दिने भएपछि सो निर्णयको अहिले सर्वत्र विरोध भइरहेको छ । गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले ‘पर्यटन प्रवर्द्धन’ को शिर्षकमा उक्त रकम फिल्मको निर्माण टिमलाई दिन लागेको बताएका छन् । रोचक कुरा त फिल्ममा उनको पनि अभिनय छ । उनले फिल्ममा अभिनेत्री निकिताको पिताको भूमिका निभाएका छन् । उनका सहोदर दाई दीर्घराज ओझाले पनि अभिनय गरेका छन् ।

फिल्म खेल्नकै खातिर अध्यक्ष ओझाले एकलौटी रुपमा फिल्मलाई १० लाख दिन लागेको भन्दै विरोध सुरु भएको छ । तर, ओझा सबैको निर्णयले उक्त रकम दिएको बताउँछन् । फिल्म ‘साङ्लो’ को केही दिनयता जोरायल गाउँपालिकाको विभिन्न स्थानमा छायांकन भइरहेको छ । यसअघि त्यहाँ कुनै पनि फिल्मको छायांकन भएको थिएन । गाउँपालिकाले फिल्म निर्माणका लागि छुट्याएको रकमको स्थानीयहरुले नै विरोध गरेका छन् ।

गाउँपालिका अध्यक्ष ओझाले फिल्म खेल्नु अपराध नभएको बताउँदै कथाले मागेका कारण आफूले अभिनय गरेको बताए । उनी १० लाख निर्माताको खल्तीमा सुटुक्क नहालेको पनि बताउँछन् । उनी भन्छन्, ‘फिल्मको छायांकनका लागि आएको टिम ठूलो छ । खान, बस्न र यातायातको खर्च स्वरुप १० लाख दिने निर्णय गरेका हौं ।’ गाउँपालिकाले दिएको सो रकमको बारेमा अभिनेता विराजले भने कुनै जानकारी दिएका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार