शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • खेलकुद
  • बंगलादेशको सानदार जित

बंगलादेशको सानदार जित

  • मङ्लबार, असार ३, २०७६
बंगलादेशको सानदार जित

ब्रिस्टल : शकिव अल हसन र लिटोन दास चम्किएपछि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेस्ट इन्डिजमाथि सानदार जित हात पारेको छ । काउन्टी ग्राउन्डमा सोमबार भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई सात विकेटले हरायो । वेस्ट इन्डिजले दिएको ३२२ रनको विजय लक्ष्य पछ्याएको बंगलादेशले ४१.३ ओभरमा तीन विकेटकोे क्षतिमा लक्ष्य पूरा गरेको थियो । जारी विश्वकपमा बंगलादेशको यो दोस्रो जित हो ।

बंगलादेशको जितमा शकिव अल हसनले शतकीय पाली खेले । शकिवले अविजित १२४ रन बनाएका थिए । ९९ बलको सामना गरेका उनले १६ चौका हानेका थिए । सकिवको जारी विश्वकपमा दोस्रो शतक हो । उनले इङ्ल्यान्डविरुद्धको खेलमा पनि शतक बनाएका थिए । लिटोन दासले अविजित ९४ रनको योगदान दिए । शतकबाट ६ रनले टाढा रहेका लिटोनले ६९ बलमा चार छक्का र आठ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । तमिम इकबालले ४८ रन बनाए । ५३ बलमा उक्त रन जोडेका इकबालले ६ चौका हानेका थिए । शौम्य सरकारले २९ रन जोडेका थिए । वेस्ट इन्डिजका आन्द्रे रसेल र ओसेन थोमसले एक÷एक विकेट लिए ।

यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३२१ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि ओपनर एभिन लेविस र तेस्रो नम्बरका ब्याट्सम्यान साई होपले उत्कृष्ट साझेदारी गरे । ओपनर क्रिस गेल शून्य रनमै पेभेलियन फर्किएपछि लेविस र होपले टोलीका लागि ११६ रनको साझेदारी गरेका थिए । गेल आउट हुँदा वेस्ट इन्डिजको स्कोर केवल ६ रन थियो । विकेटकिपर ब्याट्सम्यान होप केवल चार रनका कारण शतकबाट चुके । उनले १२१ बलको सामना गरी एक छक्का र चार चौकाको मद्दतले ९६ रन बनाए ।

होप बंगलादेशविरुद्घको खेलमा टोलीका लागि सधैं उपयोगी सिद्ध हुँदै आएका छन् । उनले हालसम्म बंगलादेशसँग खेलेको १० खेलमा ९४.७५ को औसतले कुल ७५८ रन बनाएका छन् । होपले बंगलादेशविरुद्घ प्रहार गरेको यो चौथो अर्धशतक हो । बंगलादेशविरुद्घ उनले तीनवटा शतक पनि बनाएका छन् । समग्रमा भने २५ वर्षीय होपले एकदिवसीय क्रिकेटमा बनाएको यो १२औं अर्धशतक हो । लेविसले पनि ७० रन बनाए । उनले ६७ बलको सामना गरी दुई छक्का र ६ वटा चौका प्रहार गरे । २७ वर्षीय लेविसले एकदिवसीय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो । क्यारेबियन टोलीका लागि सिमरोन हेटमेयरले पनि ५० रनको योगदान गरे ।

आक्रामक रुपमा प्रस्तुत भएका २२ वर्षीय सिमरोनले केवल २६ बलको सामना गरी तीन छक्का र चार चौका हिर्काए । उनले एकदिवसीय क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो । कप्तान जासन होल्डरले १५ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३३ रन थपे । यसैगरी निकोलस पुरनले ३० बलमा एक छक्का र दुई चौकाको मद्दतले २५ रन जोडे भने ड्यारेन ब्राभोले १९ रन बनाए । ओसेन थोमस ६ रनमा अविजित रहे । वेस्ट इन्डिजले अतिरिक्त रुपमा २२ रन पाएको थियो । बंगलादेशका बलर मोहम्मद सफिउद्दिन र मुस्तफिजुर रहमानले तीन÷तीन विकेट लिए । सकिब अल हसनले पनि दुई विकेट हात पारे ।

चर्चामा

सम्बन्धित समाचार