डा. सुमनराज ताम्राकार, जिज्ञासा : एस, भक्तपुर :- विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्षसम्मको उमेर समूहलाई किशोर–किशोरी भन्ने गरिएको छ। बाल्यावस्थाबाट वयस्क अवस्थामा नपुग्दासम्मको संक्रमण अवधि हो। त्यस बेला व्यापक मात्रामा शारीरिक परिवर्तन हुन्छन्। प्रजनन अंगको विकासले युवायुवतीमा कौतूहल पनि थपिदिन्छ। नेपालको जनसंख्यामध्ये २२ प्रतिशत किशोर–किशोरी छन्।
सामान्यतया किशोरहरूमा शरीर हलक्क बढ्छ, उचाइ बढ्छ। यसका साथै मुखमा डन्डीफोर आउने, रुद्र घण्टी बढ्ने, स्वर धोद्रो हुने, का“ध चौडा हुने, दाह्रीजु“गा आउने, लिंग एवं अण्डकोष बढ्ने, वीर्य उत्पादन हुने, लिंग उत्तेजित हुने, स्वप्नदोष हुने हुन्छ। किशोर–किशोरी दुवैमा यौनांग र काखीमुनि रौँ पलाउनुका साथै पसिना ग्रन्थि सक्रिय भई पृथक् खालको गन्ध निस्कन्छ। यस बेला विपरीत लिंगीप्रति आकर्षित हुने, हस्तमैथुन गर्ने, यौन चाहना बढ्ने, यौनसम्बन्धी खोजीनीति गर्ने हुन्छ। यसबाहेक एक्लै बस्ने, स्वतन्त्रता चाहने, दिवास्वप्न देख्ने, मुड परिवर्तन भइरहने, गोपनीयता चाहने, स्तन एवं लिंगको बढी चिन्ता गर्ने, शारीरिक परिवर्तनबारे सोच्ने हुन्छ।
यसका साथै भविष्यको लक्ष्य, करिअर, प्रतिस्पर्धा, लक्ष्य प्राप्तिलाई लिएर चिन्ता हुन सक्छ। यसले गर्दा युवायुवतीमा निराशा छाउने तथा मानसिक तनाव बढ्ने हुन सक्छ। तीव्र यौनेच्छालाई राम्ररी व्यवस्थापन गर्न नसकेमा साइबर सेक्स, अश्लील साहित्य पत्रपत्रिका, फिल्मको लत लाग्न सक्छ। सही यौन शिक्षाको अभावमा हाडनाता करणी, पशुकरणी, मुखमैथुन, गुदद्वारमैथुनजस्ता असामान्य यौन कार्य गर्न सक्छन्। युवावस्थामा फेसनप्रति विशेष लगाव हुन्छ। यस उमेरमै हो धूम्रपान, मद्यपान, लागुपदार्थको लत लाग्ने तथा माया÷प्रेम बस्ने र ब्रेकअप हुने। अर्कोतिर कलिलै उमेरमा बिहे भएको खण्डमा पारिवारिक बोझ एवं आर्थिक समस्या आइपर्ने हुन्छ।
धेरैजसो किशोर–किशोरी शारीरिक, मानसिक तथा यौन समस्याबाट प्रताडित छन्। युवामा हस्तमैथुन, यौन दुर्बलता, शीघ्र स्खलन, लिंगको आकार र कन्डमको प्रयोगसम्बन्धी चिन्ता हुन सक्छ। युवतीमा महिनावारी गडबडी, तल्लो पेट दुख्ने समस्या, कुमारीत्वको पिर, मोटोपनको समस्या हुन सक्छ। र, समग्रमा यौन रोग, गर्भधारणको समय, असुरक्षित यौन सम्पर्क, आकस्मिक परिवार नियोजन, असुरक्षित गर्भपतन, कलिलै उमेरमा गर्भधारण, निःसन्तानको समस्या आउन सक्छ।
समयअगावै यौवन आरम्भ : बाल्यावस्थाबाट किशोरावस्थामा पुग्ने सिलसिलामा केटामा १० देखि १४ वर्षमा तथा केटीमा १० देखि १३ वर्षमा विभिन्न शारीरिक परिवर्तन देखा पर्छन्। यस क्रममा केटीमा नौदेखि ११ वर्षमा स्तन अंकुरण तथा वृद्धि, १२ देखि १३ वर्षमा मासिक स्राव सुरु हुन्छ। यस कार्यमा केटीमा इस्ट्रोजेन हर्मोन र केटामा टेस्टोस्टेरोन हर्मोनले महत्त्वपूर्ण भूमिका खेल्छ। तर, कोही–कोही असामान्य तवरले सामान्य समय सीमाभन्दा पहिले नै यौवन अवस्थामा प्रवेश गर्न सक्छ। सारांशमा केटीमा आठ वर्ष अगावै तथा केटामा नौ वर्षअगावै माथि उल्लेखित शारीरिक परिवर्तन देखापर्ने अवस्थालाई चाँडै यौवन आरम्भ भएको मानिन्छ। तर, केटीमा समयअगावै स्तन वृद्धि भएको अवस्थालाई धेरैले झट्टै याद गरिहाल्छन्। यस क्रममा दुवैमा यौनांगवरिपरि तथा काखीमा रौँ पलाउँछ भने केटामा अण्डकोषको वृद्धि हुन्छ।
धेरैजसोमा यसो हुनाको कारण थाहा नभए पनि यस उमेरमा हुने परिवर्तन हर्मोनको उत्पादनसँग सम्बन्धित भएकाले यी हर्मोन उत्पादन गर्ने ग्रन्थि चाँडै परिपक्व हुनु तथा हर्मोन अत्यधिक उत्पादन हुनु प्रमुख कारण हुन सक्छ। मस्तिष्कमा गम्भीर चोट लागेर वा ट्युमर पलाएर पनि यस्तो हुन सक्छ। शरीरभित्रै हुने उत्पादनका अतिरिक्त कतिपय व्यक्तिले कुनै कारणवश लिइरहेको औषधि तथा खाना विशेषबाट पनि यी हर्मोनको उत्पादन अधिक हुन मद्दत पुगेको हुन सक्छ। यसरी समयअगावै यौवन आरम्भ हुने घटनाको विश्लेषण गर्दा प्रभावित व्यक्तिको वास्तविक (जैविक) उमेरसँगै उसको उचाइ, मोटाइ एवं अन्य पक्षको वृद्धि विकास पनि हेक्का राख्नुपर्छ।
वातावरणीय प्रभाव, राम्रो पोषणका कारण तुलनात्मक रूपमा यौवनास्थामा प्रवेश गर्ने उमेर बिस्तारै घट्दो क्रममा छ। प्रभावित व्यक्तिको जाँचपड्तालको क्रममा सोधपुछबाहेक रगतमा हर्मोनको मात्रा, एक्सरे (लामो हड्डीको), अल्ट्रासाउन्ड, सीटी स्क्यान, थाइराइडको जाँच गर्नुपर्ने हुन्छ। यौवन अवस्थामा शारीरिक परिवर्तनसँगै मानसिक एवं संवेगात्मक परिवर्तन पनि हुन्छ। अतः समयभन्दा पहिले नै यौवन आरम्भ भएको बेलामा मनोसामाजिक विकास सँगैसँगै भएन भने समस्या हुन सक्छ। यौनांगको वृद्धि विकास तथा मासिक स्रावको सुरुवातसँगै गर्भ रहने सम्भावना भएकोले विशेषतः यौन कार्र्यको जटिलता निम्तिन सक्छ। यस्तो अपरिपक्व तथा अस्वाभाविक परिवर्तनले किशोरीमा पर्ने सामाजिक दबाबका कारण किशोरीको मनस्थिति तल–माथि हुन सक्छ। बिरलै मात्रामा समयअगावै यौवन आरम्भको घटनाले पाठेघरको मुखको तथा स्तनको क्यान्सरको जोखिम बढ्न सक्छ। कारक तत्त्वअनुसार उपचार (कहिलेकाहीँ शल्यक्रियासमेत) बाहेक मनोपरामर्शको निकै ठूलो भूमिका हुन्छ। यस क्रममा अभिभावकलाई पनि परामर्शको आवश्यकता पर्छ।सम्पूर्ण साप्ताहिकबाट ।