बिहीबार साँझ सुदूरपश्चिमका कञ्चनपुर र कैलालीमा अचानक हावाहुरी आयो। साँझ साढे सात बजेपछि आएको हावाहुरीले दुई जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।
तीमध्ये ८० जना उपचार गरेर घर फर्किएका छन् भने १८ जनाको अहिले अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ।
धनगढीवासीले बिहीबार साँझ भोगेको हावाहुरी शुक्रबार झिसमिसेमै काठमाडौं आइपुग्यो।
त्यो हावाहुरीको काठमाडौं आवागमन मौसम पूर्वानुमान महाशाखाको अनुमानविपरीत थियो।
कैलालीको टीकापुर आसपासमा ९६ किलोमिटर प्रतिघन्टाको गतिमा रहेको हावाहुरी पूर्व आउँदा बिस्तारै घटेको थियो।
महाशाखाले हावाहुरी तराईंको बाटो हुँदै जाने पूर्वानुमान गरेको थियो।
‘तर मध्यनेपालबाट हावाहुरी काठमाडौंतिर लाग्यो। यहाँबाट उत्तर पसेको छ,’ महाशाखाकी मौसमविद् विभुति पोखरेलले सेतोपाटीसँग भनिन्।
सबेरै आएको हावाहुरीले काठमाडौंको धुलो पनि सिनित्तै उडाएर लगाएको छ। काठमाडौं खुला र सफा देखिएको छ। जेठ तेस्रो साता पनि उत्तरतिर सेता हिमाल देखिएका छन्।
तर मध्यान्हपछि फेरि पूर्वी नेपाल र राजधानी आसपासमा हावाहुरीको सम्भावना छ।
‘यो हावाहुरीले पूर्वी नेपालमा भएको न्यूनचापीय प्रणालीलाई हटाएको छैन। आज दिउँसो पनि मध्य तथा पूर्वी नेपालमा हावाहुरीको सम्भावना छ,’ मौसमविद् पोखरेलले भनिन्।
कसरी आयो यति ठूलो हावाहुरी?
नेपालमा वैशाख-जेठ प्रिमनसुनको समय हो। यति बेला अपरान्हसम्म घाम लागेर सतहका जलवाष्पमा माथि जान्छन्। अपरान्हपछि बादल बन्छ। माथि चिसो र सतहमा तातो हावा भएपछि हावाहुरी चल्छ। कहिलेकाहीँ असिना र पानी पनिसँगै पर्छ।
तर केही दिन यता यो स्थानीय प्रणालीमा पूर्वी र मध्यभागमा बनेको न्यूनचापीय रेखाले साथ दिँदा काठमाडौं आसपासमा दिनहुँजसो पानी परिरहेको थियो।
यसको प्रभाव पश्चिम नेपालमा भने थिएन। धनगढीमा त अघिल्लो साता तापक्रम ४० डिग्री नाघेको थियो। केही दिनअघि भने धनगढी दक्षिणतर्फ पनि न्यूनचापीय रेखा बनेको थियो।
‘राजस्थानसम्म प्रभाव पार्ने गरी बनेको उक्त प्रणालीमा बिहीबार साँझ पश्चिमी वायु मिसियो। त्यसले ठूलो हावाहुरी ल्यायो,’ मौसमविद् पोखरेलले भनिन्,‘त्यसको प्रभावले पूर्वतिर सर्दै गयो। तर वर आउँदा कमजोर पनि भयो।’ याे समाचार सेताेपाटी डटकममा छापीएकाे छ ।