प्राथमिक तहमा पढ्दै गर्दा देखि फुटबल खेलमा रुचि राख्ने बिनु बुढामगरको जन्म २०४७ साल साउनको २४ गते साबिकको सितापुर गाबिसको ए गाउँमा भएको थियो । सानो छदै दिदीहरु संग गाउँकै स्कुलमा फुटबल खेल्दै नजानिदो तरिकाले खेलकुदमा प्रवेश गरेको बिनुको भविष्य खेलकुदले नै कोर्छ भन्नेमा उनैले समेत बिश्वास गरेकी थिइनन् ।
प्राथमिक तहसम्म गाउँ कै स्कुलमा अध्यन गरेकी बिनु माध्यमिक तहको अध्यनको लागि खजुराकै जनता माबिमा भर्ना भएपछि उनको जीवनले नाटकीय परिवर्तन लिएको उनी बताउँछन् । सानैदेखि फुटबल खेल्दै हुर्किएकी उनी जनता माबिमा हुने स्कुल स्तरीय खेलकुदमा ‘सानी नानी’ले परिचित बिनुको अब्बल खेलाडीको रुपमा चर्चा हुन थाल्यो । कक्षा छ पढ्दै गर्दा स्कुल स्तरीय रनिङ शिल्ड प्रतियोगितामा जनता माविबाट प्रतिनिधित्व गरेकी बिनुले दौडको विभिन्न बिधामा उत्कृष्टता हासिल गरेपछि उनको चर्चा सर्वत्र चुलियो ।
जनता माविबाट नै खेलकुदको विभिन्न प्रतियोगितामा सहभागी भएर स्कुल हुँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर खेल क्षेत्रमा आफ्नो नाम लेखाउन सफल केसमाया श्रीस त्यसताका एन्जल्स माबिमा खेल प्रशिक्षक थिइन् । उनै केसमायाको नजरमा बिनुको त्यो क्षमता परेपछि उनको खेल जीवनले नयाँ रुप लिएको उनी बताउँछिन् ।
‘केसमाया दिदिले मेरो रनिङ हेर्नुभएको रहेछ । उहाँले मेरो रनिङ राम्रो मानेर मलाइ एन्जल्समा पुर्याउनु भयो । एन्जल्सले मेरो पढाई, होस्टेल देखि सम्पूर्ण खर्च ब्यहोरि दियो र खेलकुदमा अझ राम्रो गर्ने मौका समेत दियो,’ बिनुले बताइन् । मध्यम बर्गिय परिवारमा जन्मे हुर्केकी बिनुको लागि उनको खेल जगतको प्रतिभाले उनलाई अभावको सामना कहिल्यै गर्नुपरेन । उनको पढाईदेखि सम्पूर्ण खर्च स्कुल तथा एकेडेमीले नै व्यहोर्यो । उनले खुलेर आफ्नो प्रतिभालाई फक्रन दिने मौका हासिल गरिन र कालान्तरमा स्कुल, जिल्ला, क्षेत्र हुँदै देशको निम्ति कयौं उपाधी दिलाउन महत्वपूर्ण भुमिका खेलिन् ।
यो आलेखको तयारी गरिरहँदा उनी अहिले खेल क्षेत्रदेखि टाढा छिन् । भर्खरै नेपालगन्ज नगरमा आठौं राष्ट्रिय खेलकुद सम्पन्न समेत भयो । तर त्यहाँ उनको उपस्थिति थिएन । उनी त्यो समय सम्झदा दुःखी बन्छिन् । तर खेल जगत देखि केही समयलाई टाढा रहदाको दुःखलाई पूर्ति गर्न उनको साथमा पहिलो सन्तानको आगमन भएको छ । उनले आमा बन्ने सौभाग्य प्राप्त गरेकी छिन् । आमा शब्द आफैंमा अतुलनीय छ । नारिको सौभाग्य संग जोडिने मातृत्वको अनुभव आफैमा एउटा सौभाग्य हो, त्यो अनौठो प्रेम हो । त्यसैले उनी अहिले नयाँ सदस्यको आगमनमा परिवार संगै समय बिताउँदै छिन् । तर पनि उनी खेलकुद भन्दा टाढा छैनन् । उनी निरन्तर खेलजगतलाई नियालिरहेकी हुन्छिन् । उनले केही दिन अगाडी मात्र छोरिको रुपमा पहिलो सन्तान प्राप्त गरेकी छिन् ।
स्कुल पढ्दै खेलको विभिन्न बिधाको प्रतियोगितामा भाग लिने क्रममा स्कुलमा क्रिकेट पनि खेल्ने गरेका बिनुको लागि बर्ष सन २००७ विशेष बन्यो । २००७ मा मलेसियामा हुने एसिसी महिला क्रिकेटको लागि पहिलोपटक नेपालमा महिला राष्ट्रिय टिम छनौट हुँदै थियो । बिनु त्यही टिमको हिस्सा बनिन् र देशको प्रतिनिधित्व गर्दै मलेसिया पुगिन । उक्त प्रतियोगितामा बाङ्लादेशले ट्रफी जितेको थियो भने नेपाल उपबिजेता बनेको थियो । त्यो एतिहासिक खेल पछि बिनुलाइ लाग्यो क्रिकेटमै केही गर्नुपर्छ । त्यसपछि उनी लगातार रुपमा नेपाली महिला क्रिकेटको प्रमुख सदस्य रहदै आएकी थिइन् ।
‘२००७ मा एतिहासिक महिला राष्ट्रिय क्रिकेट टिममा सहभागी हुनु, खेलको लागि बिदेश जानू अनि देशको लागि ट्राफी उचाल्नु त्यो समय नै जीवनकालको उत्कृष्ट समय थियो मेरो लागि, धेरै सिक्ने मौका समेत प्राप्त गरे त्यो भन्दा अगाडी सम्म म एथलेटिक्समै रमाइ रहेको थिए त्यसपछि भने क्रिकेटलाई धेरै फोकस गर्न थालेको २००७ भन्दा अगाडि एथलेटिक्स खेलाडीको रुपले परिचित बिनु बुढा मगर बताउँछिन् ।
बिनु बुढामगरले २००७ मा एसिसी महिला टुर्नामेन्ट (मलेसिया), यु–१९ महिला टुर्नामेन्ट २००८ (थाइल्यान्ड), एसियन गेम २०१० (चाइना) लगायत अन्तर्राष्ट्रिय टुर्नामेन्टमा देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय महिला क्रिकेट टिममा रहेर खेलिसकेकी छिन् भने स्कुल पढ्दै एसएलसी नदिदासम्म स्कुल, जिल्ला, क्षेत्रीय प्रतियोगिता र नेसनल जुनियर तथा सिनियर प्रतियोगितामा सहभागी रहदै विभिन्न उपाधी हासिल गरेकी बिनुलाई पदक बिहिन कहिल्यै हुनु परेन ।
खेलकुदमा लाग्न सानै देखि परिवारको राम्रो सहयोग, उत्प्रेरणा र साथ रहेको बिनुलाई विभिन्न समयमा विभिन्न कोचहरुले दिएको साथ र सहयोगले यो स्थानसम्म पुर्याउन मद्दत मिलेको बताउँछन् । ‘सानै देखि खेलमा लाग्न परिवारको सहयोग मिल्यो, कोचहरुले पनि निकै सहयोग गर्नुभयो र अहिले परिवारबाट झनै साथ र सहयोग मिलेको छ । सायद परिवारबाट यसरी साथ र सहयोग नमिलेको भए अहिले म यो स्थानमा हुने थिएन होला,’ उनी भन्छिन् ।
२००५ देखि ठुला प्रतियोगितामा सहभागी बिनु एथलेटिक्समा नेसनल गेम (जुनियर तथा सिनियर), भलिबल नेसनल गेम (जुनियर तथा सिनियर), ब्याडमिन्टन नेसनल गेम (यु–१४) तथा क्रिकेटको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु खेलिसकेकी छिन् भने उनी बिभागिय टोली एपीएफमा २०६९ देखि आवद्ध छिन । त्यो भन्दा अगाडि बिभागीय टोली एपीएफ मै दुई बर्ष कन्ट्र्याक्ट प्लेरको रुपमा आवद्ध समेत भएकी बिनुको लागि हाल क्रिकेट निकै प्यारो बनेको छ । उनी क्रिकेट मै भविष्य देख्छिन् । उनी बाँकी जीवन समेत क्रिकेट मै आवद्ध रहने बताउँछिन् ।
’केही समय खेल क्षेत्र देखि पक्कै टाढा रहनुपर्ने हुन्छ । तर म खेल क्षेत्र लाई धेरै नै मिस गर्दै छु । कहिले काहीँ दुख पनि लाग्छ तर परिवार पनि अहम् हुन्छ जिबनको एक समयमा । त्यसैले यो केही समयक्क रेस्ट पछि क्रीकेट मै केही गर्ने र क्रीकेट मै अगाडी बढ्ने सोच छ । र भबिस्यमा यहि खेल क्क्र क्रीकेटमै आफ्नो तर्फबाट केही योगदान दिन सकियोस् भन्ने चाहना छ बाकी त भबिस्यले नै देखाउला’