• होमपेज
  • समाचार
  • बेलायत भ्रमण उपलब्धिमूलक : प्रधानमन्त्री

बेलायत भ्रमण उपलब्धिमूलक : प्रधानमन्त्री

  • बुधबार, जेष्ठ २९, २०७६
बेलायत भ्रमण उपलब्धिमूलक : प्रधानमन्त्री

लन्डन — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । भ्रमणको अन्तिम दिन आफ्नो सम्मानमा दूतावासमा आयोजित रिसेप्सनमा ओलीले भने, ‘समकक्षी टेरेजा मेसहित ब्रिगेड अफ गोर्खाज् मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसँगको भेटले सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनेको छ ।’

ओलीले मंगलबार समकक्षी मे, प्रिन्स ह्यारी, प्रमुख प्रतिपक्षी दल लेबर नेता जेरेमी कोर्बिन लगायत नेता, व्यापारी र गोर्खा समुदालाई भेटेका थिए।

सत्र वर्षपछि नेपालका प्रधानमन्त्री बेलायत आए पनि बेलायती प्रधानमन्त्रीले राजीनामा दिएकाले कुनै सम्झौता भएन। ओलीले बेलायत नेपाल दुई शताब्दी भन्दा लामो कूटनीतिक सम्बन्ध भएको स्मरण गर्दै उच्चस्तरीय भ्रमण श्रृंखला निरन्तर बनाउन पनि आग्रह गरेका थिए। बेलायत-नेपाल सम्बन्ध बहुआयामिक र विभिन्न कोणबाट अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अप्ठेरो परिस्थितिमा बेलायतको सहयोग निरन्तर प्राप्त भएको पनि जनाए। बेलायतको सहयोग नेपालको लोकतन्त्र र समृद्धि संस्थागत गर्न कोशेढुंगा भएको उनले बताए।

विदेशी र नेपाली गरी झण्डै पाँच सयमाझ उनले गोर्खाहरु बेलायत-नेपाल सम्बन्धको प्रमुख कडी भएको बताए। ‘नेपाली वीर छन् भन्ने कुरा सबैभन्दा पहिला बेलायतले थाह पायो”, मजाक गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘गोर्खाहरु ब्रिटिस सेनामा आएपछि त वीर नेपालीबारे अन्तर्राष्ट्रिय रुपमै थाह भयो।’ उनले नेपाली कर्तव्यपरायण र अनुशासित भएको प्रसंग उल्लेख गर्दै नेपाली जहाँ पुगेका छन् त्यहाँ पीडा र अप्ठेरो होइन, बरु नेपालको प्रतिष्ठा उँचो बनाएका बताए। ओलीले नेपालीलाई आफ्नो कारोबार मिलाएर नेपाल फर्कन पनि आग्रह गरे।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित बुधबार नै रेल चढेर पेरिसतर्फ लागेका छन्।

चर्चामा

सम्बन्धित समाचार