• होमपेज
  • समाचार
  • निर्मला हत्याकाण्ड अनुसन्धानमा गडबडी गर्ने एसपीलाई पुरस्कार ?

निर्मला हत्याकाण्ड अनुसन्धानमा गडबडी गर्ने एसपीलाई पुरस्कार ?

  • सोमवार, जेष्ठ २७, २०७६
निर्मला हत्याकाण्ड अनुसन्धानमा गडबडी गर्ने एसपीलाई पुरस्कार ?

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्याकाण्डको अनुसन्धानका गडबडी गरेको आरोप लागेका एसपी राकेशकुमार सिंह एसएसपीको बढुवा सूचीमा परेको खुलासा भएको छ ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार एसपी सिंहलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । विधि विज्ञान प्रयोगशालामा कार्यरत एसपी सिंहलाई निर्मला पन्त बलात्कार र हत्याकाण्डमा परीक्षणमा लापरपाही गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीका लागि सिफारिस गरेको छ ।

निर्मला हत्याकाण्डमा दोषी पाइएका प्रहरीहरू कोही निलम्बनमा परेका छन् भने कोही जागिरबाट बर्खास्त भइसकेका छन् । तर एसपी सिंहले सेटिङ मिलाएर बढुवाको सिफारिसमा परेको उच्च स्रोतको दाबी छ ।

एसपी सिंह राजनीतिक पावर लगाएर एसएसपीमा बढुवा हुन लागेपछि नेपाल प्रहरीभित्रै खैलाबैला मच्चिएको छ ।

विवादित छविका एसपी सिंहका कारण प्रहरी संगठनकै बदनाम भएको आरोप लागेको छ । एसपी सिंहकै कारण विधि विज्ञान प्रयोगशालाको परीक्षणमाथि नै प्रश्न उठिसकेको छ ।

निर्मला पन्त प्रकरणमा डीएनएमा गडबढी भएको हुनसक्ने राष्ट्रिय मानवअधिकारको प्रतिवेदनमा उल्लेख छ । कारबाही सिफारिसमा परेका एसपी सिंहको बढुवा हुने हो भने निर्मला बलात्कार र हत्याकाण्डको छानबिनमा दोषी पाइएका अन्य प्रहरी कर्मचारीहरूलाई पनि सफाइ दिनुपर्ने माग उठेको छ । उनलाई गृह मन्त्रालयले पुरस्कृत गर्न लागेको आरोप समेत लागेको छ ।

विगत २५ वर्षदेखि डीएनए परीक्षण गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) सँग डीएनएको २५ क्यारेक्टर जाँच गर्ने क्षमता रहेको छ । विधि विज्ञान प्रयोगशालाका प्रमुख समेत रहेका प्रहरी एसपी सिंह आफैले निर्मलाको भेजिनल स्वाबबाट डीएनए जेनेरेट गरेको स्रोतको भनाइ छ ।

विधि विज्ञान प्रयोगशालाको डीएनए विभागका प्रमुख समेत रहेका सिंहले त्रुटीपूर्ण ढंगले डीएनए परीक्षण गरेको उल्लेख गर्दै राष्ट्रिय मानव अधिकार आयोगले उनीसहित भेजिनल स्वाब संकलन गर्ने डाक्टरलाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा सिफारिससहित २०७५ माघ १३ गते बुझाइएको रिपोर्टमाथि प्रधानमन्त्री कार्यालय र प्रहरी प्रधान कार्यालयले कुनै चासो देखाएका छैनन् । ‘भेजिनल स्वाबलगायतका नमूनाहरू संकलन गर्दा नमूना संकलन प्रक्रिया नै त्रुटीपूर्ण रहेको देखियो,’ राष्ट्रिय मानव अधिकार आयोगको रिपोर्टमा भनिएको छ, ‘निर्मला पन्तको घटनामा वाईएसटीआर प्रविधिबाट मात्रै डीएनए परीक्षण गरेको पाइयो, यसबाट वंश समूह पहिचान गर्न सघाउ पुग्ने । तर व्यक्ति पहिचान गर्न सकिने आटो सोमल प्रविधि प्रयोग गरेको पाइएन ।’ कञ्चनपुर जिल्लाका तत्कालीन एसपी डिल्लीराज विष्टलाई समेत मन्त्रालयले बर्खास्त गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार