• होमपेज
  • अन्तर्राष्ट्रिय
  • यीनै हुन कंग्रेसका अध्यक्ष राहुल गान्धी हराउने महिला !

यीनै हुन कंग्रेसका अध्यक्ष राहुल गान्धी हराउने महिला !

  • शनिबार, जेष्ठ ११, २०७६
यीनै हुन कंग्रेसका अध्यक्ष राहुल गान्धी हराउने महिला !

काठमाडाैं- दशकौंदेखि भारतीय कंग्रेसले किल्ला गाडेको उत्तर प्रदेशको अमोठीको मत परिणामको विषयलाई लिएर चर्चा परिचर्चा भइरहेको छ । यस क्षेत्रमा कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई हराउँदै भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीले आफ्नो विजयी भण्डा गाडेपछि चर्चा थप चुलिएको छ । बिहीबार सार्वजनिक भएको मत परिणाममा इरानीले ४ लाख ६८ हजार ५ सय १४ मत ल्याएर विजयी भइन । उनका प्रतिष्पर्धी राहुलले ४ लाख १३ हजार ३ सय ९४ मतमात्र पाए। अमेठीमा हारेपछि राहुलले इरानीलाई बधाई दिए र उनले त्यहाँका जनताको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे ।

यसपालिको नतिजामा इरानीले राहुललाई मात्र हराएकी थिइनन्, गान्धी परिवारले दुई पुस्ता चुनाव लडेको अमेठी आफ्नो पोल्टामा पारिन् । यो क्षेत्र त्यही हो, जहाँबाट राहुल गान्धीका काका सन्जय गान्धी, बुवा राजीव गान्धी, आमा सोनिया गान्धीले चुनाव लड्दै आएका थिए । २००४ पछि राहुल त्यहाँबाट सांसद बनिरहेका छन् । अमेठीमा सन् १९७५ को संकटकाल लगाएपछि भएको १९७७ मा चुनावमा इन्दिरा गान्धी पनि पराजित भएकी थिइन्।

को हुन स्मृति इरानी : स्मृति इरानी तिनै हुन जसले भाजपा प्रवेश गरेको १ वर्षमा गुजरातका तत्कालिन मुख्यमन्त्री नरेन्द्र मोदीविरूद्ध अनसन बस्ने घोषणा गरेकी थिइन् । सुरतको दंगालाई लिएर उनले मोदीको राजीनामा मागेकी थिइन् । दंगा नियन्त्रण गर्न मोदीले नसकेको भन्दै उनले राजीनामा दिनु पर्ने नदिए अनसन बस्ने इरानीको घोषणा थियो । दिउँसो गरेको घोषणा उनले त्यही रात फिर्ता पनि लिएकी थिइन् । केही वर्षअघि आपकी अदालत भन्ने टेलिभिजन कार्यक्रमलाई अन्तर्वार्ता दिँदै उनले त्यो बेला संगठनले सम्झाएपछि आफूले माफी माग्दै उक्त घोषणा फिर्ता लिएको बताएकी छन् । त्यो घटनालाई लिएर मोदीले आफूलाई माफ गरेकाले उनको उदारताको आफू प्रशंसक भएको पनि उनले बताएकी छन् ।

२०१४ मा मोदी प्रधानमन्त्री भएपछि इरानीलाई आफ्नो मन्त्रिपरिषदमा मानव संशाधन मन्त्री बनाएका थिए । त्यतिबेला उनको शैक्षिक योग्यतालाई लिएर प्रश्न उठेको थियो । उनले १२ कक्षासम्म पढेकी छन् । तर उनले बिकम पढेको भन्ने बयान दिएपछि विवादमा तानिएकी थिइन् । उनले आफूले बिकमको पहिलो वर्षसम्म मात्रै पढेको भन्दै बयान फेर्नु परेको थियो । बिकम पहिलो वर्षपछि उनले पढाइ छोडेकी थिइन् । आफू गरिब परिवारबाट आएकाले करियरका लागि निकै संघर्ष गर्नुपरेको उनले बताएकी छन् । उनले १६ वर्षको उमेरमा सडकमा उभिएर एउटा ब्युटी प्रोडक्ट बेच्ने गर्थिन् । त्यतिबेला उनले दिनको २ सय रूपैयाँ कमाउँथिन् ।

मुम्बई आएपछि उनले म्याकडोनाल्ड भन्ने रेष्टुरेन्टमा सरसफाइ गर्ने काम पाएकी थिइन् । जेनतेन गुजारा चलाइरहेकै बेला उनले १९९८ मा मिस इण्डियाका लागि आवेदन दिइन् । प्रतियोगिता नजिते पनि उनको परिचय भने बन्यो ।२००१ मा उनले व्यापारी जुबिन इरानीसँग बिहे गरिन् । २००३ मा भाजपामा प्रवेश गरेर आफ्नो राजनीतिक करियर सुरू गरेकी स्मृति त्योभन्दा अघि टेलिसिरियलकी अभिनेत्री थिइन् । क्युंकी सासभी कभी बहु थी भन्ने चर्चित टेलिसिरियलमा उनले काम गरेकी थिइन् । २००३ मा राजनीति प्रवेश गरेकी उनलाई २००४ मा चाँदनी चोकबाट लोकसभा सदस्यका लागि टिकट मिलेको थियो । त्यसपछि उनी पार्टीमा ६ वर्ष कुनै पद बिना काम गरिन् । २०१०मा उनले भाजपाको केन्द्रीय महिला मोर्चाको नेतृत्व पाइन् । २०११ मा गुजरातको राज्सभा सदस्य भइन् । त्यसैबेला मोदीसँग पनि नजिक हुन पाइन् । २०१२ मा उनी भाजपाको केन्द्रीय उपाध्यक्ष बनिन् ।

२०१४मा लोकसभा चुनाव हारे पनि इरानीलाई मोदीले आफ्नो क्याबिनेटमा राखे । पहिले मानव संशाधन विकास र पछि सूचना प्रसारण तथा टेक्स्टायल मन्त्री बनिन् । सूचनामन्त्री भएपछि उनी झन् विवादमा तानिइन् । गलत रिपोर्टिङ गर्ने पत्रकारलाई दण्डित गर्ने र पत्रकारको मान्यता रद्द गर्ने जस्ता सर्कुलर उनले जारी गरिन्। मिडियाको तीव्र विरोध भएपछि उक्त सर्कुलर फिर्ता लिनु परेको थियो । विवाद र चर्चामा रहने इरानी यसपालिको चुनावमा गान्धी परिवारको किल्ला तोडेर झन् उचाइमा पुगेकी छन् । २०१४ मै राहुल गान्धीलाई यो क्षेत्रको चुनाव जित्न उने हम्मे पारेकी थिइन् । त्यतिबेला राहुलका धेरै मत काटेर पनि उनी १ लाख अन्तरले हारिन् । पाँचवर्षअघिको तोड फेर्न इरानी यसपालि पनि अमेठीमै भिडिन् । उनको अमेठीमा जित भाँपेर होला गान्धीले केरल राज्यको वायनादमा पनि उमेद्वारी दिएका थिए । गान्धी परिवारको दुई पुस्तादेखिको विरासतजस्तै बनेको अमोठी अब इरानीको हातमा पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार