काठमाडौं : नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्वका चर्चित क्रिकेट लिगहरूमा एकपछि अर्को छलाङ मारिरहेका छन् । सन्दीप बुधबार मात्र क्यारेबियन प्रिमियर लिग (सीपीएल) टीट्वेन्टी क्रिकेटमा महँगो रकममा अनुबन्ध भएका छन् ।
लिगका लागि ड्राफ्टमा रहेका सन्दीपलाई बुधबार अबेर बार्बाडस ट्राइडेन्ट्सले अनुबन्ध गरेको हो । सन्दीप लगातार दोस्रो वर्ष सीपीएलमा छनोट भएका हुन् । उनले अघिल्लो सिजन सेन्टकिट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । त्यति बेला उनले पाँच खेलमा सात विकेट लिएका थिए ।
गत वर्ष ६ हजार अमेरिकी डलरमा अनुबन्ध भएका सन्दीप यसपटक निकै महँगो रकममा अनुबन्ध भएका छन् । सन्दीपले बार्बाडसबाट यसपटक कम्तीमा ७० हजार अमेरिकी डलर (करिब ८० लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् ।
लन्डनमा गरिएको अनुबन्धनका लागि ड्राफ्टमा सन्दीपसँगै नेपालका बलर सोमपाल कामी, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र युवा ब्याट्सम्यान रोहितकुमार पौडेल समावेश थिए । नेपालका तीन खेलाडी भने अनुबन्धनमा परेनन् ।
सीपीएलको नयाँ संस्करण सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म वेस्टइन्डिजमा हुनेछ ।