• होमपेज
  • पत्रपत्रिका
  • छापामा आज : भारतमा फेरि किन भयो मोदीकै वर्चस्व ?

छापामा आज : भारतमा फेरि किन भयो मोदीकै वर्चस्व ?

  • शुक्रबार, जेष्ठ १०, २०७६
छापामा आज : भारतमा फेरि किन भयो मोदीकै वर्चस्व ?

काठमाडौं १० जेठ । भारतीय लोकसभा निर्वाचनको मतपरिणाम आजका सबैजसो दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले भारतीय जनता पार्टीको फराकिलो जित र कांग्रेसको अनपेक्षित हारलाई विभिन्न शीर्षकमा उतारेका छन् । यो परिणामले नेपालको राजनीतिमा पर्ने असरबारे पनि पत्रपत्रिकाहरुले केलाएका छन् ।

कान्तिपुरले ‘फेरि मोदीकै वर्चस्व’ शीर्षक दिएर भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत हासिल गरेको लेखेको छ । कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा केही सुधार गरे पनि हार अनपेक्षित भएको उसको विश्लेषण छ ।

भाजपा फेरि किन दोहोरियो ? यसका अनेक विश्लेषण भइरहेको छ । राजनीतिक विश्लेषक तथा अध्येता आनन्द प्रदानले हिन्दुत्व, राष्ट्रवाद, राष्ट्रिय सुरक्षा, पाकिस्तान सरकारका कार्यक्रम र विपक्षीहरु सबैको कमजोरीले भाजपालाई थप सशक्त बनाएको टिप्पणी गरेका छन् ।

यसका अतिरिक्त चुनावको मुखमा मोदी सरकारले किसानलाई वितरण गरेको अनुदान, विपन्न लक्षित खाना पकाउने ग्यास, घर शौचालय योजनाले पनि यस्तो नतिजा हासिल गर्नमा उत्तिकै भूमिका खेलेको कान्तिपुर समाचारमा उल्लेख छ ।

कान्तिपुर अगाडि लेख्छ–सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुलाई परिचालन दगर्ने सवालमा पनि भाजपा अन्य पार्टीभन्दा निकै अगाडि रह्यो । पार्टी र सरकारविरुद्ध सामाजिक सञ्जालमा कुनै पनि टिप्पणी देख्नासाथ त्यसविरुद्ध पार्टीपंक्ति खनिन पुग्थ्यो । प्रधानमन्त्री मोदीको सार्वजनिक छवि उँचो बनाउन मूलधारका छापा माध्यमदेखि टीभीमा बलिउडका कलाकारलगायत सेलिब्रेटीलाई अन्तर्वार्ता लिन लगाइएको थियो ।’ त्यस्ता अन्तर्वार्ता मोदी सरकारको पाँचवर्षे शासनभन्दा पनि जीवनशैलीमा केन्द्रित भएकाले त्यसको प्रभाव चुनावमा परेको कान्तिपुरको विश्लेषण छ ।

भारतको चुनावी परिणामले नेपालमा पर्ने असरबारे पनि कान्तिपुरले केलाएको छ । कान्तिपुरका अनुसार नेपाल र भारत सम्बन्धका जानकारहरुले एनडीएको भारी जितपछि बन्ने सरकारको नेपालमा भाजपा धारको दबाव कुनै न कुनै रुपमा पर्न सक्ने संकेत गरेका छन् ।

बालुवाटार जग्गा किनबेच प्रसंग पनि कान्तिपुरमा छ । कान्तिपुरका अनुसार त्रिताल प्रतिवेदनले भूमाफिया किटान गरेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ ।

अन्नपूर्णले पनि भाजपा जितलाई नै मुख्य समाचारका रुपमा समेटेको छ । अन्नपूर्णका अनुसार १४ राज्य र केन्द्र शासित प्रदेशमा क्लिन स्विप भएको छ ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना केही समयदेखि लफडामा फसेको छ । अन्नपूर्णले यसबारे पनि आज एक सामग्री छापेको छ । समाचार अनुसार आयोजनाको बाँकी कामका लागि ठेक्का लगाउने तयारी भएको छ । राज्यलाई थप २ अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन खोजिएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

नागरिकले कांग्रेसको जारी जागरण अभियानबारे समाचार लेखेको छ । नागरिकका अनुसार, संगठन सुदृढीकरण र सरकारको भण्डाफोर गर्ने भन्दै सुरु गरिएको अभियान संगठनमा आफ्नो प्रभाव कसरी विस्तार भन्नेमा केन्द्रित भएको छ ।
नागरिक लेख्छ– शीर्ष नेताहरु एक अर्कालाई कमजोर देखाएर नेतृत्वमा पुग्ने र टिक्ने दाउमा सक्रिय हुँदा जागरण अभियान संगठन सुधारमा भन्दा गुटगत स्वार्थमा केन्द्रित देखिएको छ’, नागरिकले जागरण अभियानबारे विश्लेषण गर्दै लेखेको छ ।

लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको खबर राजधानीमा छ । गोरखापत्रले ‘भारतमा मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ ।

चर्चामा

सम्बन्धित समाचार