नया दिल्ली : प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो पाँच वर्ष पुनः भारतको नेतृत्व गर्नेछन्। कम्तिमा !
मोदी र भारतीय जनता पार्टी नेतृत्वको एनडीएको यो जितलाई आउने केही दिनमात्र नभइ आउने वर्षहरूसम्म पनि बहुआयामिक ढंगले व्याख्या हुनेछ। अहिलेलाई भारतमा दोस्रोपटक मोदी विजयका पाँच कारण केलाउँदैछौँ।
भावनात्मक पाटो
चुनावी अभियानहरूमा मोदीको व्यक्तित्वको अहम् भूमिका थियो। उनलाई हिन्दु राष्ट्रवादको एकमात्र नमूनाका रुपमा उभ्याइएको थियो। गत जनवरीमा पुलवामामा भएको आतंकवादी हमला र भारतले त्यसपछि गरो जवाफी कारबाहीलाई चुनावी अभियानका क्रममा खुब प्रचार गरिएको थियो। सम्पूर्ण भारतीयलाई आक्रोशित बनाउने यो आतंकवादी हमलापछिको जवाफ कारबाहीलाई मोदीले चुनावी कार्यक्रमहरूमा विरतापूर्ण कामका रुपमा व्याख्या गरेका थिए। ‘घरमे घुसके मारेंगे’, त्यहाँ ठूलो नारा बनेको थियो र यसले काम गरेको चुनावी नतिजाले देखाएको छ।
राष्ट्रिय सुरक्षाको कथ्य
चुनावमा थपिएको यो नयाँ मसलाले पनि नतिजामा ठूलो भूमिका खेलेको छ। जातीय आधारमा मतदाताले भोट हाल्ने प्रवृत्तिलाई राष्ट्रिय सुरक्षाको यो नयाँ नाराले खर्लप्प खायो र हिन्दु मतदातालाई एकैतिर सोहोर्यो। यो प्रवृत्ति २०१४ मा पनि थियो तर यो झन् वृद्धि भएको अहिलेको नतिजाबाट देखिन्छ। २०१४ मा भाजपाले जितेका क्षेत्र अहिले पनि उसँगै छन्। बरु पश्चिम बंगालसहितका नयाँ स्थानमा उसले विजय हासिल गरेको छ। मूलधारको मिडियामा भएको एकोहोरो प्रचार पनि मोदीका पक्षमा चुनावी नतिजा निकाल्न प्रमुख रहे। जसरी हिन्दु-मुस्लिमको मुद्दा, राष्ट्रिय सुरक्षाको विषय र राष्ट्रवादको बहसलाई खासखास मिडियाले चुनावसँग जोडेर प्रचार गरे, यसको निहीतार्थ मोदीको विजयअभियानलाई सघाउनु नै थियो।
सरकारमाथि नभएको बहस
गएका पाँच वर्ष सरकार र यसका कामबारे भारतमा खासै छलफल भएन। यसको फाइदा सिधा मोदी र भाजपालाई नै भयो। सरकारका कामबारे बहस नभएपछि मोदीले कहिल्यै नभएका काम आफ्नो सरकारले गरेको कुरा बारम्बार सुनाइरहे। र, यसमा मोदीलाई मूलधारको मिडियाको पनि साथ रह्यो। सरकारले गरेका काममाथि भएका अलिअलि भएका बहस पनि कल्याणकारी स्किममाथिमात्र सीमित भए र यसको फाइदा पनि फेरि मोदीलाई नै भयो। विमुद्रीकरण (डिमोनेटाइजेसन), आर्थिक वृद्धि, रोजगार सिर्जना लगायतका विवादित विषयबारे सार्वजनिक बहस हुनै सकेनन्। बरु मोदीले ‘सबके साथ सबके विकास’ नारा लगाएर मतदाताको मन बटुलिरहे।
कमजोर कंग्रेस
भाजपाको चनावी अभियान जति व्यवस्थित थियो, त्यसको तुलनामा कंग्रेसको अभियान कमजोर थियो। भाजपाले ‘मे भी चौकीदार’ नारा चर्चित बनाइरहँदा कांग्रेस त्यसको विरोध गर्दै ‘चौकीदार चोर है’ मा सीमित भयो। मोदीले विकासको नारा दिइरहँदा कंग्रेसले न उसको विकास अवधारणामाथि प्रश्न गरेर मतदाता जित्न सक्यो न त नयाँ कुरा नै पस्किन सक्यो।
गुमेको गठबन्धन
कंग्रेसले अर्को आलोचना पनि के खेप्यो भने उसले भाजपाविरोधी महागठबन्धन बनाउन सकेन। यसै पनि क्षेत्रीय दलहरू कंग्रेसको पक्षमा थिएनन्। बहुजन समाज पार्टीसँग गठबन्धन बनाउने सोनिया गान्धी र राहुल गान्धीको प्रस्ताव उक्त पार्टीकी प्रमुख मायावतीले अस्वीकार गरिदिइन्। गठबन्धन नबनेपछि आत्तिएको कंग्रेसले दिल्लीमा आम आद्मी पार्टीसँग गठबन्धन बनाउन प्रस्ताव गर्यो। यो पनि असफल भयो। यता आम आद्मी पार्टीले यसको कारक कंग्रेस रहेको बताउँदै आएको छ। यसको सिधा असर चुनावी परिणाममा देखिने भयो नै।
अन्नपूर्ण पाेष्टबाट